सहयोगमा ३० हजार धरौटी जुटेपछि ८ महिनामा घर फर्के सन्तोष

सन्तोष थुनामा परेपछि आमा आफन्तको शरणमा र पत्नी ४ सन्तानसहित माइत गएपछि छिन्नभिन्न बनेको थियो परिवार, खण्डहर भएको थियो घर

फाल्गुन ८, २०८१

शिव पुरी

Santosh returned home in 8 months after collecting 30,000 bail

रौतहट — ३० हजार रुपैयाँ धरौटी बुझाउन नसकेर आठ महिनादेखि कारागारमा बन्दी रहेका मौलापुर–१, मर्यादापुरका सन्तोष पाण्डे थुनामुक्त भएका छन् । धरौटी बुझाउन नसकेर सन्तोष कारागारमा रहेको कान्तिपुरमा प्रकाशित भएपछि पूर्वमन्त्री हरिप्रसाद पाण्डेले धरौटी तिरिदिएका थिए । सन्तोष शुक्रबार साँझ गौर कारागारबाट छुटेका हुन् । 

छिमेकी हवल्दार साह सोनारको मोबाइल र १० हजार रुपैयाँ चोरेको आरोपमा पक्राउ परेका सन्तोषलाई जिल्ला अदालतले गत असार २० मा ३० हजार रुपैयाँ धरौटी तोकेको थियो । धरौटी तिर्न नसक्दा उनी जेल चलान भएका थिए । शुक्रबार सन्तोषलाई रिहा गर्ने व्यहोराको पत्र लिएर सन्तोषका भिनाजु भोला पाण्डे शुक्रबार कारागार पुगेका थिए । कारागारबाट छुटेको चार दिनपछि मंगलबार दिउँसो मात्र सन्तोष मर्यादापुरस्थित घर गएका थिए । लामो समय कोही नबसेका कारण घर जीर्ण बनेको  ।

सन्तोष जेल परेपछि खर्च धान्न मुस्किल हुँदा उनको परिवार छिन्नभिन्न भएको थियो । उनकी आमा बबनी देवी र जेठो छोरा पुरुषोत्तम ज्वाइँ भोला पाण्डेको चन्द्रपुर–५ स्थित घरमा बसिरहेका छन् । सन्तोषकी श्रीमती चञ्चलदेवी १० वर्षीया छोरी नेहा र १२ वर्षीय छोरा रोहितलाई लिएर हरिवनमा डेरा लिएर बसेकी छन् ।

छिमेकी र आफन्तको व्यवहारले गाउँमा बस्न सक्ने अवस्था नरहेको सन्तोषकी आमा बबनी देवी बताउँछिन् । ‘घर मर्मत गरेर गाउँमै बस्न इच्छा छ तर छरछिमेकले गरेको व्यवहारले फर्कन मन छैन,’ उनले भनिन् । अब परिवारका सबै एकै ठाउँमा बस्ने चञ्चलदेवीले बताइन् । ‘दैनिक ६ सय रुपैयाँमा मजदुरी गरेर गुजारा चलाइरहेकी थिएँ,’ उनले भनिन्, ‘हामीले तिर्न नसकेको धरौटी मनकारीले बुझाइदिनुभयो ।’

काठमाडौंका केही मनकारीले छोराछोरीलाई अध्ययन र रोजगारी दिने आश्वासन दिएको सन्तोषका भिनाजु भोलाले सुनाए । बुबाको मृत्युपछि गाउँकै नातेदारसित ४ लाख रुपैयाँ ऋण गरेर सन्तोष काठमाडौंका एजेन्टमार्फत मलेसिया गएका थिए । भनिएजस्तो काम नपाएपछि उनी ३ महिनामै फर्किएका थिए । मलेसिया जाँदाको ऋण तिर्न परिवारले १२ कट्ठा जग्गा बेच्नुपरेको थियो । बुबाको मृत्यु र वैदेशिक रोजगारीमा ठगिएपछि सन्तोष मदिराको लतमा फसेका थिए । 

सन्तोष मंगलबार घर पुग्दा केही काठपात र दक्षिणतर्फको एउटा ढोका थिएन । जीर्ण पलङमाथिका थोत्रा कपडालाई धूलोले पुरेको थियो । बर्खामा बाढी पसेर माटाले पूर्वतिरको ढोका थुनिएको थियो भने दक्षिणतर्फको भित्ता ढलिसकेको छ । ‘अब नयाँ घर बनाउनुपर्नेछ तर विगत सम्झँदा यहाँ बस्न मन छैन,’ सन्तोषले भने ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully