लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओली दाङको देउखुरीमा

आजै घोराहीमा एमालेले आयोजना गरेको जनसभालाई पनि सम्बोधन गर्ने

फाल्गुन ५, २०८१

घनश्याम गौतम

Prime Minister Oli Dang at Deukhuri for a special address in the Lumbini State Assembly

बुटवल — प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको ११औं बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आइपुगेका छन् । उनलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर र प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गरे ।

नेपाली सेनाका हेलिकप्टर चढेर देउखुरी आइपुगेका प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको एघारौं बैठकलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभापछि प्रधानमन्त्री ओली नेकपा एमालले दाङको घोराहीमा आयोजना गरेको जनसभामा जाने र त्यसपछि तुलसीपुरमा प्रतिनिधिसभा सदस्य कोमल वलीले सन्चालन गरेको रिसोर्ट उद्घाटन गरेर काठमाडौं फर्किने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्न लागेको यो दोस्रो पटक हो । यसअघि २०७५ वैशाख १६ मा पनि प्रधानमन्त्री रहेकै बेला लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गरेका थिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully