सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले प्रयोग गर्ने कोसिस गर्दैछन् : दाहाल

'इतिहासको एउटा रछ्यानमा मिल्क्याइएका तत्त्व पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् र त्यसखालका प्रचारबाजी भइरहेका छन्’

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Various political tendencies are trying to use the anger towards the government: Dahal

काठमाडौँ — सरकारप्रति जनताको आक्रोश बढ्दै गएको प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यकम्रमलाई सम्बोधन गर्दै दाहालले मुलुकको राजनीतिक परिस्थिति चुनौतीपूर्ण बन्दै गइरहेको दाबी पनि गरेका छन् । 

सरकारको उपलब्धि दिनदिनै नराम्रो हुँदै गइरहेको दाहालको भनाइ छ । जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि बढ्दै गएको उनको भनाइ थियो । सरकारप्रति जनताको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले पुनरागमन गर्न भन्दै दिवास्वप्न देख्ने गरेको पनि दाहालको भनाइ थियो ।

‘अहिले देशमा राजनीतिक परिस्थिति अलि चुनौतिपूर्ण नै छ । आजै पनि तपाईंले मिडियामा हेर्नुभयो होला, सरकारको पर्फमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ, जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ,' दाहालले भने, 'सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आफ्नो-आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेका छन् । मलाई लाग्छ तपाईंहरू सबैले यो कुरालाई महसुस गरिरहनुभएकै छ । अझ त्यसमा पनि इतिहासमा इतिहासको एउटा रछ्यानमा मिल्क्याइएका तत्त्व पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् र त्यस खालका प्रचारबाजी पनि भइरहेका छन् ।’

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय संघ संस्थाले कांग्रेस र एमालेलाई तोकेरै ठग हुन् भनेको आरोप लगाउनु भयो । उनले अहिले देश 'ग्रे लिस्ट'मा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको बताए । उनले भने, ‘अहिले फेरि नेपाल आर्थिक रुपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले बढो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त छ । ठगहरु हुन् यी पार्टीहरु भनेर कांग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईं हामीले देखिरहेका छौँ ।’

अध्यक्ष दाहालले अब माओवादी केन्द्र संघ र प्रदेशमा सरकार बनाउनेतिर नजाने बताए ।  

कान्तिपुर संवाददाता

Link copied successfully