शोकमा प्रकृतिको परिवार

ओडिसाको केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला

फाल्गुन ५, २०८१

सन्जु पौडेल

Nature's family in mourning

बुटवल — सुनिल लम्साल काठमाडौंबाट आइतबार हतारहतार भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरतिर लागे । त्यहाँको कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत छोरी प्रकृति लम्सालको मृत्यु भएको खबर पाएपछि उनी त्यता गएका हुन् ।

अप्रत्याशित रूपमा छोरीको मृत्युको खबर पाएपछि प्रकृतिको परिवार शोकमा डुबेको छ । प्रकृति कलेजको होस्टलमा मृत फेला परेको खबर कलेजमा पढ्ने अन्य नेपाली विद्यार्थीले परिवारसमक्ष पुर्‍याएका थिए । परिवारका एक सदस्यले कान्तिपुरलाई सोमबार बिहान बाबु सुनिल प्रकृतिको शव राखिएको अस्पतालमा पुगेको बताएका छन् । उनका अनुसार मृतकको मंगलबार मात्रै पोस्टमार्टम गरिने भएको छ । 

परिवारका अनुसार दसैं बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज पुगेकी उनी घर आएकी थिइनन् । प्रकृतिलाई मानसिक तनाव दिएर यस्तो घटनासम्म पुर्‍याइएको फुपू सीता ढकालले बताइन् । प्रकृतिले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको ढकालको भनाइ छ । ‘गम्भीर घटनालाई कलेजले बेवास्ता गरेका कारण यस्तो भयो,’ उनले भनिन् । 

रुपन्देहीको सिद्धार्थनगर-८, बैंक कलौनी घर भए पनि दस वर्षयता प्रकृतिका बाबु सुनिल र आमा सरिता काठमाडौंमा बसेर मसला उद्योग चलाइरहेका छन् । एक्ली छोरी प्रकृतिको मृत्युले परिवार आहत छ । फुपू ढकालले पढ्न गएकी भदैनीको घटनाबारे गम्भीर छानबिन र दोषीमाथि कडा कारबाही हुनुपर्ने बताइन् । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully