देशमा प्रचूर संभावना छ, निराशाजनक र हिनताभाव पैदा नगरौं : अध्यक्ष दाहाल

फाल्गुन ८, २०८१

हरिराम उप्रेती

There is a lot of potential in the country, let's not create disappointment and inferiority complex: President Dahal

गोरखा — माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्रचूर संभावना भएको देश रहेकाले निराशाजनक र हिनताभाव पैदा गर्ने कुराले हित नगर्ने बताएका छन् ।

 बिहीबार पालुङटार नगरपालिका–१० स्थित मिरकोटको कोटगढी महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले जल, जमिन, जडिबुटी, पर्यटन विकासको दृष्टिकोणले प्रचूर संभावना रहेको  बताए ।

‘देशमा युवाविहीन हुँदै गएको छ, जग्गा बाँझो हुँदै गएको छ, यो कुरा सर्वत्र सुनिन्छ,’ उनले भने,‘निराशाजनक र हिनताभाव पैदा गर्ने किसिमको कुराले देशको हित गर्दैन, नेपालमा धेरै कुरा छ, केही कुरा भएको पनि छ, केही हुँदै छ, युवालाई, आफ्ना छोराछोरीलाई विदेश जान होइन आफ्नै खेतबारी, व्यापार व्यवसाय, साना ठूला कुटिर उद्योगमा केन्द्रित हुन उत्प्रेरित गरौँ, यस्ता विषयमा सुझाव दियो भने केही वर्षभित्रै धेरै सम्पन्न देश हुन सम्भव छ, त्यो आधार हामीसँग छ ।’  

केही भएन भनेर राष्ट्रप्रति जनताको सम्मान कमजोर पार्ने काम नगर्न दाहालले आग्रह गरे । ‘आत्मसम्मान गुम्न नदिऔँ, कमजोर नठानौं, देश बनाउन संभव छ, हामीले नै बनाउने हो,’ उनले भने ।

त्यस्तै दाहालले गोरखामा कृषि औद्योगिक पार्क निर्माण पनि अघि बढ्ने बताए । चीन सरकारको सहयोगमा बन्ने औद्योगिक पार्कको काम विस्तारै अघि बढ्ने उनको भनाइ छ । 

गोरखाको विकास निर्माण र समृद्धिको आकांक्षालाई सम्बोधन पहिलो कर्तब्यबोध रहेको पनि उनले बताए । माओवादीको नेतृत्वमा रहेको १२३ स्थानीय तहको भेला आयोजना गर्न लागिएको पनि उनले बताए । पालिका प्रमुख, उपप्रमुख, सम्बन्धित पालिकाका पार्टी अध्यक्ष भेला गरेर समाजवादी अर्थतन्त्र निर्माणका लागि के गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको पनि उनले बताए ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully