काठमाडौँ — राजनीतिक दलका नेताहरुले संविधान संशोधन गर्न बृहत् सहमति आवश्यक भएको बताएका छन् । उनीहरुले संविधान संशोधनलाई सत्ता गठबन्धन बनाउन नभई मुलुकको आवश्यकताका आधारमा अघि बढाउनु पर्ने बताएका छन् ।
काठमाडौं विश्वविद्यालय व्यवस्थापन स्कुलको कुसोम पोलिसी ल्याबले शनिबार आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजालले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली, सुशासन लगायतका विषयमा संविधान संशोधन आवश्यक भएको बताए ।
‘निर्वाचन प्रणाली यस्तै छ । दलले बहुमत ल्याए पनि अस्थिरता छ,’ उनले भने, ‘निर्वाचन प्रणाली संशोधन गरी ३६ प्रतिशत मत ल्याउने पार्टीले बहुमत ल्याउनु पर्छ ।’ उनले कांग्रेस, एमाले र माओवादीका तीन नेताले देश चलाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए । ‘निर्वाचन प्रणाली परिवर्तन गर्न जरूरी छ । समानुपातिक प्रणालीलाई बन्द गरेर होइन,’ उनले भने, ‘अझ समानुपातिक र समावेशी प्रतिनधित्व हुने गरी बलियो प्रावधान राख्नुपर्छ ।’
एमाले नेता रघु पन्तले संविधानप्रति असन्तुष्टि बढेकाले संशोधन आवश्यक भएको बताए । ‘संविधानप्रति असन्तुष्टि बढेको छ । संविधान बचाउन संशोधन गर्नुपर्छ भन्नेमा प्रायः सबै दल सहमत छन्,’ उनले भने, ‘तर सजिलो छैन ।’
माओवादी नेता रेखा शर्माले गठबन्धन बनाउन संविधान संशोधनको मुद्दा आएको उल्लेख गर्दै राजनीतिक स्थिरताका लागि आफ्नो दल पनि संविधान संशोधनका लागि तयार रहेको बताइन् । ‘राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संघ र प्रदेशको प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ । यो गठबन्धन परिवर्तन मुद्दा बनाइनु हुँदैन ।’
उनले संविधान संशोधन गर्ने नै हो भने ५० प्रतिशत महिला, जनसंख्याका आधारमा दलितको प्रतिनिधित्व हुनेगरी गर्नपर्ने बताइन् ।
रास्वपाका नेता सन्तोष परियारले प्रमुख दलका नेताहरुले संविधान संशोधनको मुद्दालाई गंभीर रुपमा नलिएको बताए ।
'कांग्रेस-एमालेले संविधान संशोधन गर्नेमा मलाई विश्वास छैन’, उनले भने, ‘इमानदारी साथ संशोधन गर्ने हो भने हाम्रो पार्टीलाई स्वीकार्य छ । दुई पार्टी एक भएर मात्र संशोधन संभव हुँदैन । व्यापक छलफल, बहस जरुरी हुन्छ ।’
