दाङ — प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेशसभाको बैठकलाई सोमबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताएका हुन् ।
'चालीस वर्षअगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले आफ्नै मिहिनेतले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने, 'कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिमाणमा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ ।'
उद्योगहरू स्थापनामा लगानी विस्तार गर्नुपर्ने र त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गर्नुपर्ने उनले बताए । 'तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ,' उनले भने, 'कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’
प्रधानमन्त्री ओलीको विशेष सम्बोधन जारी रहेको छ ।
