काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको आइतबारको बैठकमा १० सांसदले दर्जनौं प्रश्न राखे । तर, त्यसमध्ये केही जवाफ पाए भने केहीको प्रतिप्रश्न । सांसद प्रभु साहले भने जवाफ नै पाएनन् ।
बैठकमा सांसदका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने यसअघि नै तय भएको थियो । झन्डै साढे १ घण्टा सांसदका प्रश्नका जवाफ दिएका ओलीले अन्तिम प्रश्नको भने जवाफ दिएनन् । स्वतन्त्र सांसद साहले सोधेका प्रश्नमा उनी आक्रोशित भएका थिए । साहले प्रधानमन्त्रीलाई सोध्न ८ वटा लिखित प्रश्न संसद् सचिवालयलाई बुझाएका थिए ।
नेपाली नागरिकता त्यागेर विदेशी हुनेको संख्या र उनीहरूको पैत्रिक सम्पत्तिको अवस्थाबारे सांसद साहले जानकारी मागेका थिए । ‘झन्डै ७० लाखभन्दा बढी नेपाली युवा अहिले वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम सम्झौताअनुसार प्रत्येक वर्ष झन्डै ४० खर्बभन्दा बढी रेमिट्यान्स आउनुपर्ने हो । तर, यो वर्ष जम्मा १३–१४ खर्ब आउने सम्भावना छ । युवाले विदेशमा खुन–पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ?’ साहको प्रश्न थियो ।
उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे पनि प्रश्न गरेका थिए । ‘तपार्इंले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदै छु भन्नुभएको थियो, त्यो भनेको कहिले हो ? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ?’ उनको प्रश्न थियो । अध्यादेश स्वीकृत हुन नसकेका विषयमा पनि साहले प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘उहाँका प्रश्नहरू मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनकसमेत रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषा ? तपाईंलाई के लाभ भयो विदेशमा युवा पठाएर, जस्तो भाषा– कि म म्यानपावर कम्पनीको मान्छे हुँ ? अहिले म सरकारमा आएपछि, ८ महिनाबाट सुरु भएको हो ? तपाईंले भन्या ७० लाख ८ महिनामा गएका हुन् ?’ प्रतिप्रश्न आएपछि साहले नियमापत्ति गर्न समय माग गरे पनि सभामुख देवराज घिमिरेले समय दिएनन् । त्यसपछि प्रधानमन्त्री ओलीले उनको प्रश्नमा जवाफ दिइरहनु नपर्ने बताएका थिए ।
प्रधानमन्त्रीलाई पहिलो प्रश्न एकीकृत समाजवादीका प्रकाश ज्वालाले सोधेका थिए । उनले १६५ निर्वाचन क्षेत्र रणनीतिक सडक र पालिका अस्पताल बजेट अभावमा अलपत्र रहेको भन्दै आगामी दिनमा कसरी काम सम्पन्न गर्ने योजना छ भनेर सोधेका थिए । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सल्यानलगायत जिल्लामा आवास नभएका विषयमा पनि उनले प्रश्न गरेका थिए ।
जवाफमा ओलीले भने, ‘निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालहरूको आवश्यकता महसुस गरी सोको निर्माणको सुरुवात गरेको थिएँ । तर, त्यसको केही समयपछि नै सरकार परिवर्तन भयो र म बाहिरिएँ । त्यसपछि आउने सरकारहरूले ती कार्यक्रमहरू रद्द गरे । निर्माण रोकियो । प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । कार्यक्रमहरू रद्द गर्नेले नै फेरि त्यसको प्रगति खोज्ने हामीमा अनौठो संस्कार छ ।’
सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको उनले बताएका थिए । जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको जानकारी प्रधानमन्त्रीले दिएका थिए ।
एमाले सांसद प्रतीक्षा तिवारीले मधेश प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न सरकारले लिएका पहलबारे सोधेकी थिइन् । प्रधानमन्त्रीले भनेका थिए, ‘यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशील बनाइएको छ ।’
माओवादी सांसद वर्षमान पुनले अर्थतन्त्रमा देखिएको शिथिलताबारे प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नुभएकोमा यसअघिका अर्थमन्त्रीसमेत रहनुभएका प्रश्नकर्तालाई धन्यवाद । ७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो । त्यस समयभन्दा अगाडि र त्यसयताको मूल्यवृद्धिको अनुपात हेर्न म उहाँलाई अनुरोध गर्छु ।’
कांग्रेस सांसद प्रतिमा गौतमले ठूला राष्ट्रिय परियोजना दशकसम्म अधुरै रहने समस्यालाई समाधान गर्न सरकारको प्रयासबारे प्रश्न गरेकी थिइन् । प्रधानमन्त्री ओलीले स्रोतको अभाव हुन नदिन रकमान्तरमार्फत बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने गरिएको जवाफ दिएका थिए ।
