भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म मुलुक समृद्ध हुँदैन : दाहाल

फाल्गुन ३, २०८१

प्रताप विष्ट

The country will not be prosperous unless corruption can be controlled: Dahal

हेटौंडा — पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले जबसम्म मुलुकका भ्रष्टाचारीहरुलाई कानुनी कठघरामा उभ्याउन सकिँदैन तबसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । 'भ्रष्टाचारीहरु जहाँ जुन अवस्थामा छन् तिनीहरुलाई जनताकै बलले ठेगान लगाउनु पर्छ,' उनले भने । 

मकवानपुरको वाग्मती गाउँपालिकास्थित शहीद स्मृति रंगशालामा शनिबार सातौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता उद‍्घाटन गर्दै उनले सुशासनको पक्षमा र भ्रष्टाचारीहरुको विरुद्धमा माओवादीले सञ्चालन गरेको अभियानमा सबै जोडिन आग्रह गरे । भ्रष्टाचारीलाई तह नलगाएसम्म समाजमा विकृति र विभेद कायम रहिरहने उनको भनाइ छ । 

खेल क्षेत्रले मुलुकको प्रतिष्ठा बढाएको चर्चा गर्दै उनले भने,‘यस्ता रंगशालाहरुले खेलाडी उत्पादन गर्न योगदान पुर्‍याउने छ ।’ 

कार्यक्रममा वाग्मती गाउँपालिकाले आफ्नै लगानीमा झुरझुरेमा निर्माण गरेको शहीद स्मृति रंगशालाको पनि पूर्वप्रधानमन्त्री दाहालले एक समारोहबीच उद‍्घाटन गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री एवं सोही क्षेत्रका संघीय सांसद दीपकबहादुर सिंहले मुलुकमा बेथिती र विकृति बढेकोमा चिन्ता गर्दै खेल क्षेत्रले मुलुकको प्रतिष्ठा दैनिक रुपमा बढाउँदै लगेको बताए ।  वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेश सांसद, छिमेकी पालिकाका जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

 The country will not be prosperous unless corruption can be controlled: Dahal

प्रताप

Link copied successfully