विद्युत् प्राधिकरणको लापरबाहीले मेलम्चीको पाइप फुट्दा ३० लाख लिटर पानी खेर

सडक भासियो, बबरमहल क्षेत्र दिनभर जलमग्न, मीनभवन, बबरमहल, अनामनगर क्षेत्रमा खानेपानी बन्द 

फाल्गुन १, २०८१

ऋषिराम पौड्याल

Due to the negligence of the electricity authority, 3 million liters of water was wasted when the pipe of Melamchi burst

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले भूमिगत लाइन विस्तार गर्ने क्रममा बुधबार बबरमहलमा मेलम्चीको पाइप फुट्दा ३० लाख लिटर खानेपानी खेर गएको छ । साढे दुई मिटर गाडिएको करिब २० इन्च मोटाइको डीआई पाइपबाट चार घण्टामा लगातार पानी बग्दा बबरमहल क्षेत्र साँझसम्म जलमग्न बनेको थियो । पाइप फुटेको स्थानमा सडकसमेत भासिएको छ । 

जिल्ला अदालत, सडक, वनलगायतका सरकारी भवनका साथै बस्तीसमेत डुबानमा परेको थियो । पानी बग्न रोकिए पनि लेदो जमेको छ । बबरमहलका साथै मीनभवन, अनामनगर र आसपासका क्षेत्रमा खानेपानी वितरण सेवा बन्द हुन पुगेको छ । 

एक्कासि पाइप फुटेर पानी निस्केपछि सडकमा भागाभाग भएको थियो । उक्त क्षेत्र जलमग्न यातायात सञ्चालन र पैदल आउजाउमा अवरोध भएको थियो । पानीको भेल भित्री बस्तीमा पस्दा पर्खालसमेत भत्किएका छन् । 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाइले बिछ्याएको थोक पाइपका सबै पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । ‘थोक वितरणको लाइन भएकाले पाइपमा पानी २४ सै घण्टा भरिएको अवस्थामा हुन्छ,’ केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोक पौडेलले भने, ‘पाइप मर्मत गरेपछि चाँडोमा बिहीबार बेलुकीदेखि मात्र बबरमहल, अनामनगर, मीनभवनलगायतका क्षेत्रमा बन्द हुन पुगेको पानी वितरण सुचारु हुन सक्छ ।’ 

पौडेलका अनुसार अहिले दैनिक मेलम्चीबाट आउने करिब १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमार्फत काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको छ । ‘सुन्दरीजल प्रशोधन केन्द्रभन्दा बबरमहल गहिरो भागमा पर्ने भएकाले छोटो समयमा पानीको ठूलो परिमाण एकैतिर जम्मा भएर बगेको हो,’ उनले भने, ‘काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी किमि पाइप बिछ्याइसकिएको छ । परीक्षण भने सबै पाइपको गरिसकिएको छैन ।’ चाबहिलको मुख्य थोक केन्द्रबाट उपत्यकाको १३ स्थानमा पानी पठाउने गरिएको छ । पाइप भने कतै नयाँ र कतै पुराना रहेको पौडेलले बताए ।

Due to the negligence of the electricity authority, 3 million liters of water was wasted when the pipe of Melamchi burst

विद्युत् प्राधिकरणले ठेक्कामार्फत तार बिछ्याउने काम गराइरहेको छ । त्यस क्रममा बुधबार जमिन खन्दा मेसिनले भेटेपछि पाइप फुटेको थियो । २० इन्चको पाइपमा मेसिनै अड्किन पुगेको थियो । अड्केको मेसिन निकाले पनि पाइपबाट पानीको परिमाण धेरै बाहिर आएको थियो । 

सडक डिभिजन कार्यालय काठमाडौंका साइट इन्जिनियर अर्जुन नेपालले विद्युत् प्राधिकरणले काम गर्दा पाइप फुटेपछि भासिएको सडकलाई तत्काल मर्मत गरिने बताए । मेलम्ची परियोजना कार्यान्वयन इकाइका प्रमुख टीका चौधरीले ड्रिलिङ गर्दा पाइप फुटेकाले मर्मतको जिम्मेवारी विद्युत् प्राधिकरणले लिने बताए । 

मेलम्ची आयोजना कार्यान्वयन इकाइले तत्काल पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने र त्यसको खर्च विद्युत् प्राधिकरणले बेहोर्ने मौखिक सहमति भएको छ । ‘आयोजना इकाइलाई नै मर्मत गर्न भनेका छौं,’ ‘प्राधिकरणका एक अधिकारीले भने, ‘लागेको खर्च बेहोर्नेछौं ।’ २०७७ चैतमा पहिलो पटक सिन्धुपाल्चोकको हेलम्बु मुहानबाट मेलम्चीको पानी २६ किमि सुरुङमार्फत सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको थियो ।

Due to the negligence of the electricity authority, 3 million liters of water was wasted when the pipe of Melamchi burst

निर्माण सुरु भएको २२ वर्ष र अध्ययन सुरु भएको तीन दशकपछि पानी काठमाडौंमा आइपुगेको थियो । तर २०७८ असारमा हेलम्बुको भेमाथाङबाट आएको बाढीपहिरोले मेलम्चीको मुहान नै बगाएको छ । अहिलेसम्म पनि मुहान बनाउन सकिएको छैन । वर्षामा बन्द गरेर हिउँदमा भने मेलम्चीको पानी नियमित रूपमा काठमाडौंमा वितरण गरिँदै आएको छ । मेलम्चीबाट दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully