शाक्यवंशीय राजधानीको सभ्यता चिनाउन हुलाक टिकट

प्रजातन्त्र दिवसका अवसरमा हुलाक सेवा विभागले निकाल्यो पञ्चमार्क मुद्राअंकित हुलाक टिकट

फाल्गुन ६, २०८१

मनोज पौडेल

A postage stamp to mark the civilization of the Sakya dynasty capital

काठमाडौँ — शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) को २८ सय वर्षअघिको सभ्यता चिनाउन पञ्चमार्क मुद्रा अंकित हुलाक टिकट प्रकाशन गरिएको छ । प्रजातन्त्र दिवसका उपलक्ष्यमा हुलाक सेवा विभागले १० रुपैयाँको टिकट प्रकाशन गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मंगलबार टिकटमा प्रथम अनावरण टाँचा लगाए । 

सन् २०१६ मा तिलौराकोट दरबारबाहिर कन्थक स्तुपदेखि २० मिटर दक्षिणमा उत्खनन गर्दा ४९७ वटा पञ्चमार्क मुद्रा एक मिटर गहिराइमा माटोको भाँडोभित्र फेला परेको थियो । यो चाँदीको मुद्रा हो ।

शाक्य गणराज्य तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको ठाउँ तिलौराकोट प्राचीन छ भन्ने कुरा विश्वसामु ल्याउन पुरातत्व विभागले हुलाक सेवा विभागलाई टिकट प्रकाशन गर्न सिफारिस गरेको थियो । त्यसैका आधारमा सञ्चार मन्त्रालयले २०८१ माघ ६ गते टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । पञ्चमार्क मुद्रा मौर्य र सुङ्गकालका बेला ईशापूर्व चौथोदेखि दोस्रो शताब्दीसम्म प्रचलनमा रहेको वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीेले बताए । त्यतिखेर गणतन्त्रात्मकदेखि राजतन्त्रात्मक १६ जनपद (सहर) थिए । ‘तिनमा पञ्चमार्क मुद्रा चलन चल्तीमा थियो । सबैका आआफ्नो चिह्न अंकित मुद्रा हुन्थे । त्यसैका आधारमा कुन जनपदको मुद्रा हो भनेर चिन्ने गरिन्थ्यो,’ उनले भने, ‘यहाँ टिकट प्रकाशन गरिएको मुद्रा कपिलवस्तु गणराज्यको हो ।’

विभिन्न किसिमका चिह्न राखेर पहिचान गर्न सजिलो हुने गरी मुद्रा झिकिन्थ्यो । यो मुद्रा चाँदीको सिक्काजस्तै हुन्छ । तर, एकनासको नभएर कुनै चारपाटे, कुनै गोलो हुन्छ ।

विश्वमै शान्ति, करुणमैत्री र सद्भाव दिने स्थलको सन्देश बोकेको ठाउँको टिकट प्रकाशनले प्राचीन नगरवासी गौरवान्वित महसुस गरेको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताए । यसले यहाको पुरातात्विक महत्वलाई विश्वसामु चिनाउने काम गरेको उनको भनाइ छ ।

मुद्राको आकर्षक डिजाइन गरेर टिकट प्रकाशन गरिएको छ । पुरातत्वविद् तथा सम्पदाविद्सँगको सुझावका आधारमा हुलाक सेवा विभागकी कला अधिकृत पूर्णकला लिम्बूले डिजाइन गरेर अन्तिम रुप दिएकी हुन् । ५ लाख मूल्य बराबरको ५० हजार प्रति टिकट छापिएको छ । टिकट मंगलबारबाट प्रचलनमा आएको छ ।

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने पहल भइरहेका बेला राज्यले प्राथमिकता दिई हुलाक टिकट प्रकाशन गर्दा राम्रो सन्देश गएको लुम्बिनी विकास कोषका विश्व सम्पदा शाखा प्रमुख तथा वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । ‘यही फेब्रुअरी २८ भित्र युनेस्को मुख्यालय पेरिसमा तिलौराकोटबारे थप डकुमेन्ट बुझाउँदैछौं,’ उनले भने, ‘त्यसमा यो थपेर पठाउँदा प्रभावकारी हुन्छ ।’

सन् २०२५ जुलाईमा बुल्गेरियाको सोफियामा हुने युनेस्कोको ४७ औं सेसनमा तिलौराकोटलाई विश्व सम्पदा प्रस्ताव गर्नेबारे छलफल हुँदै छ । तिलौराकोटमा सन् २०१६ अघि पनि जापानी पुरातत्वविद् जुराईयो नाकामुरा र नेपाली पुरातत्वविद् बाबुकृष्ण रिजालका पालामा उत्खनन गर्दा प्रशस्त पञ्चमार्क मुद्रा पाइएको थियो । टिकट कागजको टुक्रा मात्र नभएर देशको पहिचान र इतिहास जगेर्ना   गर्ने महत्वपूर्ण दस्ताबेज रहेको सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए । कपिलवस्तुको प्राचीन ऐतिहासिकता स्थापित गर्न यो हुलाक टिकट कोशेढुंगा बनेको उनले बताए । 

मनोज

Link copied successfully