राज्य नै एमालेकरण भइरहेको छ : डा. कोइराला

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

The state itself is being organized: Dr. Koirala

काठमाडौँ — कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य एमालेकरण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेस पार्टी कमजोर बन्दै गएको र सरकार पनि एमालेकरण हुँदै गर्दा सचेत बन्नुपर्ने बताएका छन् । 

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस सांसद कोइरालाले राज्यको एमालेकरणलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सोच्नुपर्ने बताए । ‘नेपाली कांग्रेस कमजोर भएको छ । अधिवेशन पनि कहिले हुने टुंगो छैन हाम्रो । २०८४ को चुनावपछि गर्ने भनिरहेको छ । तपाईंहरूले साथीहरूलाई भेट्दा, कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुपर्‍यो । सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुपर्‍यो,' कोइरालाले भने, 'दोस्रो कुरा चिन्ता मलाई कहाँ लागेको छ, राज्य नै एमालेकरण भइरहेको छ कि भन्ने देखिरहेको छु । सरकार नै एमालेकरण भइरहेको छ कि भन्ने हो । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ ।'

मन्त्रीहरूले सरकारमा सहकार्य गर्नुपर्ने सांसद कोइरालाको भनाइ थियो । तर, कार्यकर्ताहरूले सरकारलाई दबाब दिइराख्नुपर्ने उनले बताए । 'मन्त्रीहरूले सहकार्य गर्ने हो त्यसमा कुनै शंका नै भएन । तपाईं हामीले खबरदारी गरिरहनुपर्छ र मात्रै हाम्रा मन्त्रीहरू सचेत हुनुहुन्छ र एमाले पनि सचेत हुन्छ,' उनले भने । सांसद कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताएका हुन् ।

कोइरालाले अहिले कांग्रेस कमजोर भएको दाबी गर्दै महाधिवेशनको टुंगो नलागेकोप्रति आपत्ति जनाए । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता/कार्यकर्तालाई उनले निर्देशन दिएका छन् । 

कोइरालाले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको बताएका हुन् । तर, सजाय दिने व्यवस्था पनि प्रक्रियासम्मत हुनुपर्ने उनको भनाइ छ । 'कांग्रेसीले जबसम्म मानव अधिकारका कुरा बुझ्दैनौं तबसम्म हामी कांग्रेसी हुँदैनौँ । ठगेको छ उसले, सजाय पाउनुपर्छ । तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ,' कोइरालाले भने, 'राति उठाएर लगिदिने पोखरा ? र पुलिसले, गृह मन्त्रालयले यो भन्ने कि हामी प्रोटेक्सन लिन सक्दैनौँ । किन लगेको थियो त ? प्रोटेक्सन दिन सक्दैन भने चितवनमा ? कुरा त्यो हो ?’

लामिछानेलाई चितवनमा बयान लिएपछि रातारात पोखरा पठाइएको थियो । त्यसो गर्नु मानवअधिकार उल्लंघन भएको कोइरालाले बताए । 

लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने कोइरालाको भनाइ थियो । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने उनले बताए । 

कान्तिपुर

Link copied successfully