सशस्त्र प्रहरीकी इन्स्पेक्टरको मृत्युबारे छानविन गर्न डीआईजी नेतृत्वमा समिति गठन

परिवारद्वारा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशीविरुद्ध किटानी जाहेरी

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

A committee headed by the DIG has been formed to investigate the death of an inspector of armed police

काठमाडौँ — ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्युबारे छानविन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ ।

डीआईजी  लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन भएको हो । सिंह राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी हुन् ।

सन्तोषीका परिवारले आत्महत्या दुरुत्साहनको आरोपमा सशस्त्रकै अर्का इन्स्पेक्टर विवेक जोशीविरुद्ध किटानी जाहेरी दिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको हो ।

परिवारले सशस्त्र प्रहरी बलमै कार्यरत एक ब्याच सिनियर प्रहरी निरीक्षक जोशीविरुद्ध कास्की प्रहरीमा आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपाने जानकारी दिए ।

जोशी र महत प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिककी इन्स्पेक्टर हुन् । इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन । 

कान्तिपुर

Link copied successfully