वीरगन्ज — जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सानो पाइला सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेकाले मिसिल बुझाउन केही समय लागेको प्रहरीले जनाएको छ ।
सरकारी वकिल कार्यालयको निर्देशन बमोजिम अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ । प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सानो पाइला सहरकारी रकम अपचलन सम्बन्धी मुद्दामा अन्य विषयमा अनुसन्धान करिब सकिएको बताए । सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढेकाले मिसिल बुझाउन केही समय लागेको एसपी मिश्रले जनाए ।
‘सहकारीको रकम अपचलन सम्बन्धी मुद्दा अहिले अनुसन्धानकै क्रममा छ,’ उनले भने, ‘सम्बन्धित निकायसँग कागजात संकलन गर्ने काम भएको छ ।’ प्रहरी स्रोतका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले सानो पाइला सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न बुँदागत निर्देशन दिएको छ ।
गत मंसिर २५ मा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौँ हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज ल्याई बयान लिइएको थियो । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज ल्याइएको थियो । प्रहरीको अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका थिए ।
वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा सिधै साढे ८ करोड रुपैयाँ जम्मा गरेको पाइएको छ । सानो पाइला सहकारीबाट जोशीको नाममा एक करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ । लामिछाने गोरखा मिडियामा आवद्ध रहेकै बेला सानोपाइला सहकारीबाट ८ करोड ५८ लाख रुपैयाँ सारिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक सानो पाइला सहकारीबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रुपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको छ ।
२०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्म सानो पाइला सहकारीबाट गोरखा मिडियामा रकम जम्मा गरिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयान अनुसार लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडिया प्रालिमा प्रबन्धक निर्देशकको भूमिकामा थिए । ०७८ साउन १९ मा एकैदिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको प्रतिवेदनमा उल्लेख छ ।
गोरखा मिडियाका उपाध्यक्ष छविलाल जोशीको घरबाट बरामद भएको हार्ड डिस्कमा सानो पाइला सहकारीबाट पनि रकम सिधै गोरखा मिडियामा सारिएको फेला परेको हो । संसदीय समितिको प्रतिवेदनमा गोर्खा मिडियामा सानो पाइला सहकारीबाट पैसा गएको थाहा भएपछि बचतकर्ताले लामिछानेको नाम किटान गरी मुद्दा दर्ता गराएका थिए । सानो पाइला सहकारीका बचतकर्ताका अनुसार करिब डेढ वर्ष अगाडि मुद्दा दर्ता गराउने बेला गोरखा मिडियामा सानो पाइला सहकारीबाट रकम सारिएको प्रमाण नहुँदा निवेदनमा नाम समावेश गर्न सकिएन । संसदीय छानबिन समितिको प्रतिवदेन सार्वजनिक भएपछि सानो पाइला सहकारीबाट पनि गोरखा मिडियामा रकम सारिएको तथ्य बाहिरिएको हो ।
करिब डेढ वर्ष अगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाको सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध सहकारी ठगी मुद्दा दर्ता गराएका थिए । सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा जिल्ला अदालत पर्साबाट न्यायिक परीक्षण हुँदा ठहरे बमोजिम हुने गरी हाललाई एक करोड १० लाख धरौटीमा रिहा भइन् । यसैगरी, सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । प्रहरीका अनुसार सानोपाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जिबी) राईलगायत ११ जना फरार छन् ।
