अर्घाखाँची — नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले कांग्रेस र एमालेसँग तालमेल गरी चुनाव लड्दा पार्टीलाई घाटा लागेकी बताएकी छन् ।
शनिबार बिहान सन्धिखर्कमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मलेनमा उपाध्यक्ष भुसालले विगतका ती कमजोरीमा आत्मालोचना गर्दै आगामी चुनाव एक्लै लड्ने बताइन् ।
८४ को निर्वाचनमा माओवादीले २०६४ जस्तै मत ल्याएर देशको पहिलो शक्ति बन्ने उनको दाबी छ । त्यसका लागि माओवादीले अब जनतासँग माओवादी अभियान लिएर तल्लो तहसम्म जान लागेको बताइन् ।
विगतमा माओवादीलाई सहयोग गरेका, सहिद तथा बेपत्ता पारिएकाका परिवारसहित जनतासँग सम्बन्ध बलियो बनाएर माओवादी आगामी चुनावमा पहिलो पार्टी बन्नेगरी होमिएको दाबी गरिन् ।
अब माओवादी सरकार बनाउने र भत्काउने खेलमा नलागेर संगठन निर्माणमा सक्रिय भएको उनको भनाइ छ । ‘विगतमा कांग्रेस/एमालेसँग चुनावी गठबन्धन गरेर गल्ती भयो’, उनले भनिन्, ‘अब त्यो धुलो मैलो टक्टक्याएर जनतासँग जाँदैछौं ।’
दुई ठूला दल मिलेर अहिले थ्रेस होल्ड राख्दै साना दललाई आउन नदिने षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध माओवादी खरो रुपमा उत्रिने उनले बताइन् ।
