सरकारमा एमालेसँग कांग्रेसले साझेदारी गरेको हो, २०८४ मा प्रतिस्पर्धा गर्छौं :  साउद

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Congress has partnered with UML in the government, we will compete in 2084: Saud

मोरङ — कांग्रेस सांसद एनपी साउदले सरकारमा साझेदारी गरे पनि २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । कांग्रेस पार्टीको शीर्ष पदमा रहेका नेताहरूले जिम्मेवारी पूरा गर्नुपर्ने पनि साउदको भनाइ छ ।

मोरङको विराटनगरमा शनिबार आयोजित कार्यक्रममा पूर्वमन्त्री साउदले एमालेसँग सहकार्य गरे पनि प्रतिस्पर्धी हो भन्ने कांग्रेसले बिर्सन नहुने बताए ।

‘हामी एमालेसँग सरकारमा साझेदारी गरिरहेका छौँ । दुईवटा पार्टी २०८४ मा चुनाव लड्नु पर्नेछ । चुनाव लड्दा दुई पार्टीबीच प्रतिस्पर्धा हुने हो,’ साउदले भने, ‘प्रतिस्पर्धा हुँदा जो बलियो छ, त्यसले जित्ने हो । जो जनताका बीचमा गएको छ, त्यसले जित्ने हो । आफ्ना सांसदलाई गाउँ–ठाउँमा जनताको चित्त बुझाउने गरेर जसले परिचालित गरेको छ, त्यसले चुनाव जित्ने हो ।’

कांग्रेसले वैचारिक र सांगठनिक अस्तित्वसँगै कार्यसम्पादनको विशिष्ठतालाई जोगाएर अगाडि बढ्नुपर्ने साउदले बताए । त्यस्ता कुरा राख्दा पार्टीका नेताहरूले चित्त दुखाउन नहुने उनको भनाइ छ । ‘कांग्रेसले आफ्नो वैचारिक, सांगठनिक अस्तित्वलाई जोगाएर कार्यसम्पादनको विशिष्ठतालाई पनि जोगाएर अगाडि बढ्नु पर्छ भन्दा केही साथीहरूले अलि चित्त दुखाएको जस्तो गर्नुभएको छ,’ उनले भने । 

एउटा पदमा रहेर जिम्मेवारी पूरा नगरेकाले अर्को पदको लागि आस राख्न नहुने साउदको भनाइ थियो । पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन गरेर उनीहरूलाई गतिशील बनाउने कर्तव्य पार्टीको जिम्मेवारीमा रहेका नेताहरूको भएको भन्दै जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाईंमा मात्रै लाग्न नहुने उनको भनाइ छ ।

‘पार्टीका भ्रातृ संगठनको अधिवेशन गर्ने, गतिशील बनाउने कुरा पार्टीको जिम्मेवारीमा रहेकाको कर्तव्य हो,’ साउदले भने, ‘त्यो कर्तव्यबाट भागेर पदको लडाईंमा मात्रै पार्टीलाई लैजानु हुन्न ।’  पार्टीलाई एकजुट बनाउनुपर्नेमा जोड दिँदै नेता साउदले भ्रातृ संस्थाको अधिवेशन समयमै गरी नयाँ पुस्तालाई पार्टीमा आबद्ध गर्नुपर्ने बताए ।  

कान्तिपुर

Link copied successfully