जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छ : अध्यक्ष दाहाल

‘जनयुद्धले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, ऊ खरानी हुनेछ ।’

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

The inspiration of people's war will remain for hundreds of years: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानका उपलब्धि उल्टाउने प्रयास भइरहेको बताएका छ्न् । 'जनयुद्ध दिवस'का अवसरमा शुभकामना दिँदै उनले यो उपलब्धिमा युद्धको आधार भएको बताएका छन् 

‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ,’ उनले भने ।

विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिमलगायत उत्पीडित समुदाय र क्षेत्रको एजेन्डामा फर्केको उल्लेख गर्दै उनले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रूपमा ग्रहण गरिरहेको बताए । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो,’ उनले भने,  ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, ऊ खरानी हुनेछ ।’

आफ्नो वर्ग र समुदायतर्फ फर्कदै जनताका एजेन्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका उल्लेख गर्दै यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको उनको भनाइ छ । अध्यक्ष दाहालले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन  सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गरेका छन् ।

क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र विफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उनले क्रान्तिकारी शक्तिहरुलाई एकता र ध्रुवीकरणका लागि आह्वान गरे । राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको उल्लेख गर्दै उहाँले तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ सङ्कल्प गर्ने बेला आएको बताए । ‘जनताको घर आँगनमा उज्यालो ल्याउने सङ्कल्प आजको मुख्य कार्यभार बनेको छ,’ अध्यक्ष दाहालले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय सम्पन्न बैठकले त्यस दिशातिर पार्टीलाई अघि बढाएको छ । म सबैलाई यो अभियानमा लाग्न अपिल पनि गर्दछु ।’

जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे। ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो,’ उनको भनाइ  छ ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं ।’

२०५२ फागुन १ गतेदेखि  तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ सुरु गरेको थियो । त्यसयता माओवादीले हरेक वर्ष फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । माओवादी अध्यक्ष दाहालले यसै दिनमा सार्वजानिक बिदा दिने निर्णयसमेत गराएका थिए । गठबन्धन सरकारको निर्णय भए पनि यसको चौतर्फी विरोध भयो । अन्ततः उनी नेतृत्वको सरकारले गरेको यो निर्णय अदालतले नै खारेज गरिदिएको थियो । माओवादीले भने फागुन १ लाई उत्सव र महत्त्वका साथ लिने गरेको छ ।

कान्तिपुर

Link copied successfully