माओवादी सांसद पौडेलको प्रश्न : उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Maoist MP Poudel's question: What mistake did Kulman make by making Nepal bright?

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत् महसुल नतिर्नेहरूको नभई तिर्नेहरूको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले ऊर्जामन्त्रीको आलोचना गरेकै कारण दुधकोशी जलविद्युत् आयोजनाका सिइओ विमल गुरुङमाथि कारबाही गरिएको बताए ।

उनले भने, ‘काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानजस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू ? दुधकोशी जलविद्युतको सिइओ विमल गुरुङलाई कारबाही गरिएको हो कि के हो ? पत्र सार्वजनिक भएको छ । मन्त्रीको आलोचना गरेको कारणले । विद्युत् नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ? मैले पत्रिकामा पढेअनुसार महसुल नतिर्नेहरूको लाइन नकाट्न भनेर निर्देशन गरिएको छ ।'

उनले कुलमान घिसिङलाई हटाउने भनेर हल्ला गर्ने गरेको उल्लेख गर्दै उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे भन्दै प्रश्न गरे । 

उनले भने, 'कुलमान घिसिङलाई बेलुका हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेर हल्ला गरेको सुनिएको छ । कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएर के गल्ती गरे कुलमानले ?’ 

उनले कुलमान घिसिङले घाटामा गएको विद्युत् प्राधिकरण नाफामा ल्याएको जिकिर गरे ।

कान्तिपुर

Link copied successfully