युवा पुस्तामा रहेको निराशालाई आशामा परिणत गर्ने जिम्मेवारी मिडियाको काँधमा रहेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको भनाइ
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले अब आर्थिक समृद्धिका लागि पत्रकारिता गर्नुपर्ने बताएका छन् । विगतमा मुलुकको एजेन्डा राजनीतिक परिवर्तन रहेको र त्यसमा सञ्चार क्षेत्रले साथ दिएको उल्लेख गर्दै उनले अबका लागि आर्थिक समृद्धि मुलुकको एजेन्डा रहेको जनाएका छन् ।
कान्तिपुर पब्लिकेशन्स्को ३२ औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष सिरोहियाले युवा पुस्तामा रहेको निराशालाई आशामा परिणत गर्ने जिम्मेवारी मिडियाको काँधमा रहेको बताए ।
मिडिया व्यवसाय मात्र नभएर जिम्मेवारी पनि भएको उनको भनाइ थियो । सिरोहियाले कान्तिपुरसँगै नेपालको पत्रकारिता पनि समृद्ध बनेको उल्लेख गरे । नेपालमा लोकतन्त्र स्थापनाका लागि कान्तिपुरले अहम् भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले वाक स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता र राजनीतिक परिवर्तनलाई संस्थागत गर्नमा कान्तिपुर अगाडि बढिरहेको बताए ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले कान्तिपुर देशको हरेक परिवर्तनको हिस्सेदार रहेको प्रस्ट पारे । सञ्चार कर्म गरेका कारण विभिन्न शक्तिले झुकाउन खोजे पनि कान्तिपुर कहिल्यै नझुकेको उनको भनाइ थियो । सत्य समाचार प्राप्त गर्ने पाठक र लेख्ने पत्रकारको अधिकार भएकाले त्यो लेखेकै कारण कान्तिपुर कसैसँग नडराउने उनले उल्लेख गरे ।
जुनसुकै संकटमा पनि कान्तिपुर अविचलित भएर अगाडि बढ्ने उनले जनाए । अध्यक्ष सिरोहियाले सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै आएको बताए । ‘मिसइन्फर्मेसन र डिसइन्फर्मेसन चुनौती भएर आएका छन्, दुवै लोकतन्त्रका लागि खतरा छन्,’ उनले भने ।
कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले प्रविधिमा आउने परिवर्तन सञ्चारमाध्यमका लागि अवसर भएको बताए । ‘४ वर्ष पहिले हामी एआईका बारेमा विभिन्न कल्पना गर्थ्यौं, आज कान्तिपुर न्युज रुमले एआई प्रयोग गरिरहेको छ । प्रविधिमा हुने विकासले पत्रकारितालाई मार्दैन,’ उनले भने । प्रविधिको प्रयोगले अझ बढी पाठक, दर्शक र श्रोतालाई सूचनाको पहुँचमा ल्याउन सहयोग मिल्ने उनको भनाइ थियो ।
कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ ले समाजमा नकारात्मक प्रभाव पारिरहेको अवस्थामा जिम्मेवार पत्रकारिताको अझ बढी खाँचो पर्ने बताए । कान्तिपुर दैनिकले दक्षिण एसियाको पत्रकारितामा नै गर्विलो पहिचान बनाएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई अझै बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘स्वतन्त्रता पत्रकारिताको प्राणवायु हो,’ उनले भने । प्रविधिमा आएको परिवर्तनसँगै कान्तिपुरले आफ्नो न्युज रुमलाई अपडेट गर्दै जाने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा द काठमान्डु पोस्टका सम्पादक विश्वास बरालले अबको पत्रकारिता सहकार्य र विचार आदानप्रदान गर्दै अगाडि बढ्नुपर्ने बताए । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश स्वाँरले प्रविधिले हातहातमा सूचना पुर्याइरहेको अवस्थामा अब सञ्चार क्षेत्र नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने धारणा राखे । कान्तिपुरले नयाँ–नयाँ कार्यक्रम गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि स्पष्ट उद्देश्यसाथ अगाडि बढ्ने बताए ।
उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत
कान्तिपुर पब्लिकेशन्स्को ३२ औं वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने पत्रकार र कर्मचारी पुरस्कृत भएका छन् । यस वर्षको ‘कान्तिपुर जर्नलिस्ट अफ द इयर’ बाट कान्तिपुर दैनिकका कुलचन्द्र न्यौपाने र ‘द काठमान्डु पोस्ट जर्नलिस्ट अफ द इयर’बाट काठमान्डु पोस्टका संगम प्रसाईं पुरस्कृत भएका छन् । लेआउटतर्फ नरेश राउत उत्कृष्ट घोषित भए । काभ्रे जिल्ला संवाददाता ज्योती श्रेष्ठले ‘रिजनल रिपोर्टर अफ द इयर’ पुरस्कार पाइन् ।
कर्पोरेट म्यानेजर सिम्रन श्रेष्ठ ‘कान्तिपुर चेयरमेन्स एक्सिलेन्स अवार्ड’ बाट पुरस्कृत भइन् । त्यस्तै, मानव संसाधन विभागकी नेहा बज्राचार्य, आईटी विभागका मनीषकुमार देव र मार्केटिङ विभागका विनोद भट्ट उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भएका थिए । वार्षिकोत्सव कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र निर्देशक स्वस्तिका सिरोहियाले पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए ।
