ओडिसामा नेपाली विद्यार्थीमाथि दमन भएकामा भारतको सडकदेखि सदनसम्म विरोध

नेपाली छात्राको शंकास्पद मृत्यु र त्यसपछि सिर्जित घटनाक्रमले ओडिसा मात्रै नभएर भारत नै लज्जित हुनुपरेको सांसदहरूको भनाइ

फाल्गुन १२, २०८१

राजेश मिश्र

Protests from the streets to the Houses of India over the suppression of Nepalese students in Odisha

काठमाडौँ — ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको शंकास्पद मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि गरिएको दमनलाई लिएर भारतमा संसद्देखि सडकसम्म विरोध चलिरहेको छ ।

घटना अनुसन्धान र न्यायको माग गर्दै राजनीतिक दल, विभिन्न संगठन, मिडिया र नागरिक तहले आवाज उठाइरहेका छन् । 

विपक्षी दल राष्ट्रिय कंग्रेसनिकट युवा तथा विद्यार्थीले केआईआईटीको मुख्य ढोकासामु शनिबार विरोध प्रदर्शन गरेर विश्वविद्यालय संस्थापक अच्युत सामन्तको पुतला जलाएका छन् । ओडिसाको विधानसभामा विपक्षी बीजू जनता दल र कंग्रेसले घटनाको न्यायिक छानबिनको माग गरिरहेका छन् । सत्तारूढ भाजपाका सांसदले पनि घटनाको निन्दा गरेका छन् । सबै प्रमुख दलका सांसदले उक्त घटनाका कारण ओडिसा मात्रै नभएर भारत नै लज्जित हुनुपरेको बताएका छन् । 

बीजूका सदस्य गणेश्वर बोहरा र सत्तारूढ भाजपाका सदस्य बाबु सिंहले विश्वविद्यालयका संस्थापक अच्युत सामन्तलाई घटनाको जिम्मेवार बनाएर पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग उठाएका छन् । कंग्रेसका वरिष्ठ नेता ताराप्रसाद बाहिनीपतिले नेपालविरुद्ध अपमानजनक टिप्पणी गरेकी महिला कर्मचारीलाई पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताए ।

नेपाली छात्रा प्रकृतिले आफूमाथि भइरहेको प्रताडनाको गुनासो विश्वविद्यालय प्रशासनलाई पटक–पटक गर्दा पनि सुनुवाइ नगरिएको र त्यसपछि उत्पन्न सबै घटनामा केआईआईटीलाई जिम्मेवार बनाउनुपर्ने विधानसभा सदस्यहरूको आवाज छ । केआईआईटी नजिकै पुलिस स्टेसन रहेको उल्लेख गर्दै शान्ति सुरक्षा व्यवस्थापनमा ओडिसा प्रहरीमाथि पनि उनीहरूले प्रश्न उठाएका छन् । 

विधानसभा बैठकमा उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजले ओडिसा प्रहरीबाट घटनाको अनुसन्धान भइरहेको बताए । राज्य सरकारबाट गठित उच्चस्तरीय समितिले पनि सबै चासो र चिन्तालाई मसिनो गरी अध्ययन गरिरहेको उनले जानकारी दिएका छन् ।

नेपाली छात्राको मृत्यु प्रकरण, नेपाली विद्यार्थीलाई होस्टेलबाट निकाल्नुका साथै कुटपिट गरिएको तथा रेल्वे स्टेसन पुर्‍याइएको विषयमा अनुसन्धान भइरहेको बताए । न्यायिक छानबिन समिति बनाउने प्रतिबद्धता उनीबाट नआएपछि विपक्षीले शुक्रबार सदन बहिष्कार गरे । 

द स्टेट्सम्यान पत्रिकाको भुवनेश्वर संस्करणका आवासीय सम्पादक के रविले केआईआईटीमा नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति स्थानीयस्तरमा व्यापक विरोध भइरहेको बताए ।

‘प्रिन्ट, टेलिभिजन सबैजसो मिडियाले घटनालाई प्राथमिकता दिएर कभरेज मात्रै गरेका छैनन्, विश्वविद्यालय प्रशासन र राज्य सरकारमाथि अनेक प्रश्न उठाएका छन्,’ उनले भने, ‘विधानसभामा विपक्षी दल र सत्तापक्षका सांसदले घटनाको निन्दा गर्दै नेपाली विद्यार्थीको सुरक्षा सवाल उठाएका छन् ।’ ओडिसाबाट बीबीसीका लागि कार्यरत पत्रकार सन्दीप साहुले केआईआईटीको घटनापछि नेपाली विद्यार्थीको सुरक्षा तथा सम्मानको विषय सबैतिर उठिरहेको बताए । 

स्थानीय विद्यार्थी संगठनले घटनाको विरोधमा लगातार प्रदर्शन गरिरहेका छन् । स्थानीय तहमा भएको विरोध तथा दिल्लीबाट आएको दबाबपछि राज्य सरकार सक्रिय भएको छ । चौतर्फी दबाबले विश्वविद्यालय प्रशासन रक्षात्मक स्थितिमा पुगेको छ । विश्वविद्यालय प्रशासनका तर्फबाट विभिन्न कारबाही गरिएका छन् । संस्थापक, उपकुलपतिदेखि रजिस्ट्रार सबैले पटकपटक माफी मागेका छन् । भुवनेश्वर प्रहरीले नेपाली विद्यार्थीको मृत्यु तथा विद्यार्थीमाथि भएका दमनको घटनामा संलग्न १० जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ । 

केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति गत आइतबार साँझ होस्टेलमा मृत भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धानको माग गर्दा नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले दमन गरेको थियो । केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर सयौं नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको थियो । त्यस क्रममा विद्यार्थीलाई कुटपिटसमेत गरिएको थियो । विद्यार्थीलाई रेल्वे स्टेसन पुर्‍याएर अलपत्र पारिएको थियो । 

भारतीय मिडियाले सम्पादकीय तथा विचारमार्फत घटनाको निन्दा गरेका छन् । अंग्रेजी पत्रिका ‘दि इन्डियन एक्सप्रेस’ ले बिहीबार सम्पादकीय लेखेर भारतका विश्वविद्यालय तथा कलेजलाई ‘भद्र र दयालु’ हुन सुझाएको छ । नेपाली विद्यार्थीले उत्पीडनविरुद्ध उजुरी दिँदा पनि केआईआईटी विश्वविद्यालय प्रशासनबाट पर्याप्त कदम नचालिएको पत्रिकाले उल्लेख गरेको छ ।

विश्वविद्यालयका कर्मचारीले नेपालका विद्यार्थीलाई होस्टेल खाली गर्न दिएको निर्देशन एवं अन्य व्यवहार कच्चा र डरलाग्दो रहेको सम्पादकीयमा भनिएको छ । विश्वविद्यालयमा समावेशी वातावरणको सुनिश्चित गर्न पनि ध्यानाकर्षण गराइएको छ । 

टाइम्स अफ इन्डियाले सम्पादकीयमार्फत घटनाको निन्दा गरेको छ । ‘भारत, आफैंलाई सिकाऊ’ शीर्षकको सम्पादकीयमा विश्वविद्यालयका कर्मचारीले नेपालको बजेटबारे गरेको टिप्पणीलाई अहंकारको संज्ञा दिएको छ । अमेरिकी कम्पनी वालमार्टको राजस्व भारत सरकारको बजेटभन्दा बढी रहेको स्मरण गराइएको छ । 

भारतका चर्चित पत्रकार रविश कुमारले केआईआईटीमा नेपाली विद्यार्थीसँग गरिएको व्यवहारलाई युट्युब च्यानलमार्फत निन्दा गरेका छन् । उनले केआईआईटी प्रशासन र ओडिसा प्रहरीमाथि सुरुदेखि भरोसायोग्य कारबाही नबढाएको भन्दै प्रश्न उठाएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्समा ओडिसा घटनाको प्रसंग लेखेपछि मात्रै राज्य सरकार ‘एक्सन’ मा आएको उनले भनेका छन् । नेपालका छात्रछात्रामाथि गरिएको व्यवहार अत्यन्तै गलत भएको उल्लेख गर्दै उनले कुनै पनि विश्वविद्यालय यति धेरै अहंकार हुन नहुने उल्लेख गरेका छन् ।

 केआईआईटीका केही अधिकारीले ‘नेपालको बजेटभन्दा बढी खर्च विश्वविद्यालयले विद्यार्थीलाई निःशुल्क खाना खुवाउनमा गरिरहेको’ भनी दिएको अभिव्यक्तिको समेत रविश कुमारले निन्दा गरेका छन् । नेपाली विद्यार्थीलाई जबर्जस्ती होस्टेलबाट निकाल्ने, उनीहरूमाथि कुटपिट गर्ने कार्यमा संलग्न सबैको अनुसन्धान हुनुपर्ने उनको भनाइ छ । यस मामिलामा विदेश मन्त्रालयले हस्तक्षेप गरेर ठोस कारबाही सुनिश्चित गराउनुपर्नेसमेत उनले जनाएका छन् । ‘नेपाली छात्र प्रकृतिको मृत्युको जिम्मेवार को हो भन्नेमा पारदर्शी तरिकाले अनुसन्धान गरिनुपर्छ,’ उनले भनेका छन् । 

पत्रकार शुभशंकर मिश्राले केआईआईटीमा नेपाली विद्यार्थीमाथि गरिएको दुर्व्यवहार भारतकै लागि लज्जाको विषय बन्न पुगेको टिप्पणी गरेका छन् । आफ्नो युट्युब च्यानलमा उनले केआईआईटी प्रकरणबारे १४ मिनेट टिप्पणी गरेका हुन् । त्यस क्रममा उनले विश्वविद्यालय प्रशासनको निन्दा गर्दै भारतका कसैले पनि उनीहरूलाई साथ दिन नहुने बताएका छन् । 

ओडिसाको भुवनेश्वरमा भएको घटनालाई द हिन्दु, टाइम्स अफ इन्डियालगायत पत्रपत्रिका र टेलिभिजनले स्थान दिएका छन् । अंग्रेजी पत्रिका डेक्कन हेराल्डले केआईआईटी घटनाका सन्दर्भमा कूटनीतिक परीक्षणमा भारत विफल रहेको विचार प्रकाशन गरेको छ । लेखक शास्त्री रामचन्द्रनको लेखमा घटनाको गम्भीरता बुझ्न नसक्नु केन्द्र र राज्य सरकारको कमजोरी रहेको टिप्पणी गरेका छन् । नेपाली विद्यार्थीसँग भएको घटनालाई उनले भारतमा उत्तरपूर्वका विद्यार्थीमाथि हुँदै आएको नश्लीय पूर्वाग्रहकै निरन्तरता भनेका छन् । 

'नेपाली विद्यार्थीको सुरक्षा र भलाइ उच्च प्राथमिकतामा’ 

भारतभित्रैबाट दबाब बढेपछि भारत सरकारले नेपाली विद्यार्थीको सुरक्षा र भलाइलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । घटना अनुसन्धानका लागि ओडिसा सरकारले गठन गरेको उच्चस्तरीय समितिको निष्कर्षका आधारमा थप कानुनी र प्रशासनिक कदम चालिने विदेश मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विद्यार्थीको सुरक्षा र शैक्षिक गतिविधिमा सक्रियताका लागि आवश्यक सबै कदम चालिएको बताएका छन् । घटना जानकारीमा आएदेखि नै मन्त्रालय, नेपाल सरकार, राज्य सरकार, केआईआईटी पदाधिकारीसँगको सम्पर्कमा रहेर आवश्यक कदम चाल्दै आएको उनको भनाइ छ ।

ओडिसा सरकार र सम्बन्धित संस्थानले स्थितिलाई सम्बोधन गर्न कारबाही बढाइसकेको समेत उनले उल्लेख गरे । नेपाली विद्यार्थीलाई विश्वविद्यालयमा फर्काउन तथा उनीहरूलाई सहजीकरण गर्न विदेश मन्त्रालय नियमित रूपमा राज्य सरकारसँगको सम्पर्कमा रहेको उनले बताएका छन् । भारतमा अध्ययनरत नेपाली विद्यार्थी दुई देशबीच जनस्तरको स्थायी सम्बन्धका लागि महत्त्वपूर्ण हिस्सा रहेको उनले उल्लेख गरेका छन् । 

परराष्ट्रमन्त्री राणा र मुख्यमन्त्रीबीच फोनवार्ता 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोनवार्ता गरेर लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको आग्रह गरेकी छन् । उनले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारमा संलग्न शिक्षक तथा कर्मचारीलाई स्थायी रूपमै बर्खास्त गरिनुपर्ने रायसमेत राखेकी छन् ।

दिल्लीस्थित नेपाली दूतावासबाट ओडिसा खटाइएका दुई कन्सुलरले पनि मुख्यमन्त्रीलाई भेटेका थिए । दूतावासका कन्सुलरहरू नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जीव शर्मा र राष्ट्रिय अनुसन्धानका वरिष्ठ उपरीक्षक नवीन अधिकारीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन, नेपाली विद्यार्थी र भारतीय सुरक्षा अधिकारीसँग समन्वयमा काम गरिरहेका छन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully