राजविराज — भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राति दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीका तीन जना र एक जना सुनसरीका रहेका छन् । सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लिलावती चौधरी र परसुराम चौधरीको दुर्घटनामा मृत्यु भएको सो वडाका वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए ।
यस्तै सोही नगरपालिका ५ की जितु यादवकी श्रीमती हरिहरदेवीको पनि मृत्यु भएको छ । यता सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि सोही दुर्घटनामा परी मृत्यु भएको सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिए ।
सप्तरी प्रहरीका अनुसार दुर्घटनामा कञ्चनरुपन नपा ७ का उपेन्द्र नारायण चौधरी, लालोदेवी यादव, वडा नम्बर ५ का जितु यादव, उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइका पपित लाल चौधरी र उनकी श्रीमती बिना देवी चौधरी घाइते छन् ।
उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा उक्त दुर्घटना भएको हो । ट्रयाक्टरको पछाडीको ट्रलीमा स्कारपियो ठोक्किएर दुर्घटना भएको हो ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको दैनिक भास्करले जनाएको छ । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
![Uttar Pradesh accident: Four killed [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/screenshot20250222113108gallery-2222025071035-1000x0.jpg&w=1001&h=0)