ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री भट्टराई र नेपालविरुद्धको मुद्दा पूर्ण इजलासमा

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित पाँच वर्षअघि रिट दायर भएको थियो

फाल्गुन २, २०८१

घनश्याम खड्का

The case against former Prime Minister Bhattarai and Nepal in the Lalita Niwas case is in full court

काठमाडौँ — ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाल तथा पूर्वमुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित दायर भएको रिट पूर्ण इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको  । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले बिहीबार पाँच वर्षदेखि विचाराधीन रिटलाई पूर्ण इजलासबाट सुनुवाइ गर्ने आदेश जारी गरेको हो । 

ललिता निवासको जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय १० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुख्य निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई उन्मुक्ति दिएर निर्णय कार्यान्वयन गर्नेलाई मात्रै प्रतिवादी बनाइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २०७६ माघ २९ मा सर्वोच्चमा रिट दायर गरेका थिए । 

जसको हस्ताक्षरका कारण निर्णय भयो र जसको निर्णयका कारण ललिता निवासको जग्गा हिनामिना भयो, उसैलाई मुद्दा नचलाउनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने तर्कसहित न्यौपानेले तत्कालीन प्रधानमन्त्रीद्वय र मुख्यसचिवलाई पनि मुद्दा चलाउनुपर्ने माग रिटमा गरेका थिए । 

ललिता निवास प्रकरणमा छुट्टै अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने ३ सय ११ विरुद्ध किर्ते कसुरमा गत वर्ष काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो, जुन विचाराधीन छ । अनुसन्धानका क्रममा पक्राउ परेका योगराज पौडेलको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै गत वर्ष साउनमा न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले ‘पिरामिडको माथिल्लो तहदेखि अनुसन्धान गर्नू’ भनी निर्देशनात्मक आदेश जारी गरेको थियो । 

निर्देशनात्मक आदेशको अर्थ पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाल तथा पूर्वमुख्यसचिव पौडेललाई पनि मुद्दा चलाउनु भन्ने भए पनि अटेर गरिएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपाने र अधिवक्ता रवीन शर्माले गत वर्ष असोजमा अर्को रिट दायर गरेका थि । त्यसमा पनि अदालतको निर्देशनात्मक आदेशअनुसार उनीहरूलाई मुद्दा चलाउनुपर्ने नै माग गरिएको छ । 

अख्तियारले २०७६ माघमा दायर गरेको मुद्दामाथि गत वर्ष फागुन ३ मा विशेष अदालतले फैसला गर्दै ललिता निवासको सबै जग्गा सरकारका नाममा हुने निर्णय सुनाएको थियो । ललिता निवास परिसरको करिब १ सय ३६ रोपनी जग्गा हिनामिना गरेको कसुरमा विशेष अदालतले २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित १३१ जनालाई दोषी ठहर गरेको थियो । 

खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव छविराज पन्त र पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गरेको थियो । 

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा विशेष अदालतले दोषी ठहर गरेको थियो । पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठलगायत केही उच्च पदस्थ प्रतिवादीलाई भने विशेषले सफाइ दिएको थियो ।

उच्च पदस्थलाई मुद्दै नचलाउनु र चलाएकालाई पनि छानीछानी सफाइ दिनु न्यायका दृष्टिमा जायज नभएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपाने तथा अधिवक्ता शर्माले गत कात्तिक २८ मा पुनः अर्को रिट दायर गरेका थिए । यी तीनै रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले त्यसलाई पूर्ण इजलासमा पेस गर्न आदेश गरेको ह ।

कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण गरिएको ललिता निवासको जग्गा २०४६ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन भोगाधिकारी, बिचौलिया, नक्कली मोही र व्यापारीले जग्गा खाने, मास्ने प्रपञ्च गरेका थिए । त्यहीअनुसार २०४९ देखि २०६९ सम्मका विभिन्न मितिमा मालपोतदेखि मन्त्रिपरिषद् निर्णयबाट गैरकानुनी रूपमा ललिता निवासको जग्गा व्यक्तिका नाममा लगिएको थियो । 

२०६६/६७ मा विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई ललिता निवासको जग्गा सट्टाभर्ना दिने निर्णय मन्त्रिपरिषद्बाट गर्दा नेता नेपाल प्रधानमन्त्री थिए । यस्तै, पशुपति टिकिन्छा गुठीमा ललिता निवासको जग्गा कायम गर्ने निर्णय २०६९ मा गर्दा भट्टराई प्रधानमन्त्री थिए । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णय गर्दा पौडेल नेपाल सरकारको मुख्यसचिव थिए । 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully