लिङ्देनको प्रश्न : पाथीभरामा केबलकार बनाउन दिएर किन भाइभाइ लडाइराखेको ?

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Linden's question: Why are brothers fighting by allowing cable cars to be built in Pathibhara?

काठमाडौँ — राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा व्यापारीलाई केबलकार बनाउने जिम्मा दिएर भाइभाइलाई लडाउने काम भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले सरकारकै कारण अहिले पाथीभरा मुकुम्लुङ क्षेत्र अशान्त भइरहेको बताएका हुन् । 

'आज पाथीभरा मुकुम्लुङ क्षेत्र अशान्त भइरहेको छ । एक प्रकारले त्यो रणमैदानमा परिणत भइरहेको छ । प्रधानमन्त्री, गृहमन्त्रीले त्यो भिडियो हेर्नु भएको छ कि छैन ? त्यो समाचार सुन्नु भएको छ कि छैन ? राजनीतिक दलहरूले यस विषयलाई अनदेखा गरिरहेका छन् । मानव अधिकार र नागरिक समाज किन अनदेखा गरेर बसिराखेको छ ? आज भाइभाइ लडाउने काम किन भइराखेको छ ?,' अध्यक्ष लिङ्देनले प्रश्न गरे ।

व्यापारिक स्वार्थका लागि पाथीभरामा केबलकार बनाउन दिने निर्णय भएको पनि उनको भनाइ छ । 'एउटा व्यापारिक स्वार्थका लागि । किन मन्त्रीस्तरको वार्ताका लागि पनि सरकार तयार छैन ? के त्यहाँ मान्छे मरेपछि मात्र वार्ता गर्ने हो ?,' उनले भने । 

सरकारले लामो समयदेखि योजनाबद्ध तरिकाले पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनका लागि  योजनाबद्ध ढंगले काम गरिरहेको पनि अध्यक्ष लिङ्देनको आरोप छ । उनले अगाडि भने, 'अहिलेको प्रधानमन्त्रीको नेतृत्वको सरकार भएकै बेला कञ्चनजंघा संरक्षण क्षेत्रबाट  पाथीभरालाई अलग गरियो  । लगत्तै त्यहाँ व्यापारीलाई त्यहाँ केबलकार बनाउन जिम्मा दिने निर्णय गरियो ।' 

त्यस्तै केबलकार निर्माणको काम रोके मात्र पाथीभरा क्षेत्र शान्त हुने पनि उनको भनाइ छ । 'आज त्यहाँ जनताले प्रतिरोध गरिरहेका छन् । त्यहाँ सारा राज्य शक्ति लगाएर दमन गरेर केबलकार निर्माण गर्ने काम भइरहेको छ । त्यो काम अविलम्ब रोकियोस् । त्यो कसैको हितमा छैन । केबलकार निर्माण कार्य रोकेर शान्ति स्थापना गरियोस्,' उनले भने । 

कान्तिपुर

Link copied successfully