काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशको सन्तुलन बिग्रिएको बताएका हुन् ।
'शक्तिशाली राष्ट्रहरूले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरु खडा भएको छ,' मन्त्री पाण्डेले भने ।
त्यस्तै कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा अगाडि सार्न सकिने बताए । कर्णालीको शाखा नदीहरूबाट मात्रै सात हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने उनले बताए ।
'कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीका रूपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरुबाट मात्रै विद्युत् उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ,' उनले भने ।
