परम्परागत ज्ञानबाट हाडजोर्नीको उपचारमा चार पुस्ता

‘गाउँले डाक्टर’ का रूपमा परिचित निताई राजवंशी आफूले नसक्ने उपचार भने गर्दैनन्, तत्काल अस्पताल ‘रेफर’ गरिदिन्छन्

फाल्गुन २, २०८१

पर्वत पोर्तेल

Four generations of traditional wisdom in treating osteoarthritis

झापा — भारतको बिहारसँग सिमाना जोडिने झापाको भद्रपुरदेखि पश्चिमतिर सोझिएको छ हुलाकी राजमार्ग । त्यही राजमार्गको प्रस्थानबिन्दुबाट करिब दुई किलोमिटर पश्चिम लागेपछि पुगिन्छ मन्त्री चोक । यो चोकको नाम पञ्चायतकालमा वाणिज्यमन्त्री बनेका गोपालचन्द्र सिंह राजवंशीको स्मृतिमा राखिएको हो ।

झापाको भद्रपुर–३ स्थित आफ्नो क्लिनिकमा निताई राजवंशी । तस्बिर : पर्वत पोर्तेल/कान्तिपुर

त्यही चोकमा छ, निताई राजवंशीको आयुर्वेदिक हाडजोर्नी उपचार केन्द् । उनी तिनै मन्त्रीका नातेदार हुन् । 

निताई हाडजोर्नीका ‘गाउँले डाक्टर’ का रूपमा परिचित छन् । उनले ५ दशकदेखि ग्रामीण भेगका सर्वसाधारणलाई परम्परागत तरिकाले हाडजोर्नीको उपचार सेवा दिँदै आएका छन् । उनको यो रैथाने ज्ञानले धेरैलाई राहत गरेको छ । यो रैथाने ज्ञानको विरासत चार पुस्तासम्म आइपुगेको छ । निताईका हजुरबा इन्द्रसिंहले करिब एक सय वर्षअघि गाउँलेका भाँचिएको, मर्किएको हाडमा काम्रो बाँधेर जोड्ने गरेका थिए । त्यो ज्ञानलाई निताईका बुबा चन्द्रसिंहले 

पछ्याए । चन्द्रसिंहले करिब ३० वर्ष हाड जोडे । बुबाको शेषपछि निताईले पनि त्यही पेसा अँगाले । 

निताईका पाँच छोरामध्ये कान्छा अजय एमबीबीएस डाक्टर बनेका छन् । उनी अहिले बुबाकै आयुर्वेदिक उपचार केन्द्रमा कार्यरत छन् । निताईका अन्य चार छोरा वैद्य हुन् । उनीहरू बिर्तामोड र धुलाबारीमा सञ्चालित क्लिनिकमा कार्यरत छन् । 

‘मैले त ७ वर्षको उमेरदेखि नै बुबासँगसँगै हिँडेर यो उपचार पद्धति सिकेँ,’ ६७ वर्षका निताईले भने, ‘बुबाले छाडेर गएको ज्ञान मैले सबैलाई बाँडिरहेको छु ।’ उनले यस्तो सेवा सुरु गरेकै ५० वर्ष पुगिसकेको छ । 

विश्वासिलो उपचारका कारण टाढाटाढाबाट बिरामी उनलाई खोज्दै आइपुग्छन् । उनको प्रविधि जडीबुटी, मालिस र परम्परागत हाड मिलाउने विधिमा केन्द्रित देखिन्छ । उपचारमा स्वदेशी जडीबुटीको प्रयोग हुन्छ । फिजियोथेरापी शैलीका अभ्यास पनि उनी गर्ने गरेका छन् । आधुनिक अस्पतालमा महँगो उपचार गर्न नसक्ने धेरै बिरामीको पहिलो विकल्प निताई बनेका हुन् । ‘निताईको उपचार विधि विज्ञानमा आधारित नभए पनि ग्रामीण भेगका लागि उनी चिकित्सक समान हुन्,’ स्थानीय पंकज शर्माले भने । निताईले एसएलसीसम्म मात्रै पढ । तर सानैदेखि हाडजोर्नी तथा शरीरका विभिन्न चोटपटकको उपचार सिके । गाउँकै सर्वसाधारणलाई सामान्य उपचार गर्न सहयोग गर्थे । समयसँगै उनको सीपले ख्याति कमायो । ‘आफूले जाने जति ज्ञान प्रयोग गरेर उपचार गर्छु, विश्वास गर्नेहरू आउँछन्, निको भएर पनि जान्छन्,’ निताईले भने, ‘५० वर्षमा १ लाख हाराहारीको उपचार गरे हुँला ।’ 

निताई आफूले नसक्ने उपचार भने गर्दैनन्, तत्काल अस्पताल रेफर गरिदिन्छन् । ‘हड्डी जोडिने सम्भावना नभएका विरामीको उपचार म गर्दिनँ, अस्पताल जान सल्लाह दिन्छु’, उनी भन्छन् । औपचारिक चिकित्सा शिक्षा नपाएको पारम्परिक ज्ञानलाई आधुनिक चिकित्सका विज्ञानले भने अप्रमाणित ठान्दै आएको छ । ‘चिकित्सा विज्ञानले यस्तो उपचारलाई खासै विश्वास गर्दैन,’ मेची प्रादेशिक अस्पताल भद्रपुरका पूर्वसुपरिन्टेन्डेन्ड डा. पीताम्बर ठाकुर भन्छन्, ‘तर सर्वसाधारणले विश्वास गरिरहेका छन्, निको पनि भइरहेको सुनिन्छ ।’

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully