रोशीको बाढीपहिरो प्रभावित क्षेत्रमा फेरि क्रसरको उपद्रो

गत असोजको बाढीमा अति प्रभावित पनौती, बेथानचोक, रोशी र मण्डनदेउपुर क्षेत्रमा फेरि मापदण्डविपरीत खानी चल्न दिँदा बस्ती जोखिममा 

फाल्गुन ८, २०८१

ज्योती श्रेष्ठ

In Roshi's flood-affected area, the crusher is again a nuisance

काभ्रे — विद्यालय भवनको आडैमा ढुंगा, गिट्टी उत्खनन भइरहेको छ, कक्षाकोठामा पढाइ चलिरहेको छ  । शिक्षकले पढाएको न विद्यार्थीले राम्रोसँग सुन्न सक्छन् न विद्यार्थीले भनेको शिक्षकले नै बुझ्छन् ।

 बेथानचोक–४ स्थित चलाल गणेशस्थानमा रहेको गणेश आधारभूत विद्यालय छेवैमा चलाल गणेशस्थान खनिज उद्योग प्रालिले केही दिनदेखि उत्खनन गरिरहेको छ । कक्षा ७ मा अध्ययनरत करण मगरले खानीबाट आएको धूलोले स्कुल नै छोप्ने गरेको बताए । त्यही कक्षाकी पार्वती तामाङले खानी चल्न थालेपछि एकाग्र भएर पढ्नै नसकिएको सुनाइन् । ‘खानीमा ब्रेकर चलाएका बेला कसैले बोलेको बुझिँदैन,’ उनले भनिन् । 

पढाइ भइरहेका बेला खानी सञ्चालन हुँदा बालबालिकाको मनोविज्ञानमा असर पर्ने र खानी आसपास रहेको विद्यालयसँगै बस्ती पनि जोखिममा पर्ने स्थानीयको चिन्ता छ । खानीमा ब्रेकर चलाउँदा भवन नै थर्किने र बालबालिका तर्सिने गरेको एक शिक्षकले बताइन् । ‘खानीबाट निस्कने धूलोले विद्यार्थीको स्वास्थ्यमा असर पर्ने जोखिम छ,’ उनले भनिन् । 

स्थानीय नक्सलमाया तामाङ भने उत्खनन गर्दागर्दै ढिस्कोले आफ्नै घर नै पुर्ने हो कि भन्ने चिन्तामा छिन् । उनको घरनजिकै उत्खनन भइरहेको छ । अर्का स्थानीय लीलाबहादुर लामाले यसरी जथाभावी उत्खनन गर्न दिँदा बाढीपहिरोजस्तो विपद् आउन सक्ने बताए । बस्तीमाझ सञ्चालित खानी तथा क्रसर उद्योगका कारण आफूहरू सधैं त्रासमा बस्नुपरेको चलाल गणेशस्थानकी कुन्तीदेवी दोङले बताइन् । 

 बेथानचोक गाउँपालिकामा अहिले तीन वटा खानी र क्रसर उद्योग सञ्चालनमा छन् । बेथानचोक त्यही पालिका हो, जहाँ गत असोज दोसो साताको बाढीपहिरोले मानवीय तथा भौतिक क्षति गरेको थिय । 

विभिन्न अध्ययनले बाढीपहिरो जानु र बढी क्षति हुनुको मुख्य कारक खानीजन्य क्रसर उद्योगलाई औंल्याएका थिए । तर केही महिना नबित्दै खानी र क्रसर उद्योग चल्न थालेका हुन् । ‘स्कुल, स्वास्थ्य चौकी, बस्ती नजिकै खानी र क्रसर चलाइएको छ,’ बेथानचोकका एक वृद्धले भने, ‘मापदण्ड के–कस्तो छ, हामीलाई थाहा छैन तर बस्तीमाझ क्रसर चल्दा हामीलाई समस्या भइरहेको छ ।’ 

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले भने तीन वटै उद्योगलाई प्रक्रियाअनुरूप सञ्चालन अनुमति दिइएको बताए । तीन वटै उद्योगले दर्ता, खानी विभागबाट अनुमति, नवीकरणजस्ता सबै प्रक्रिया पूरा गरेको उनको भनाइ छ । पनौती नगरपालिकामा गत असोजको विपद्पछि ७ खानी र ५ क्रसर उद्योग खुलेका छन् । पनौती नगरकी उपप्रमुख गीता बञ्जाराले सबै प्रक्रिया पूरा गरेका उद्योग मात्रै अहिले सञ्चालन गर्न दिइएको बताइन् । 

रोशीमा विपद्पछि एउटा क्रसर सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । त्यहाँ बाढीपहिरोले सामान्य क्षति गरेको उद्योग मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको हो । नमोबुद्ध नगरपालिकामा रहेका ४ खानी र क्रसर उद्योगमध्ये विपद्बाट ३ वटामा क्षति पुगेको थियो । मण्डनदेउपुर नगरपालिकामा विपद्पछि ३ उद्योग चलिरहेका छन् । भुम्लु गाउँपालिकामा ४ क्रसर र ७ खानी सञ्चालनमा छन् । 

खानी तथा क्रसर उद्योगको स्थलगत अनुगमनका लागि गठन कार्यदलका सदस्य सचिव तथा जिल्ला समन्वय समितिका सूचना अधिकारी भरत सापकोटा भने अधिकांश उद्योगले मापदण्ड पूरा नगरेको र सञ्चालकले बाढीपहिरोबाट कागजात क्षति भएको भन्दै देखाउन नसकेको बताउँछन् । ‘हामी अध्ययनकै क्रममा छौं । महिना दिनमा सबै प्रतिवेदन तयार हुन्छ,’ उनले भने । जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले गत असोजमा गएको बाढीपहिरोले अत्यधिक क्षति गर्नुमा मापदण्डविपरीत सञ्चालित खानी तथा क्रसर उद्योग पनि प्रमुख कारण रहेको बता ।

क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डमा राजमार्ग, खोला, नदी, पुल, तालतलैयाबाट ५ सय मिटर टाढा, शिक्षण संस्था, स्वास्थ्य संस्था, बस्ती, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक स्थान र सुरक्षा निकायबाट २ किलोमिटर टाढा सञ्चालन हुनुपर्ने उल्लेख छ । बालुवा तथा ढुंगा प्रशोधन उद्योगमा साइड ड्रेन, हिलो थिग्रने पोखरी, वायु प्रदूषण नियन्त्रणका लागि व्यवस्था गर्ने सम्बन्धित व्यवसायीको हुने उल्लेख छ । नदीजन्य तथा खानीजन्य उद्योगको जिल्लास्तरीय अनुगमन कार्यदलले स्थलगत अनुगमन गरी तयार गरेको प्रतिवेदन २०७९ मा पनि खानी तथा क्रसर उद्योगले मापदण्ड पालना नगरेको उल्लेख थियो । 

जिल्ला अनुगमन समितिको गत माघ ९ मा भएको बैठकले काभ्रेका नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो । मापदण्डअनुरूप खानी तथा क्रसर उद्योग सञ्चालनका लागि सम्बन्धित उद्योगीलाई पटकपटक जानकारी गराइएको र नियमन गर्नका लागि स्थानीय तहलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला अनुगमन समिति संयोजक गौतमले बताए ।

उनका अनुसार हाल सञ्चालनमा रहेका खानी र क्रसर उद्योगले मापदण्ड पालना नगरेको पाइएकाले समितिले पुनः अनुगमनको काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मापदण्ड पालना नगरेका खानी र क्रसर उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको बताए ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully