काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिले केही केन्द्रीय सदस्य मनोनीतसहित कार्य विभाजन गरेको छ । शनिबार र आइतबार काठमाडौंमा बसेको बैठकले परिषद् एवं आयोग, विभाग प्रमुख, प्रदेश उत्प्रेरक, आंगिक संगठन लगायतमा कार्य विभाजन गरेको हो ।
मनोनीत केन्द्रीय सदस्यमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन् ।
यस्तै, परिषद् एवं आयोगतर्फ सल्लाहकार परिषद्मा भक्तबहादुर शाह, विज्ञ परिषद्मा हिसिला यमि, अनुशासन आयोगमा मोती रिजाल, निर्वाचन आयोगमा रामकुमार पुरी, लेखा आयोगमा जनक शाह र पुनरावेदन समितिमा विष्णुहरि शर्मालाई तोकिएको छ ।
प्रशिक्षण विभाग प्रमुखमा अध्यक्ष बाबुराम भट्टराई, संगठन विभाग प्रमुखमा महासचिव सोनाम सिं स्याङ्तान, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा उपाध्यक्ष मानुषी यमि भट्टराई, प्रवक्ता एवं प्रचार प्रसार विभाग प्रमुखमा कृष्ण शर्मा, सामाजिक अभियान एवं जनपरिचालन विभाग प्रमुखमा जी एस गुरुङ र आर्थिक व्यवस्थापन विभाग प्रमुखमा हरि रिजाललाई जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुखमा अर्जुन थपलिया तोकिएका छन् ।
नेसपाले प्रदेश उत्प्रेरक निर्माण गर्दै सातै प्रदेश र प्रवासमा पनि जिम्मेवारी तोकेको छ । जसअनुसार कोशीमा भरत दाहाल, मधेशमा उमेश साह, बागमतीमा आशाकुमारी तामाङ, गण्डकीमा फणीन्द्र देवकोटा, लुम्बिनीमा हरि रिजाल, कर्णालीमा टेकम बाठा मगर र सुदूरपश्चिममा दुर्गा सोब प्रदेश उत्प्रेरकका रुपमा रहनेछन् । प्रवासका लागि मानुषी यमि भट्टराई र भारत प्रवासका लागि लक्ष्मण कार्कीलाई जिम्मेवारी दिइएको छ ।
आंगिक संगठनको महिलातर्फ सिर्जना रिजाल, किसानतर्फ अमृककुमार पुरी, मजदुरतर्फ तेजलाल कर्ण, युवातर्फ जेकेन्द्र श्रेष्ठ, विद्यार्थीतर्फ रुपनारायण श्रेष्ठ, आदिवासी जनजातितर्फ डीबी लिम्बू, दलिततर्फ गजाधर सुनार र उद्योग व्यवसायतर्फ छन्द पन्थी रहेका छन् ।
यो कार्यविभाजनले विधान अधिवेशनको काम गर्ने अध्यक्ष बाबुराम भट्टराईले बताए । केन्द्रीय समिति र अन्य केन्द्रीय संरचनाका प्रमुख पदेन सदस्य रहने गरी बाँकी सदस्य १६५ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने र १० प्रतिशत मनोनित हुनेछन् ।
