जाहेरीमा नाम किटान गरिएका सबैको खोजी भइरहेको प्रहरीको भनाइ
सिरहा — नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको बलात्कार र शंकास्पद मृत्यु घटनामा आठ जनाविरुद्ध बिहीबार पूरक जाहेरी दर्ता भएको छ । पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएको हो ।
पीडित परिवारका अनुसार कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार कसुरमा पूरक जाहेरी दिइएको छ । सामूहिक बलात्कार आरोपमा तीन र पञ्चायती गरेर गाउँमै मिलाउन खोजेको आरोपमा ५ जनाको नाम किटान गरिएको छ । पूरक जाहेरी दर्ता गरेर घटनाको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको लहानका प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए । ‘घटनाको गहिरो अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘पूरक जाहेरी आएपछि हामीलाई झन् सहज भएको छ ।’
गत माघ २७ को राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारी स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेको परिवारको भनाइ छ । रिंकुकुमारी उनी भोलिपल्ट बिहान मात्रै रुँदै घर पुगेकी थिइन् । उनले आफ्नो पेट दुखिरहेको र गाउँकै रूपेश मण्डलसहित चन्दन साह र रामविनय मण्डलले मुख थुनेर खेततिर लगेर जबर्जस्ती करणी गरेको बताएको आमा सीतादेवीको भनाइ छ । छरछिमेकमा हल्ला भएपछि स्थानीय केही व्यक्तिले पीडित परिवारलाई घटना गाउँमै मिलाउनुपर्ने भन्दै भोलिपल्ट पञ्चायती बोलाएका थिए ।
वडा सदस्य नथुनी साहसहितका स्थानीयको संलग्नतामा माघ २९ र ३० मा पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । पञ्चायतीले पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । पञ्चायतीमा रूपेशको परिवारले घटनामा तीन जना संलग्न रहेकाले सबैले भाग लगाएर जरिवाना तिर्नुपर्ने भनेपछि आरोपितका आफन्तबीच नै विवाद भएको थियो । त्यसपछि किशोरी ३० गते साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
इलाका प्रहरी लहानमा गत बिहीबार रूपेशविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता भएको थियो । तीन जनाविरुद्ध जाहेरी दिन खोजे पनि प्रहरीले नै एक जनाको नाममा दिन लगाएको पीडित परिवारको आरोप थियो । पक्राउ पुर्जी जारी भएका रूपेश फरार छन् । घटनाको अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छुट्टै टोली खटाएको छ । एसएसपी कोइराला नेतृत्वको टोलीले पीडितको घरमै पुगेर मंगलबार घटनाबारे जानकारी लिएको थियो । पूरक जाहेरीमा नाम किटान गरिएका आठै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
