नागरिकमा बढेको निरासा हटाउन सरकारले काम गर्छ : उपप्रधानमन्त्री सिंह

फाल्गुन ३, २०८१

सन्जु पौडेल

The government will work to remove the growing frustration among the citizens: Deputy Prime Minister Singh

तिलोत्तमा — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकमा बढेको निरासा हटाउन सरकारले काम गर्ने बताएका छन् । उनले देशमा समृद्धि ल्याउन र विकास गर्न अहिलेको सरकार लागिपरेको बताए । 

शनिबार बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थायित्व दिएर देशलाई समृद्ध बनाउन अहिलेको गठबन्धन भएकाले कुनै सानो समस्याले यताउता नहुने बताए । उनले यसअघि सधैं अस्थिर सरकार बनेकाले समस्या परिरहेको सबैलाई थाहा भएको उल्लेख गर्दै यो गठबन्धन देशका नागरिकको चाहनाअनुसार बनेकाले यसले संघीयताको मर्मअनुसार नै काम गरिरहेको उनले जनाए ।

उपप्रधानमन्त्री सिंहले बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन आग्रह गरे  । ‘बुद्धको जन्मभूमि भएको लुम्बिनी नजिकको क्षेत्र हो, यहाँ पर्यटन क्षेत्रबाटै समृद्धि ल्याउन सकिन्छ,’ उनले भने, ‘बुटवल उपमहानगर त्यसै बनेको होइन, अब नयाँ ढंगले काम गर्ने योजना बनाउनुस् ।’

बुटवललाई महानगरतर्फ लैजाने मापदण्ड पुग्दै गएकाले त्यसमा ध्यान दिनसमेत उनले आग्रह गरे ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully