नागरिक सर्वोच्चतामा गर्व गर्नुस् : प्रधानमन्त्री ओली

फाल्गुन ८, २०८१

दीपक परियार

Be proud of citizen supremacy: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशप्रतिको स्वाभिमान र नागरिक सर्वोच्चतामा गर्व गर्न आग्रह गरेका छन् । पोखरा विश्वविद्यालयको बिहीबार २० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सानो देशको नागरिक भनेर हिन भावना नपाल्न विद्यार्थीलाई आग्रह गरे । 

‘दास मनोवृत्ति राख्ने होइन । कमजोर भावना, हिन भावना, सानो देशको ग्रन्थी...त्यस्तो पाल्ने होइन । कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन,’ पोखराको ढुंगेपाटनमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा उनले भने, ‘हामी ४० औं ठूलो देशमा पर्छौं । १ सय ५३ देश हामीभन्दा साना छन् दुनियाँमा, अनि हामी कसरी सानो ?’ 

नेपालसँग हिमाल, खोला, ताल तलैया, उर्बर फाँट रहेकोले भूगोलमा सानो नभए पनि दुईवटा ठूला ठूला देशको बीचमा परेर मात्रै सानो देखिएको उनको भनाइ थियो । ‘त्यसकारण कहिल्यै पनि हिन ग्रन्थी नलिनुहोस्,’ उनले भने, ‘हात्ती भेट्नुभयो भने त्यसलाई तालिम दिएर, तह लगाएर टाउकोमा चढेर माहुते हुन सिक्नुस् तर हात्ती देख्नेवित्तिकै कुद्‍यो भने माहुते हुन सकिँदैन ।’ 

उनले विद्यार्थीलाई इमान्दार हुन आग्रह गर्दै इमान्दारिताको फल मात्रै सफल पनि हुन्छ र श्रेययुक्त हुनेमा जोड दिए । विद्यार्थीको सफलता समाज, देशका लागि उपयोगी हुनुपर्ने उनको भनाइ थियो । ‘आफ्ना लागि चरा, फट्यांग्रा, किरा जसले पनि आफ्नो लागि चारो खोजेकै हुन्छ, पेट पालेकै हुन्छ, कुदैकै हुन्छ,’ उनले भने, ‘आफ्ना लागि गर्नु भनेको धेरै ठूलो कुरा होइन । आफ्ना लागि मात्रै गर्न खोजियो भने स्वार्थी भइन्छ । निजात्मकता बढ्छ । आत्मकेन्द्रित हुन्छ मान्छे । त्यसकारण परिवारका लागि हुनुस्, समुदायका लागि हुनुस्, देशका लागि हुनुस् ।’ 

समारोहमा विश्वविद्यालयका कुलपति ओलीले ७ हजार ८ सय ७२ जना विद्यार्थीलाई दीक्षित गराए । 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully