काठमाडौँ — सभामुख देवराज घिमिरेले सांसदहरूलाई बोल्नबाट बन्देज लगाउने प्रयास गरिरहेको रास्वपाकी सांसद सोबिता गौतमले आरोप लगाएकी छन् । निष्पक्ष हुनुपर्नेमा सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई बोल्नबाट बारम्बार रोकिरहेको गौतमले सामाजिक सञ्जालमा लेखेकी छन् ।
सभामुख घिमिरेले सांसदले बोल्नबाट रोकिरहेको सांसद गौतमले सोमबार सामाजिक फेसबुकमा लेखेकी छन् । 'संसद् जनताको आवाज हो, अन्यायका कुरा उठाउने, उत्तर खोज्ने ठाउँ हो । तर सांसदले बोल्नुअघि नै आवाज नै बन्द गर्ने प्रयास किन गरिन्छ मैले बुझेको छैन,' गौतमले लेखेकी छन्, 'सांसदले आकस्मिक समय माग गर्दा सभामुखले पहिले 'के बोल्न लागिएको छ ?' भनेर थाहा पाउन खोज्नुहुन्छ, अनि हामीले बोल्न पाउने कुरा उहाँकै छनोटमा सीमित हुन्छ । संसद् भनेको विचारको खुला मञ्च हो तर किन सभामुख आफैंले यसलाई घेराबन्दी गर्न खोज्नुहुन्छ ?'
सभामुख घिमिरे संसद्मा पक्ष लिएर प्रस्तुत हुन लागेको सांसद गौतमको भनाइ छ । 'सभामुख त अम्पायर जस्तो, खेललाई न्यायसंगत बनाउने व्यक्ति हो । तर जब उहाँ स्वयं खेलाडी बन्न खोज्नुहुन्छ, न्यायको तराजु आफैं ढल्कन्छ,' गौतमले लेखेकी छन्, 'सभामुखले यो व्यवहार जारी राखे स्वतन्त्रता बन्धनमा पर्नेछ र प्रतिरोधको स्वर अझ चर्को भएर गुञ्जिरहनेछ ।'
संसद्मा सरकारले गरेका गल्तीका सम्बन्धमा बोल्न खोज्दा सभामुखले समय नदिने गरेको गौतमको भनाइ छ । उनले लेखेकी छन्, 'यो अधिवेशनको पहिलो बैठकमा बोल्न नदिएको कारण रास्वपाका सबै सांसदहरू बोल्न पाउनुपर्ने मागसहित उठेका थियौँ । तर, हाम्रो माग र आपत्तिको बाबजुद पनि निसंकोच संसद् चलाइएपछि प्रतिकात्मक विरोधस्वरूप हामीले १५ मिनेट संसद् बहिष्कार गर्यौं । यति हुँदासमेत सभामुखले कुनै अप्ठ्यारो नमानी सहजै संसद् सञ्चालन गर्नुभयो ।'
संसद्को चौथो दलको विरोधलाई सुन्नका लागि सभामुखले कुनै पहल नगरेको पनि उनले भनेकी छन् । संसद्मा उठ्ने प्रश्न रोकेर सभामुखले सफल भएको ठान्नु गलत रहेको गौतमको भनाइ छ । त्यस्तो व्यवहारले संसदीय व्यवस्थामाथि नै प्रहार हुने उनले लेखेकी छन् ।
सभामुख घिमिरेले सोमबारको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न रोकेका थिए । आकस्मिक समयमा भारत ओडिसाको राजधानी भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीमाथि भएको व्यवहारको विषयमा सदनमा बोल्न खोजेकी थिइन् । त्यस्तै, सांसद गौतमलाई यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले विधायनसम्बन्धी विधेयक पारित गर्ने क्रममा संसदीय परम्परा मिचेको विरोधमा बोल्न खोजेकी थिइन् तर सभामुखले समय नै दिएनन् । आइतबारको बैठकमा स्वतन्त्र सांसद प्रभु साहले नियमापत्ति गर्न खोज्दा पनि समय दिएका थिएनन् ।
