पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रमको उद्घाटनमा झिर्झिरे क्यान्डलको झिल्काले हाइड्रोजन ग्यास भरिएको बेलुनको झुप्पा भेट्दा पड्कियो, मन्त्री पौडेल र मेयर आचार्यको अनुहार तथा हातमा जलन
काठमाडौँ — ‘पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनमा शनिबार बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन । कार्यक्रम उद्घाटनका क्रममा मन्त्री पौडेलले डिजिटल माध्यमबाट बालेको झिर्झिरे क्यान्डलको झिल्काले भेटेर बेलुनको झुप्पा पड्किँदा उनीहरू घाइते भएका हुन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा कार्यक्रममा डिजिटल स्विच अन गरेर दियो र झिर्झिरे क्यान्डल बालिएको थियो । त्यसलगत्तै भ्रमण वर्ष लेखिएको ब्यानरसहितका बेलुनहरू उडाउन खोजिएको थियो ।
त्यस क्रममा मन्त्री पौडेल र मेयर आचार्यले समातेको बेलुनको झुप्पालाई आगोको झिल्काले भेटेको थियो । ती बेलुनमा हाइड्रोजन ग्यास भरिएको थियो । ‘बेलुनमा हिलियम ग्यास भर्नुपर्नेमा हाइड्रोजन भरिएको रहेछ । हामीलाई यस विषयमा ख्याल नै भएन । दुर्घटनापछि मात्र थाहा भयो,’ महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले भने ।
बेलुन पड्किँदा आगोले पोलेर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेर हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको छ । कीर्तिपुर अस्पतालका अनुसार प्रारम्भिक परीक्षणअनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख तथा उपचार टोलीका सदस्य डा. विशाल कार्कीका अनुसार मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन छ भने मन्त्री पौडेलको दुवै हातमा सामान्य पोलेको छ, अनुहारमा पनि केही जलन ।
डा. कार्कीले अहिले घाउ सामान्य देखिए पनि गहिरो हुन सक्ने जोखिम रहेको बताए । ‘घाउ गहिरो हुन्छ वा हुँदैन भन्नेबारे ३–४ दिनपछि मात्र थाहा हुन्छ,’ उनले भने, ‘त्यसबेलासम्म ड्रेसिङ गर्छौं, आवश्यक औषधि दिन्छौँ । अहिले भने अवस्था सामान्य छ ।’ घाउ बढे अपरेसन गर्नुपर्ने, नत्र औषधिले नै बिस्तारै निको हुने उनले बताए ।
कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य । तस्बिर : कान्तिपुर
डा. कार्कीका अनुसार बेलुन पड्किँदा धूवाँ निक्लिएका कारण पहिलो ४८ घण्टा उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । ‘अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्छ,’ उनले भने, ‘त्यसैले उहाँहरूलाई आईसीयूमा राखेका छौं ।’
पोखराको घटनापछि सार्वजनिक कार्यक्रमको सुरक्षा मापदण्डका विषयमा प्रश्न उठेको छ । घाइते भेट्न कीर्तिपुर अस्पताल पुगेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यस्ता कार्यक्रम आयोजना गर्दा सुरक्षा मापदण्ड कडाइका साथ अपनाउनुपर्ने बताए । ‘आयोजकले के गर्नुपर्ने, के गर्न उचित नहुने भन्नेमा ध्यान दिनुपर्छ,’ उनले भने ।
गृहमन्त्री रमेश लेखकले कार्यक्रममा बेलुन उडाउने सवालमा सचेत हुनुपर्ने बताए । ‘दुर्घटना आकस्मिक रूपमा हुन्छ, अबदेखि यस्ता घटना दोहोरिन नदिने गरी व्यवस्था मिलाउनुपर्छ । यस्ता कार्यक्रममा ख्याल गर्नुपर्छ,’ उनले भने, ‘यस्ता घटना कुनै पनि ठाउँमा नदोहोरिने गरेर व्यवस्था मिलाउन हामी लाग्छौं ।’
