ओली–दाहाल ‘वाकयुद्ध’: राजावादी र संघीय गणतन्त्र विरोधीको आरोप

‘राजासँग सम्झौता गरेर गठजोड गरेर लोकतन्त्र मास्न हिँडेकाहरु बाध्यताले सम्झौता गरेका हुन् । उल्टै लोकतन्त्रका मसिहा । गणतन्त्रका लागि कहिले लडेका थिए ? राजासँग साँठगाँठ गरेर सम्झौता गरेको होइन ?’ उनले प्रश्न गरे, ‘त्यस्ता निर्लज्ज मान्छेहरुले लोकतन्त्रका बारेमा दुहाइ हामीलाई दिने ?’ : ओली

फाल्गुन ६, २०८१

गंगा बीसी

Oli-Dahal 'war of words': allegations of anti-monarchist and anti-federal republic

काठमाडौँ — विगत फर्केर हेर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकताभन्दा मनमुटाव बढी छ । कांग्रेससँग गठबन्धन तोडेर एक वर्षअघि ओलीसँग सहकार्य गरे पनि त्यो दुई महिना मात्र टिक्यो । त्यसपछि सात महिनाअघि सहकार्य भएपछि प्रतिपक्षमा पुगेका दाहाल र ओलीबीच ‘वाकयुद्ध’ नै चलेको छ ।

कांग्रेस र एमालेबीच कम्युनिस्ट सिद्धान्तमा संघर्षपछि एकता हुनुपर्नेमा यी दुई नेताबीच ‘एकताभन्दा संघर्ष’को सम्बन्ध छ । पछिल्लो समय प्रधानमन्त्री र प्रमुख प्रतिपक्षका नेता भएपछि यी दुई नेताबीच एकले अर्कालाई हिलो छ्यापाछ्याप तीव्र छ ।

ओलीले दाहाललाई ‘राजावादी’ र दाहालले ओलीलाई संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीको आरोप लगाएका छन् । दुई नेताबीच वैचारिक बहसभन्दा विगतको तुष पोख्न आरोप-प्रत्यारोप भएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार दाङमा भएको पार्टीको सभालाई सम्बोधन गर्दै दाहालले ‘राजासँग साँठगाँठ’ गरेको आरोप लगाए । यतिसम्म कि उनले दाहाललाई लोकतन्त्र मास्न खोजेको आरोप लगाउन पुगे ।

‘राजासँग सम्झौता गरेर गठजोड गरेर लोकतन्त्र मास्न हिँडेकाहरु बाध्यताले सम्झौता गरेका हुन् । उल्टै लोकतन्त्रका मसिहा । गणतन्त्रका लागि कहिले लडेका थिए ? राजासँग साँठगाँठ गरेर सम्झौता गरेको होइन ?’ उनले प्रश्न गरे, ‘त्यस्ता निर्लज्ज मान्छेहरुले लोकतन्त्रका बारेमा दुहाइ हामीलाई दिने ?’

उनले दाहाललाई चेतावनीको भाषामा विगतका षड्यन्त्रको पर्दाफास गर्ने चेतावनीसमेत दिए । ‘प्रचण्डजीलाई भन्न चाहन्छु त्यस्ता बकबास गरेर नहिँड्नुस् । धेरै कुराहरुको, षड्यन्त्रहरुको पर्दाफास गर्न नपरोस् ।’

पुस १५ मा दाहालले ओलीको गृहजिल्ला झापा पुगेर ‘झेली’ भएको उल्लेख गर्दै संघीयताविरोधी भएको आरोप लगाएका थिए ।

‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । धेरै जाली, यति धेरै झेली मान्छे । उनको ठाउँमा म बोल्दै छु,’ उनले ओलीलाई भनेका थिए, ‘जालझेलबाहेक उहाँको दिमागमा अरू केही छैन ।’

उनले नेपालको संविधानलाई खारेज गर्न खोजेको भन्दै व्यवस्था विरोधीको गंभीर आरोप लगाएका थिए । ‘केपी ओलीजी संघीयता नै ठीक छैन, समावेशी, समानुपातिक, महिला, दलितलाई अधिकार दिएको मन परेको छैन । माओवादीले आँधीहुरी ल्यायो, मैले पनि मान्नै पर्‍यो भन्ने माछे केपी ओलीजी हो,’ उनले झापाको सभामा भनेका थिए, ‘मनले अर्कै, बाध्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेका मान्छे हुन् । उहाँ जतिबेला सत्तामा पुग्नुहुन्छ । यो संविधान च्यात्न खोज्नुहुन्छ । किनकि यो संविधानमा महिला, आदिवासी, मधेशी, मुश्लिम, थारुको केही न केही स्थापित छ । मन पर्दैन । यसलाई विघटन गर्न चाहनुहुन्छ ।’

ओलीले सोमबार (फागुन ५) मा दाङमा भ्रष्टाचार फाइल खोल्न खोज्दा आफूलाई हटाएको भन्ने दाहालको भनाइलाई ‘कुप्रचार’ भनेर खण्डन गरे ।‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिँडेका छन्’, ओलीको भनाइ थियो, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन् । म पनि प्रधानमन्त्री छु । म सँग त छैन ।’

प्रमुख प्रतिपक्ष दल नेतासमेत रहेका दाहालले सरकार आफै ढल्ने गरेको तर्कलाई खारेज गरे । ‘१७ महिना अझै प्रधानमन्त्री हुन्छु, केपी ओलीलाई हटाउन कुनै बल लगाउनु पर्दैन,’ उनले भने, ‘बेला आएपछि आफै छोड्छु, बेला नआउँदासम्म कुनै तोप नै हाने पनि प्रधानमन्त्री ढल्दैन, १७ महिनापछि बल लगाउनै पर्दैन ।’

ओली र दाहालबीच संसद‍्मा समेत सवालजवाफ चल्दै आएको छ । माघ १८ मा प्रतिनिधिसभाको बैठकमा ओलीले विपक्षीले ‘सरकार ढल्यो, ढल्यो’ भनेर गीत गाउनु अशोभनीय भएको टिप्पणी गरेका थिए । ‘विपक्षीमा रहेका साथीहरूले व्यर्थ समय खेर फालेको जस्तो लागेको छ । एउटा गीत बजारमा ढलेँ ढलेँ भन्ने प्रचारमा छ । राजनीतिक नेताहरूले त्यस्तै गाएको सुन्छु, आजै ढल्यो, भरे ढल्यो, ढल्यो, ढल्यो, ढल्यो’ ओलीले भनेका थिए, ‘यो गीत राजनीतिका मञ्चमा सुहाउँदैन । मनारेञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ ।’

दाहालले माघ २४ को संसद् बैठकमा त्यसको जवाफ दिए । ‘अस्ति प्रधानमन्त्रीले संसद्‌मा गीत गाउनुभयो– ढलो, ढलो, ढलो....। तपाईंहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ?’ दाहालले भने, ‘सुन्नोस्, हामी टिप्न हिँड्दैनौं यो सरकार तर यो कुहिएर झर्नेवाला छ ।’

साढे तीन दसकदेखि पार्टीको नेतृत्व गर्दै आएका दाहालले एमालेमा ओलीले आलोचनालाई निषेध गरेको आरोपसमेत लगाए ।

‘प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ,’ दाहालको आरोप थियो, ‘मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईंहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनुहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ?’

दाहालले ओली माओवादीसँग डराएर गठबन्धन तलमाथि नहुने बताएको उनको भनाइ थियो । ‘हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन,’ दाहालको आरोप थियो , ‘प्रधानमन्त्रीजी बेलाबेला संसद‍्को दुईतिहाइ सम्झाउनुहुन्छ र बलियो सरकारको घमण्ड गर्नुहुन्छ । व्यवहारमा कति बलियो छ त यो सरकार ?’

ओलीले आगामी असारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताउँदै आएका छन् । तर दाहालले माघ १८ मा ताप्लेजुङमा सरकार आफै ढल्ने दाबी गरे ।‘हामीले केही नगरे पनि यो सरकार ढल्छ, हामी हिँड्दा हिँड्दै ढल्छ, कसैले केही गर्नै पर्दैन,’ उनको भनाइ थियो, ‘हाम्रो नेतृत्वले राम्रो काम गर्न खोजिरहेको थियो तर दलाल पुँजीपतिहरूलाई बसिखानु भएन, प्रचण्डको नेतृत्व रहिरहे हामीमाथि उठ्न सक्दौनौं भन्ठानेर रातारात होटेल–होटेल धाएर गठबन्धन बनाए ।’

विगतको सम्बन्ध

प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता दाहाल सदन र सडकमा आमनेसामने छन् । सरकारको नेतृत्व गरेको एमालेले सदन र सडकमा प्रमुख प्रतिपक्षको आरोपको खण्डन गर्दै आएको छ भने माओवादीले खबरदारी । दाहाल ०६५ साउनमा सबभन्दा ठूलो दलको नेताका रूपमा प्रधानमन्त्री भएका तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गर्न खोज्दा नौ महिनामा सरकारबाट बाहिरिए । ०६६ वैशाखमा प्रधानमन्त्रीबाट अकस्मात् राजीनामा गर्दादेखि अघिल्लो सरकार निर्माण गर्दा एमालेसाग सहकार्य गर्दासम्म उनले धेरै बाइरोडको बाटोजस्तै दायाँबायाँ गरिसकेका छन् ।

०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरी चुनाव लडेका उनी ३ जेठ ०७५ मा एमालेसाग पार्टी एकता नै गर्न पुगे । त्यसपछि दाहालले ०७७ फागुनमा एमाले अध्यक्ष ओलीसाग सम्बन्ध विच्छेद गरे ।

त्यसअघि फर्केर हेर्दा १७ पटकसम्म प्रधानमन्त्रीमा बहुमत पुर्‍याउन नसक्दा क्रमभंग गरेर ०६७ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गरेका थिए ।

०६७ माघमा संसद्मा प्रधानमन्त्रीको दौड छाडेर उनले तत्कालीन एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाएका थिए । उनले त्यसबेला आफ३नै बलबुताले सरकार बनाएको दाबी गरेका थिए । तत्कालीन कांग्रेस सभापति सुशील कोइराला सरकार बाहिरै बसेको माओवादीले ०७२ असोजमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनायो । ओलीसाग असमझदारी भएपछि दाहालले जेठ ०७३ ओली सरकार ढालेका थिए । त्यसपछि कांग्रेससाग सहकार्य गर्न पुगे । ०७३ साउनमा कांग्रेससित सहकार्य गरी दाहाल आफैं दोस्रोचोटि प्रधानमन्त्री बने । १० जेठ ०७४ मा राजीनामा दिएर बाटो खुला गरेपछि देउवा प्रधानमन्त्री बने ।

०७४ मंसिरमा आम चुनावको मुखमा वापमन्थी एकता भन्दै उनले एमालेसाँग चुनावी गठबन्धन गरे । ०७५ जेठमा पार्टी एकता गरी नेकपा बनाए । तीन वर्ष नपुग्दै ओलीसँग शक्ति संघर्ष चर्कियो । सर्वोच्चले एमाले–माओवादी अलग गरिदिएपछि ओलीसँग सम्बन्धविच्छेद गरेका थिए ।

गंगा

Link copied successfully