हाकाहाकी भ्रष्टाचार गर्नेहरु रवाफका साथ हिँडेका छन् : वाग्ले

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Hakahaki corrupt people have walked with Rawaf: Wagle

काठमाडौँ — रास्वपा उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले ‘हाकाहाकी भ्रष्टाचार’ गर्नेहरु रवाफका साथ हिँड्ने गरेको आरोप लगाएका छन् । नेपाल वायुसेवा निगमका लागि खरिद गरिएका दुइटा वाइडबडी जहाज प्रकरणमा भएको अनियमिततामा सूक्ष्म अनुसन्धान नभएकोमा पनि उनले असन्तुष्टि जनाए ।

प्रतिनिधिसभामा मंगलबार विशेष समयमा वाग्लेले भ्रष्टाचार गर्नेहरुमाथि अनुसन्धान नहुँदा ‘ठमठमी रवाफका साथ खुलमखुला हिँडेको भन्दै बाइडबडी जहाज खरिद प्रकरण यसको उदाहरण रहेको बताए ।

वाइडबडी प्रकरणमा नेतादेखि कर्मचारीसम्म मिलेर भ्रष्टाचार गरेको र त्यसबापत सिंगापुर, दुबई, हङकङ र अमेरिकामा घुसबापत रकम भुक्तानी भएको उनको आरोप छ ।

केही दिनअघि कांग्रेस नेता तथा पूर्वमन्त्री हृदयराम थानीले कान्तिपुरलाई दिएको अन्तर्वार्तामा ‘पहिला घुसको डिल नेपालमै हुने गरेको र अहिले सिंगापुर र अमेरिकामा हुन थालेको’ उल्लेख गरेका थिए । सांसद वाग्लेले थानीले उक्त प्रसंग बुझेरै, देखेरै र भोगेरै भनेको आफूलाई लागेको बताए । थानीले भनेको विषयलाई पुष्टि गर्ने गरी अमेरिकाको न्याय विभागले नै वाइडबडी जहाज प्रकरणमा एएआर कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना गराएको र जहाज खरिदका क्रममा नेपाल र दक्षिण अफ्रिकामा घुसबापत मात्रै साढे ७ अर्ब रुपैयाँ बराबरको डिल भएको प्रसंग पनि उनले राखेका थिए ।

‘उहाँ (थानी)ले नजिकबाटै देखेरै, बुझेरै भोगेरै त बोल्नुभएको होला नि, यो दाबीलाई पुष्टि गर्ने गरी दुई महिना अघि संयुक्त राज्य अमेरिकको न्याय विभाग अन्तर्गतको अपराध महाशाखाले वाइडबडी काण्डसँग सम्बन्धित एउटा प्रतिवेदन सार्वजनिक गरेको छ,’ वाग्लेले भने, ‘अमेरिकाको इलिनोइ राज्यमा दर्ता भएको एएआर कम्पनीले करिब ५५ मिलियन डलर (नेपाली रुपैयाँअनुसार करिब साढे ७ अर्ब) जरिवाना तिर्नुपर्ने भनेर फैसला सुनाएको छ, त्यो केका लागि भन्दा दक्षिण अफ्रिका र नेपालका नेता र कर्मचारीहरुका लागि घुस खुवाउन भनेर सर्टेन एयरलाइन्सहरुसँड डिल गरेर अवाञ्छित लाभ लिएको भनेर तिराइएको छ ।’

सन् २०१६ देखि २०१८ सम्म रहेका त्यतिबेलाका प्रधानमन्त्री, पर्यटनमन्त्री, अर्थमन्त्री हस्ताक्षर गरेर भुक्तानी दिइएको २१ करोड ६३ लाख डलर आयरल्यान्डको एक डलरवाला नक्कली कम्पनीमा पठाइएको र त्यहाँबाटै दुबई, सिंगापुर, हङकङ र अमेरिकामा ५५ करोड रुपैयाँ घुसबापत भुक्तानी भएको भन्दै यसको सत्य-तथ्य जाँचबुझ हुनपर्ने माग गरे । ‘त्यसरी हाकाहाकी भ्रष्टाचार गर्ने नेताहरु ठमठम रवाफका साथ हिँडेको आज पनि देखिरहेको छु, अब जाँचबुझ आयोग गठन चीर स्थायी माग छ । सम्पत्ति शुद्धीकरणलगायत सम्पत्ति छानबिन गरिनु पर्छ ।’ उनले विगत ३५ वर्षको शासकीय अभ्यास नै भ्रष्टतन्त्रतिर गइरहेको पनि आरोप लगाए ।

‘अयोग्य र अक्षमहरुले गर्ने शासन, जहाँ कुशासन संस्थागत, रणनीतिक र स्थायी हुन्छ । अर्को, हामी प्रजातन्त्रबाट ‘क्लेप्टोक्रेसी’ (भ्रष्टतन्त्र)तिर गइरहेका छौं । जहाँ राजनीतिक शक्ति हत्याएर लुट मच्याउने, ब्रम्हलुट गर्ने,’ उनले भने, ‘यसैले कागजमा एकदमै गौरव गर्न लायकको फेडेरल डेमोक्रेटिक रिपब्लिक भनेर भनेका छौं । अभ्यासमा हामी ‘क्याकिस्टोक्रयाटिक–क्लेप्टोक्रेसी’तिर उन्मुख भइरहेका छौं ।’ यसैबाट सिर्जित राष्ट्रिय लज्जाले मुलुकमा भ्रष्टाचार मौलाएको उनको आरोप छ । उनले भारतमा नेपाली विद्यार्थीमाथि त्यहाँको शैक्षिक संस्थाबाट भएको ज्यादतीविरुद्ध सरकारले बेलैमा पहल लिन नसकेकोमा पनि असन्तुष्टि जनाए ।

कान्तिपुर

Link copied successfully