पोखरामा सुरक्षा प्रोटोकलमा लापरबाही, काठमाडौंमा स्वास्थ्य प्रोटोकलमा बलमिच्याइँ, आईसीयूमा नेताको लर्को

कमलपोखरीस्थित सानदार मःम पसलमा भएको विस्फोटमा घाइते भएका ७ जनाको उपचार पनि कीर्तिपुरको जलन अस्पतालमा नै भइरहेको छ, घाइते ४ जना श्रमिकको भने मृत्यु भइसकेको छ 

फाल्गुन ५, २०८१

राजु चौधरी

Negligence in security protocol in Pokhara, Violation in health protocol in Kathmandu, leader in ICU

काठमाडौँ — ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा शनिबार झिरझिरे क्यान्डलको झिल्काले भेटर बेलुनको झुप्पा पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य कीर्तिपुर अस्पतालमा उपचाररत छन् । सघन उपचार कक्ष (आईसीयू) मा राखिएका उनीहरूलाई भेट्न विशिष्ट व्यक्तिहरूको लर्को लागिरहेको छ । 

घटनालगत्तै मन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई हेलिकोप्टर चार्टर्ड गरेर कीर्तिपुर अस्पताल ल्याइएको थियो । लगत्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेल अस्पताल पुगेका थिए । 

आइतबार भने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, ऊर्जामन्त्री दीपक खड्का, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत उच्चपदस्थ अधिकारीले उनीहरूलाई भेटे । उच्चपदस्थको लर्को लागेपछि अस्पतालले संक्रमणको जोखिम हुने भन्दै आइतबार सूचना जारी गरेर भेटघाटमा रोक लगाएको छ । 

त्यही अस्पतालमा साताअघि काठमाडौं, कमलपोखरीस्थित सानदार मःम पसलमा सिलिन्डर विस्फोट हुँदा घाइते भएका मजदुरको उपचार भइरहेको छ । माघ २४ को विस्फोटमा परेका ११ जनालाई कीर्तिपुर अस्पतालमा लगिएकामा उपचारका क्रममा चार जनाको मृत्यु भइसकेको छ । अहिले दुई जनालाई आईसीयूमा र पाँच जनालाई जनरल वार्डमा राखेर उपचार गरिँदै छ । 

सानदार मःम पसलमा भएको विस्फोटमा परी घाइते भएका १८ वर्षीय रविन राई, २२ वर्षीय प्रदीप तामाङ, २५ वर्षीय भीमबहादुर घले र २५ वर्षकै छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको हो । मनीष पोखरेल (१८), यशकुमार घले मगर (१९), तीर्थ मगर (१८), रोहन लामा (१८), आयुष मगर (१८), धनबहादुर तामाङ र सञ्जोग राना मगरको कीर्तिपुरमा उपचार भइरहेको छ । उनीहरू सबै सानदार मःम पसलका श्रमिक हुन् । 

मःम पसलको ‘अन्डरग्राउन्ड’ कोठामा ग्यास सिलिन्डर भण्डारण गरिएको थियो । मःम पसलका कामदारले त्यही कोठामा खाना पकाउने गर्थे । खाना पकाउने तयारी गर्दा नै आगो लागेर उनीहरू घाइते भएका हुन् । कोठामा रहेको सिलिन्डरबाट ग्यास लिक भएको र लाइटर बाल्दा वा स्विच थिच्दा त्यसले आगो टिपेको प्रारम्भिक अनुमान छ । 

दुर्घटनाका बारेमा नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले अध्ययन गरिरहेको छ । ‘अघिल्लो दिन बेलुका ग्यास सिलिन्डर राम्रोसँग बन्द नभएर ग्यास लिक भएको हुनुपर्छ वा खाना पकाउन चुलोमा ग्यास खोलेर लाइटर खोज्न हिँडेको हुनुपर्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । 

सानदार मःम पसलमा भएको आगलागीको घटनाले सुरक्षा मापदण्ड निर्माण र अनुगमन गर्ने निकायको कमजोरी देखाएको छ । काठमाडौंमा मःम पसलको संख्या बर्सेनि बढे पनि सरकारसँग आधिकारिक तथ्यांक छैन । अधिकांश मःम पसलले सामान्य मापदण्डसमेत अपनाएको पाइँदैन र त्यसका लागि उनीहरूलाई कसैले कारबाही पनि गर्दैन । 

जानकारका अनुसार चुलो र सिलिन्डरको दूरी कम्तीमा डेढ मिटर टाढा हुनुपर्छ । चुलो उचाइ भएको ठाउँमा राख्नुपर्छ । तर प्रायःले चुलो र सिलिन्डर सँगसँगै राखेर मःम बनाउने गर्छन् । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल भन्छन्, ‘मःम पसल कसरी चलाउने भन्ने मापदण्ड नै छैन ।’ मःम पसलका हकमा मापदण्ड नै नबनेको खाद्य विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए । मःम पसलजस्ता साना पसल स्थानीय तहको जिम्मामा रहेको उनको भनाइ छ । 

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले मःम पसल सञ्चालनसम्बन्धी मापदण्डबारे आफूलाई थाहा नभएको बताउँछन् । महानगरका सूचना अधिकारी वसन्त आचार्यले पसल (मःम पसल) सञ्चालनका लागि मापदण्ड नभएको बताए । 

 उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले हरेक व्यवसायको मापदण्ड, अनुगमन र नियमन जरुरी रहेको बताउँछन् । व्यवसायीलाई जिम्मेवार बनाउन मापदण्ड अनिवार्य रहेको उनको भनाइ छ । ‘साना पसलसँगै हाटबजारमा पनि जथाभाबी सिलिन्डर राखेर पकाइन्छ । त्यसको पनि नियमन जरुरी छ,’ अध्यक्ष भण्डारी भन्छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पसल सञ्चालकको हेलचेक्र्याइँका कारण उपभोक्ता जोखिममा पर्ने गरेको बताए । पसल सञ्चालनका क्रममा ग्यास कसरी प्रयोग गर्ने भन्ने सचेतना फैलाउनुपर्ने उनको भनाइ छ । ‘अति संवेदनशील ग्यास सिलिन्डर सधैं जोखिमपूर्ण हुन्छ, सानो लापरबाहीले दुर्घटना भइराखेको छ,’ उनले भने, ‘पसलहरूलाई जिम्मेवार बनाउन नियमन गर्नुपर्छ ।’

मुलुकभर ५९ ग्यास उद्योग छन् । ग्यास उद्योगले सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक परीक्षण गर्नैपर्छ । त्यसपछि ५ वर्ष र ३ वर्षमा परीक्षण गर्नुपर्छ । ग्यास सिलिन्डरको हाइड्रोलिक/हाइड्रोस्टाटिक प्रेसर टेस्ट, रेगुलेटर र कमसल पाइपमा समस्या एवं सचेतनाका कमीले दुर्घटना हुन्छ । 

‘सर्वसाधारणले एनएस चिह्न भएको रेगुलेटर, तारले जेलिएको रबरको पाइप र गुणस्तरीय चुलो प्रयोग गर्नैपर्छ,’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘प्रायः कमसल भल्भबाट ग्यास लिकेज भएर आगलागी हुन्छ । यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी छ ।’

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully