सम्पत्ति शुद्धीकरण निवारण मामिलामा नेपाल ‘ग्रे लिस्ट’मा 

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Nepal on the ”grey list” in the matter of prevention of money laundering

काठमाडौँ — सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा नेपाल परेको छ । 

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन कार्यान्वयन, वित्तीय अपराधको अनुसन्धान, कारबाहीलगायत पक्षमा अपेक्षित सुधार हुन नसक्दा नेपाल नकारात्मक सूचीमा परेको हो । 

फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न एफएटीएफको दोस्रो महासभाले नेपाललाई उक्त सूचीमा राख्ने निर्णय गरेको हो । महासभापछि शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा एफएटीएफकी अध्यक्ष एलिसा डे अन्डा मद्राजोले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे लिस्ट’मा राखिएको जानकारी दिइन् । 

नेपालसँगै लाओस पनि ‘ग्रे लिस्ट’ सूचीमा परेको छ भने फिलिपिन्स दुई वर्षपछि उक्त सूचीबाट बाहिरिएको छ । ‘यस महासभाले जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओस र नेपाललाई बढी निगरानीमा पर्ने क्षेत्राधिकारको सूचीमा थपेको छ,’ उनले भनिन्, ‘बढी निगरानीमा परेका राष्ट्रले तोकिएको समयमा सुधार गर्ने प्रतिबद्धतासहित कार्ययोजना गरेका छन् । सोहीअनुसार कति समय बढी निगरानीमा रहने भन्ने टुंगो लाग्छ ।’ 

यही फागुन ५ (१७ फेब्रुअरी २०२५) मा सुरु भएको उक्त महासभा शुक्रबार सकिएको छ । बैठकमा नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक हरि नेपाल, फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) प्रमुख वासुदेव भट्टराईलगायत टोली सहभागी छन् । नेपालले दुई वर्षको समय पाएको छ ।

कार्ययोजनामा तोकिएका क्षेत्रमा सक्दो छिटो सुधार गर्न सकिन्छ, त्यति छिटो उक्त सूचीबाट आउन पाइन्छ । अन्यथा झन् गहन निगरानीमा जाने एफएटीएफले जनाएको छ । 

कान्तिपुर

Link copied successfully