अन्य केही पार्टीलाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

फाल्गुन ५, २०८१

कान्तिपुर संवाददाता

Efforts are being made to bring some other parties into the government: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेशसभाको एघारौं बैठकलाई सोमबार विशेष सम्बोधन गर्दै उनले दुई ठूला दलको सरकारले कमजोर बनेको अर्थतन्त्र र देशको अवस्थालाई सुधार गर्ने प्रयास गरिरहेको प्रस्ट्याए ।

‘देशको अर्थतन्त्र कमजोर छ । थप कमजोर बन्दै छ,’ उनले भने, ‘त्यसको सुधारका लागि मेरो नेतृत्वको सरकारले सम्हाल्दै छ । गत वर्ष २४ प्रतिशत कम राजश्व संकलन भएकामा अहिले केही बढेको छ ।’ देश धेरै अप्ठ्यारो परिस्थितिमा रहेको र त्यसलाई सम्हाल्दै अघि बढ्नुपरेको पनि उनले बताए । ‘देश अप्ठ्यारोमा नपरेको भए, अर्थतन्त्र ओरालो नलागेको भए, दैनिक विदेशिने युवाको संख्या नबढेको भए,’ उनले भने, ‘एक्लै बहुमत ल्याउन सक्ने दुई ठूला दल मिल्न जरुरी नै थिएन ।’ अन्य केही पार्टीलाई पनि सरकारमा मिलाउने प्रयास भइरहेको र देश बनाऔं भन्ने एक मात्र नीति लिएर आफूहरु अघि बढेको उनको भनाइ थियो । 

सरकार ढलाउनुपर्ने कुनै कारण नरहेको र बेला आएपछि कसैले ढलाउनै नपर्ने उनको भनाइ थियो । ‘१७ महिना अझै प्रधानमन्त्री हुन्छु, केपी ओलीलाई हटाउन कुनै बल लगाउनु पर्दैन,’ उनले भने, ‘बेला आएपछि आफै छोड्छु, बेला नआउँदासम्म कुनै तोप नै हाने पनि प्रधानमन्त्री ढल्दैन, १७ महिनापछि बल लगाउनै पर्दैन ।’

प्रधानमन्त्री ओलीले देशभित्रै ठूलो फलामखानी रहेको र नवलपरासीको धौवादी फलाम खानी सरकारले अबको २ वर्षभित्रै सञ्चालनमा ल्याउने बताए । ‘२ वर्षभित्र आफ्नो फलाम खानीलाई उत्खनन गरेर प्रशोधन थाल्छौं,’ उनले भने, ‘त्यसपछि स्वदेशमै ट्र्याक्टरदेखि मोटरसाइकल कारखाना खुल्नेछन् ।’ विश्व ईभीबाट ग्रिन हाइड्रोजनमा प्रवेश गरिसकेकाले नेपालले पनि त्यसको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully