अव्यवस्थित काठमाडौंलाई व्यवस्थित बनाउन काम थाल्छौं : उपप्रधानमन्त्री सिंह

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Let's start working to organize the chaotic Kathmandu: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्न अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयमा आइतबार बसेको काठमाडौं उपत्यका भौतिक विकास समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्न काम सुरु गर्नुपर्ने बताए ।

काठमाडौं कुनै बेला उर्वर कृषि भूमि रहेको भन्दै उनले चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप सहरका रुपमा विकसित हुन पुगेकामा चिन्ता व्यक्त गरे । विगतका कमजोरी सच्याउन समय लागे पनि काम भने अघि बढाउने उनको भनाइ थियो ।

‘धान उब्जनी हुने खेतमा अहिले घरैघर बनेका छन् । अब विस्तारै व्यवस्थित सहरका रुपमा लैजान काम गर्नैपर्नैछ,' उनले भने ।

उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरलाई व्यवस्थित गर्न सहरी नीति मन्त्रिपरिषद्‌बाट पारित भइसकेको बताए । मन्त्रालयमध्ये सहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै उनले आफूले नेतृत्व सम्हालेपछि कामले गति पाएको दाबी गरे । 'मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा सहरी नीति मन्त्रिपरिषद्‌बाट पास भएको छ,' उनले भने । अगाडिका सरकारले गर्न नसकेका राम्रा कामलाई यो सरकारले पूर्णता दिने उनले बताए ।

कान्तिपुर

Link copied successfully