काठमाडौँ — बाँदर र बँदेल नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधिसभाको सोमबारको बैठकमा उक्त प्रस्ताव पेस गरेका हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद बगजाईंले सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ, ‘नेपालको ग्रामिण क्षेत्रमा बाँदर र बँदेलको आतंकबाट खेतिबाली नष्ट भई किसानको सुरक्षामा समेत खतरा पैदा भएकोले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नको लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको ।’
प्रस्तावको समर्थकमा कांग्रेसका सांसद उदय शम्शेर जबराले बाँदर र बँदेलका कारण खेतीमात्र नष्ट नभई गाउँबाट घरपरिवार नै विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।
जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राख्दै सांसद बजगाईंले बाँदर र बँदेलकै कारण मानव बस्ती विस्थापित भएको बताए । उनले पछिल्लो समय मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको बताए । उनले प्रस्तावमा बाँदर र बँदेल नियन्त्रण गरी कृषिबाली जोगाउने उपायसमेत गरिएको बताइन् ।
पछिल्लो समय जंगली जनावरकै कारण गाउँ छोडेर उपत्यका झर्नेको संख्या बढ्दै गएको कारण बाँदर र बँदेल नियन्त्रका लागि वैज्ञानिक नीति बनाउन जरुरी रहेको उनको भनाइ थियो । बाँदर धार्मिक परम्परासँग जोडिएको कारण मार्नन नहुनेमा उनले जोड दिए ।
‘विशेषगरी बितेको दुईतीन वर्षयता पहाडी क्षेत्रमा र पछिल्लो समय उपत्यकामा पनि बाँदरको आतंकको कारणले बाली नष्ट हुने एक ठाउँमा छ । तर कतिपय ठाउँमा घरपरिवार सरेर उपत्यकामा झर्ने परिस्थिति समेत बनेको छ । हामीले पनि बाँदर मार्ने कुरा आउँदैन । यो धार्मिक कुरा पनि हो । त्यसकारण यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसमा सम्बन्धित मन्त्रालयले ध्यान पुर्याउन सकिन्छ,’ उनले भने ।
प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै सांसदहरूले जंगली जनावरका कारण कृषिक्षेत्र संकटमा परेको बताए ।
