अछाम आक्रमणको २३ वर्ष
अछाम — माओवादी 'जनयुद्ध'ताका कैयौंले ज्यान गुमाए। अंगभंग भए। धेरैको अझै खुटखबर छैन। आफन्तले पनि बेपत्ता भएकाहरु फर्केर आउने आस मारिसके। तर अंगभंग भएकाहरुले उपचारको आस मारेका छैनन्। बिनाकारण मारिएका परिवारका सदस्य अझै राहत कुरिरहेका छन्।
२०५८ फागुन ४ मा अछामले भयानक आक्रमण भोग्यो। जसलाई जनयुद्धको ठूलो क्षति मानिन्छ भने माओवादीका लागि 'सफल आक्रमण'। यो घटना एउटा इतिहास बन्यो। तर, युद्धको घाउ बल्झिन छाडेको छैन।
सोही आक्रमणमा परेर मंगलसेन नगरपालिका-५ का रुपराज ढुंगानाले ज्यान गुमाए। उनका २ छोरा र एक छोरी छन्। छोरी रमिता त गर्भमै थिइन्। तर यो परिवारले पनि अहिलेसम्म राहत पाएको छैन। 'दुई वर्ष अगाडि बुवालाई सरकारले सहिद घोषणा गरेको हो। तर अहिलेसम्म हामीले केही राहत पाएका छैनौं,’ रुपराजका छोरा नवीनले भने, 'मेरो बुवा सरकार पक्ष पनि होइन। माओवादी पक्ष पनि होइन। आफ्नो काम गरी खाने मान्छेलाई मारिदिए। हामी टुहुरा भयौं । आज (फागुन ४) हाम्रा लागि कालो दिन हो।'
मंगलसेन आक्रमणमा परेर गम्भीर घाइते भएकी मंगलसेन-५ की जानु ढुंगाना अहिले पनि जीवन सहज तरिकाले चलाउन सकिरहेकी छैनन्। त्यो घटना सम्झँदा अहिले पनि दिमागले काम गर्दैन भन्छिन् उनी। 'अझै पनि शरीरभरि बन्दुकका छर्रा छन्। म लगायत पूरै परिवार अपांग नै भएको छ,' उनले भनिन्।
उनका अनुसार अघिल्लो दिन घरमाथि रहेको कारागारमा फायरिङ भएको थियो। दुई घरको बीचमा रहेको धारामा भाइहरु पानी लिन गएका थिए। लगत्तै माओवादीले छाडेको बम पड्कियो । त्यही घटनाबाट घाइते उनका दाइ रोहित ढुंगानाले सम्झिए, 'एकाएक बन्दुकका छर्रा गाउँभरि पुगे, आँगनमा बसिरहेका म लगायत ९ जना घाइते भयौं। हामी सरकार पक्ष न विद्रोही। अनाहकमा यस्तो भोग्नुपर्यो।' उनका अनुसार घाइते भएका सबैको अंगभंग भएको छ। मानसिक रुपमा क्षति पुगेको छ।
‘प्रहरीले माओवादीले राखेको बम हो भन्यो, माओवादीले एक शब्द बोलेन। अहिलेसम्म घटनाको जिम्मेवारी कुनै पक्षले लिएको छैन। न हामीले राहत नै पाएका छौं,’ उनी भन्छन्। तत्कालीन अवस्थामा ठूलो देखिने घाउको उपचारको जिम्मा सरकार पक्षले लिए पनि उपचार पूरा नगरी बीचमै छाडिदिएको उनले गुनासो गरे। आफूहरु शरीरिक र मानसिक रुपमा निकै पीडामा रहेको उनले सुनाए। 'घाइते भएका हामी ९ जनालाई कसरी बचाउने भन्ने चिन्ता परिवारमा थियो तर सरकारलाई उपचार गरेको बिल अगाडि दिनुपर्ने भयो। हाम्रा लागि बोलिदिने कोही भएनन्। सरकारले उपचार गर्न बीचमै छाड्यो,' उनले भने, 'अहिलेसम्म हामी आफ्नै खर्चले उपचार गरिरहेका छौं। शरीरमा छर्रा छन्, भित्र छिरेका टुक्रा अझै निकाल्न सकिएको छैन।’
उनका अनुसार सरकारले निकालेको द्वन्द्वपीडितको सूचीमा ढुंगाना परिवारका ३ जना मात्रै परे। सामान्य जाँचले घाउ निको नहुने भएपछि घाइतेहरु घरमै बसेका छन्। 'अलिअलि उपचार त गरियो, हामी त जीवनभर पीडामा छौं,' जनयुद्धमा बन्दुक लागेर घाइते भएका भूमिनन्द ढुंगानाले भने, ‘हाम्रो शरीरमा अझै बन्दुकका छर्रा छन्।’
उनका अनुसार घटनामा ज्यान गुमाएका १२ वर्षीय खेमराज, १४ वर्षीय प्रकाश र १९ वर्षीया मनसराका परिवारलाई सरकारले जनही १० लाख दियो। तर घाइतेहरुले राहत अहिलेसम्म पाएका छैनन्। २०७० मा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले घाइते भएका भूमिनन्द ,रोहित र जानुलाई पहिलो किस्ताबापत २० प्रतिशत भन्दै जनही ४० हजार दिएको थियो। '८ मध्ये ३ जनाले अहिलेसम्म ४० हजारका दरले पाएका छौं। राहतका नाममा अरु केही पाइएको छैन,' उनले भने, 'घटना भएको २३ वर्ष पुग्यो, हाम्रा आँखामा बगेका आँसु कुनै सरकाले देखेन।’
राहत दिने आश्वासनमा नेताहरुले झुटो बोलेको र पीडितका नाममा आएको राहत पहुँचवालाले आफ्नो नियन्त्रणमा लिएको उनको भनाइ छ। ‘राहतका लागि सयौं पटक फाराम भरियो। तर राहत त आफ्नै अगाडि राजनीतिक दलका नेताहरुले लिएको देख्छौं। यहाँ बोल्न नसक्नेको कोही नहुने रहेछ,' उनले भने, ‘जति आउँछन्, घटनाका बारेमा सोध्छन्। हाम्रा पीडामाथि खेलबाड गर्छन्। आश्वासन मात्रै दिन्छन्।’
पुरानो स्वरुपमा फर्कियो अछाम दरबार
अछामको ऐतिहासिक दरबार ध्वस्त भएको पनि आइतबार २३ वर्ष पूरा भएको छ। मंगलसेनको गहनाका रुपमा रहेको दरबार तत्कालीन विद्रोही माओवादीले ध्वस्त पारेपछि बजार नै अधुरो र सुनसान भएको मंगलसेनका ८० वर्षीय कपुरे नगार्जी बताउँछन्। ‘ढिलै भए पनि अब दरबार बन्छ कि जस्तो लागेको छ। पुरानो संरचना दरबारको जस्तो थियो। अहिले लगभग त्यही स्वरुपमा देखिएको छ,' उनले भने, ‘यो दरबारसँग अछामको पूरै इतिहास जोडिएको छ। दरबार ठडिँदा इतिहास नै एकपटक फेरि उठेको जस्तो महसुस भएको छ।’
माओवादी आक्रमणमा ध्वस्त भएको अछाम दरबार र १ सय २२ जनाको मृत्यु भएको स्थान मंगलसेन बजार । तस्बिर : मेनुका ढुंगाना/कान्तिपुर
२०६७ सालमै निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र, साउद, तुल्छिदुर्गा, बडिमालिका र कुँवर निर्माण कम्पनीको जेभीमा दरबार दुई करोड २५ लाखमा ठेक्का स्वीकृत भएको थियो। सुरुमा मीनबहादुर कुँवरका नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरु निर्माण कम्पनी केही रकम लगेर बाहिरिए। हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्ट्रक्सनले लिएको छ।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो। आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसमेत मारिएका थिए। घटनामा क्याप्टेनसहित ५३ सैनिक, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो।
अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसैनका तत्कालीन राजा टीकाभुक शाहका पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहका पालामा १९३५ सालमा निर्माण सम्पन्न भएको मंगलसेन-५ का चन्द्रमणि भाटले बताए।
अछामी इतिहासका जानकार सुरतबहादुर शाहका अनुसार सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेका थिए। योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको उनले बताए। तीनतले दरबारमा ३० कोठा थिए ।
