सत्तापक्ष भन्छ्न्- विपक्षीले आकस्मिक समयलाई दुरुपयोग गर्न खोजेका छन्
काठमाडौँ — विपक्षी दलहरुले प्रतिनिधिसभामा आफ्ना विषय राख्न सहज वातावरण नभएको गुनासो गरेका छन् । उनीहरुले प्रतिनिधिसभामा ‘सरकारको छाया’ परेको भन्दै विपक्षीले सहज ढंगले आफ्ना विषय राख्न पाउनुपर्ने मागसमेत गरेका छन् ।
विपक्षीहरु माओवादी, रास्वपा, राप्रपाले विशेषगरी संसद्मा आकस्मिक समयमा जनसरोकारका विषय राख्न नपाएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने तयारी गरेको बताएका छन् । सत्तापक्ष कांग्रेस–एमालेले भने विपक्षी दलका सांसदले आकस्मिक समयलाई दुरुपयोग गरी सरकारलाई प्रहार गर्ने माध्यम बनाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा नियमावलीमा शून्य र विशेष समयमा सांसदले बोल्न पाउने व्यवस्था छ । त्यस्तै अघिल्लो बैठक र सुरु हुन लागेको बैठक बीचमा कुनै गम्भीर विषय भए आकस्मिक समय दिन सक्ने व्यवस्था छ । ‘सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्नेछ,’ संसद्को नियमावलीमा उल्लेख छ, ‘तर अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय मागेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ ।’
शून्य र विशेष समयमा बोल्न चाहने सांसदहरुको सूची सम्बन्धित दलले तोक्ने भए पनि आकस्मिक समय सभामुखले दिने व्यवस्था छ । सभामुखबाट आकस्मिक समयमा आफ्ना विषय राख्न सहज नभएको विपक्षीहरुको गुनासो छ । सभामुख घिमिरे एमालेको तर्फबाट भएको भन्दै विपक्षी दलले संसद्मा आफ्ना विषय सहज ढंगले राख्न नपाएको बताएका छन् ।
प्रमुख प्रतिपक्षका दलका प्रमुख सचेतक हितराज पाण्डेले विपक्षी दलका सांसदले सहज ढंगले आफ्ना विषय राख्न नपाएको बताए । विपक्षी दलले आवाज मुखरित गर्ने थलो संसद् भए पनि चालु हिउँदे अधिवेशनमा त्यो सहज नभएको बताए ।
संसद्मा ‘विपक्षी दलका सांसदले जनसरोकारका विषय राख्न सहज भइरहेको छैन’ उनले भने, ‘कहीं न कहीं संसद्मा सरकारको छाया परेको छ । यस्तो हुनुहुँदैन ।’ उनले सत्तापक्षको दबाबमा संसद्को निर्धारित कार्यसूचीमा आकस्मिक ढंगले फेरबदल भएको बताए । माघ २९ प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ‘सरकारले जे-जे भन्यो त्यही मान्ने हो ? भनी प्रश्न गरेको उल्लेख गरे ।
‘संसद्को समग्र क्रियाकलापमा सरकारले संसद्लाई मिनिमाइज्ड गरिरहेको छ । अपहेलना गरिरहेको छ । सरकारले जनप्रतिनिधिको आवाजलाई ठीक ढंगले सुन्न चाहिरहेको छैन,’ उनले आपत्ति जनाएका थिए, ‘संसद्ले सरकारले जे-जे भन्यो हो, त्यही-त्यही गर्ने हो कि जनप्रतिनिधिले बनाएका विषयवस्तु सरकारले पालना गर्ने हो ?’
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद्मा विपक्षी दलले सहज ढंगले आवाज उठाउन नपाएको महसुस भएको बताए । संसद्मा सत्ता बहुमतको प्रभाव पर्न नहुनेमा सभामुख घिमिरे जानकार हुनुपर्ने उल्लेख गर्दै विपक्षीको आवाज सुन्न सरकार तयार हुनुपर्ने बताए ।
‘विपक्षी दलले सहज ढंगले आफ्ना आवाज उठाउन पाएका छैनन्,’ उनले भने, ‘विपक्षीका कुरा सुन्न सरकार तयार हुनुपर्छ । सदनमा विपक्षीलाई आवश्यक समय दिनुपर्छ ।’ उनले संसद्मा ‘कार्यकारी (सरकार)’को प्रभाव परेको महसुस हुन थालेको बताए । ‘संसद् मुख्यगरी विपक्षीको हो भन्ने कुरा लामो समय अभ्यास गरेर आएका दलहरुले बुझ्नुपर्छ,’ उनले भने, ‘कार्यकारीको प्रभाव संसद्मा पर्न थालेको महसुस हुँदैछ ।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा सरकारको छाया परेकोमा आफ्नो दलमा छलफल भइरहेको बताए । ‘विपक्षीले सहज ढंगले आफ्ना विषय राख्ने वातावरण छैन,’ उनले भने, ‘संसद्मा सत्ताको छाया हो कि अज्ञानता हो ?’ अघिल्लो संसद्मा राप्रपाको तर्फबाट आफू एक्लो सांसद हुँदा आफ्ना धारणा सहज ढंगले राखेको अनुभव रहेको उल्लेख गर्दै हाल सभामुखलाई पहिले नै जानकारी दिने भन्दै अप्ठ्यारो बनाएको बताए ।
‘अघिल्लो संसद् (२०७४) मा म पार्टीको तर्फबाट एक्लै हुँदा सहज ढंगले विचार राख्ने मौका पाएको अनुभव छ । अहिले १४ सांसद भए पनि सजिलो गरी कुरा राख्ने वातावरण छैन,’ उनले भने, ‘यसबारे पार्टीभित्र छलफल गरेका छौं ।’
सत्तापक्षले भने विपक्षी दलका सांसदले संसद्को आकस्मिक समयलाई दुरुपयोग गर्न खोजेको आरोप लगाए । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभामुख घिमिरेले विपक्षी दललाई पर्याप्त समय दिएको उल्लेख गर्दै आकस्मिक समयमा विषय बाहिर गएर प्रयोग गर्न खोजेको बताए ।
‘सभामुखले विपक्षीलाई पर्याप्त समय दिनुभएको छ । बोल्न चाहने सांसद्ले बोल्न पाउनु भएको छ,’ उनले भने, ‘आकस्मिक समयमा विपक्षी सांसदले निहुँ खोज्ने काम गरेका छन् । संसद्मा सत्तापक्ष र विपक्षी सांसदबीच विभेद भएको छैन ।’
सरकारको नेतृत्व गरेको एमाले सांसद एवं पूर्वप्रमुख सचेतक पदम गिरीले विपक्षीले संसद्को आकस्मिक समयलाई दुरुपयोग गरेको बताए । ‘विपक्षीले आकस्मिक समयलाई दुरुपयोग गर्नुभएको छ,’ उनले भने, ‘संसद्को नियमावलीअनुसार अघिल्लो र पछिल्लो बैठकमा बीचमा भएका विशेष घटनाबारे आकस्मिक समयमा बोल्ने प्रावधान छ । तर विपक्षी सांसदहरुले आकस्मिक समयमा सरकारबीच विषवमन गर्न खोज्नुभएको छ ।’
सभामुख निकट स्रोतका अनुसार हरेक बैठकअघि आकस्मिक समयमा बोल्न कम्तीमा २० सांसद सभामुखकहाँ पुग्ने गरेको उल्लेख गर्दै विपक्षी दलका सांसदलाई बोल्न अप्ठ्यारो पार्ने काम भएको छैन ।
‘सभामुखले बोल्न चाहने सांसदहरुलाई मागेको भन्दा बढी समय दिइरहनु भएको छ । अझ विपक्षी दलका सांसदहरुको अनुरोधलाई ख्याल गर्दै आउनुभएको छ,’ निकट स्रोतले भन्यो, ‘बरु कतिपय अवस्थामा विपक्षी दलका सांसदले प्रतिनिधिसभाको नियमावलीभन्दा बाहिर गएर बोलेकाले सभामुखले ध्यानाकर्षण गराउनुभएको छ ।’
प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भएअनुसार ढ्यापढ्याप गरी सांसदले समय मागेर बोल्न व्यवस्थित गर्न प्रमुख सचेतकसँग सभामुखले छलफल गरेको स्रोतको भनाइ छ । ‘सांसदहरुबाट आकस्मिक समयमा अतिआवश्यक विषय आओस् भनेर सभामुखले दलका प्रमुख सचेतकसँग छलफल गर्दै आउनुभएको छ,’ स्रोतको भनाइ छ ।
