काठमाडौँ — नेपाल सरकारको अनुमति लिएर बर्सेनि ५ हजार हाराहारी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भारत जाने गरेका छन् । अनुमति नलिई भारतका शिक्षण संस्थामा पढ्न जाने विद्यार्थीको संख्या त्योभन्दा बढी रहेको सरकारी अधिकारीहरू नै बताउँछन् । तर यकिन तथ्याङ्क भने छैन ।
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका ८ महिनामा विभिन्न मुलुकमा अध्ययन गर्न भनेर ६६ हजार विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गरेका छन् । त्यसमध्ये ४ हजार ३ सय ७३ विद्यार्थी भारत गएका छन् ।
०८०/८१ मा ५ हजार ९ सय १० छात्रछात्रा भारत गएको शिक्षा मन्त्रालयले जनाएको छ । ०७९/८० मा ५ हजार १ सय १५, ०७८/७९ मा ५ हजार १० र ०७७/७८ मा ४ हजार ४ सय ५५ विद्यार्थीले भारतका लागि एनओसी लिएका थिए । भारतमा एनओसी प्राप्त २४ हजार विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ ।
शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव वैकुण्ठ अर्यालले नेपाली विद्यार्थी एनओसी नलिई पनि भारत पढ्न जाने गरेको बताए । ‘भारतमा पढिरहेका विद्यार्थीको संख्या हेर्दा एनओसी नलिई पनि धेरै विद्यार्थी जाने गरेको देखिन्छ,’ उनले भने ।
सरकारसँग एनओसी नलिई भारत पढ्न जाने विद्यार्थीको नियमन गर्ने संयन्त्र छैन । विदेशी मुद्रा सटही र भिसा प्रयोजनका लागि एनओसी आवश्यक हुन्छ । भारतको हकमा मुद्रा सटही सहज छ भने नेपाली नागरिकलाई भिसा पनि चाहिँदैन । ‘भारतका लागि एनओसी अनिवार्य र व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको छ,’ सहसचिव अर्यालले भने । नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का अनुसार एनओसी लिएर र नलिई वार्षिक १५ हजार नेपाली विद्यार्थी भारत पुग्ने गरेका छन् ।
इक्यान अध्यक्ष शेषराज भट्टराईले भारतका विश्वविद्यालय र कलेजको विवरण विश्लेषण गर्दा भारतमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपालीको संख्या सबैभन्दा बढी पाइएको उल्लेख गरे । उनका अनुसार भारतमा पढ्ने विदेशी विद्यार्थीमध्ये २५ देखि ३० प्रतिशत नेपाली हुने गरेका छन् । ‘भारतसँग सिमाना जोडिएका जिल्लाका विद्यार्थी धेरै जान्छन्,’ भट्टराईले भने, ‘विद्यार्थी शैक्षिक कन्सल्टेन्सीमार्फत र सिधै भारतका विश्वविद्यालय र कलेजमा पुग्ने गरेका छन् ।’
भारतका ओडिसासहित पञ्जाब, कर्नाटक, उत्तर प्रदेश, हरियाणा, दिल्ली, उत्तराखण्ड, अरुणाचल, पश्चिम बंगाल, उत्तराखण्ड, महाराष्ट्रलगायत राज्यमा रहेका विश्वविद्यालय र कलेजमा नेपाली विद्यार्थी पुग्ने गरेका छन् । एनओसी नलिई भारतमा पढेर फर्केका विद्यार्थी समकक्षता लिन आउने गरेको त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका प्रमुख पारसनाथ यादवले बताए ।
‘समकक्षता लिन एनओसी अनिवार्य छैन । धेरैजसो विद्यार्थी एनओसी नलिई पढ्न भारत गएको पाइन्छ,’ उनले भने । एनओसीको नियमन प्रभावकारी नभएका कारण विद्यार्थी सहजै भारत जाने गरेको यादवले जनाए ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसबाट सिर्जित घटनापछि शिक्षा मन्त्रालयले भारत गएका विद्यार्थीको संख्या खोन्न थालेको छ । मन्त्रालयले भारत गएको विद्यार्थीको विवरण इक्यानसँग पनि माग गरेको छ ।
नेपालका एक सयभन्दा धेरै शैक्षिक परामर्श संस्थाले विद्यार्थीलाई अध्ययनका लागि भारत पठाउने गरेको तथ्यांक छ । भारतका स्तरीय मानिने विश्वविद्यालयले १० प्रतिशत विदेशी विद्यार्थी भर्ना गर्ने नीति लिएका कारण छात्रवृत्तिलगायत सुविधा दिएर नेपाली विद्यार्थी लैजाने प्रवृत्ति बढेको शैक्षिक परामर्शदाताहरू बताउँछन् ।
केआईआईटीमा अध्ययनरत एक छात्रले भारत जान भिसा नचाहिने र पैसा लैजान समस्या नहुने भएकाले धेरैले एनओसी नलिएको बताए । ‘फि तिरेर पढ्ने विद्यार्थीले भारत जाने बेला बोर्डरमा पैसा साट्छन्,’ उनले भने, ‘छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई त त्यति झन्झट पनि हुँदैन ।’ बैंकमार्फत आवश्यक रकम लैजाने विद्यार्थीले भने बाध्य भएर एनओसी लिने गरेको ती छात्रले सुनाए ।
‘बैंकबाट शिक्षण फि तिर्ने पैसा पठाउन एनओसी मागिन्छ,’ उनले भने । केआईआईटीको घटनापछि शिक्षा मन्त्रालयले ओडिसा राज्यका लागि एनओसी स्थगन गरेको छ । त्यहाँबाट नेपाल आएका विद्यार्थीलाई फर्काउन परराष्ट्र मन्त्रालयको समन्वयमा काम भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।
मन्त्रालयले विज्ञप्ति जारी गरेर भारतका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास, अन्योल, मनोविज्ञानमा पर्ने प्रभावलाई समेत ख्याल गरी केआईआईटीको पठनपाठन पूर्ववत् सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको ध्यानाकर्षण गराएको छ ।
