नेसपा अध्यक्षमा भट्टराई : कति संभव वैकल्पिक राजनीतिक शक्ति निर्माण ?

अहिले अवस्था हेर्दा नयाँ शक्तिको बस छुटिसकेको जस्तो देखिन्छ । नयाँ पुस्ता राजनीतिमा आइसकेको छ । उनले भनेको ठाउँ ओगटिसकेको छ । नयाँ शक्तिको सुरु गर्दा नै उचाइ लिइसक्नुपर्थ्यो । बाबुरामजी कहिले मधेशकेन्द्रित दलमा लाग्नु भयो, फेरि माओवादीमा फर्केर केही गर्न सकिन्छ भनेर लाग्नु भयो । अहिले युवा शक्तिले वैकल्पिक राजनीतिक शक्तिको ठाउँ कब्जा गरिसक्यो : राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल

फाल्गुन १, २०८१

गंगा बीसी

Bhattarai as NESP president: How possible is the construction of alternative political power?

काठमाडौँ — माओवादीका पूर्वउपाध्यक्ष, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा निर्वाचित भएका छन् । पार्टी नेतृत्वमा नयाँ पुस्तालाई ल्याउनुपर्ने बताउँदै आएका उनी पहिलो महाधिवेशनबाट नयाँ शक्तिको प्रमुख नेतृत्वमा आएका हुन् ।

नयाँ शक्तिको विद्यार्थी नेता नेत्र चापागाईँले भट्टराईविरुद्ध उम्मेदवारी दिए पनि त्यो ‘देखावटी’ प्रतिस्पर्धा जस्तो भयो । युवा पुस्तालाई नेतृत्व सुम्पन यसपटक पनि उनी तयार भएनन् । पार्टीको पहिलो महाधिवेशबाट उनी ‘देखावटी’ प्रतिस्पर्धाबाट अध्यक्षमा निर्वाचित भए । यसले उनले भनाइ र गराईमा विरोधाभास देखियो । उनले पार्टीभित्र ठूलो दबाब आएकाले अध्यक्षमा उम्मेदवारी दिएको महाधिवेशन बन्दशत्रमा बताएका थिए ।

उनले २०७२ मा ‘हुँदाखाँदा’ को माओवादी पार्टी परित्याग गरी नयाँ राजनीतिक शक्ति निर्माणको अभियान सुरु गरेका थिए । अनेक उतारचढावबीच पार्टीको महाधिवेशन गरी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने शपथ लिएर उनी पार्टीको पहिलो महाधिवेशनबाट प्रमुख नेतृत्वमा आएका छन् ।

चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ र चापागाईँले ७३ मत ल्याए । महासचिवमा सोनामसिंह स्याङ्तान विजयी भएका छन् । उपाध्यक्षहरुमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई, दुर्गा सोब, ईश्वरी रिजाल, टेकबहादुर बाठामगर, उमेश शाह चयन भएका छन् । कोषाध्यक्ष्मा ईश्वरीप्रसाद रिजाल पनि निर्विरोध निर्वाचिन भएका छन् । पदाधिकारीसहित २२ जना निर्विरोध निर्वाचित भएका थिए भने बाँकी पदका लागि निर्वाचन भएको थियो ।

केन्द्रीय समितिका ९९ मध्ये ९ जना मात्र मनोनयन गर्ने नयाँ शक्तिको विधानमा व्यवस्था छ ।

दस वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका भट्टराईले २०७२ मा संविधान जारी भएलगत्तै माओवादी त्यागेका थिए । कम्युनिस्ट पार्टीले तीव्र आर्थिक र सामाजिक विकास गर्न नसक्ने निष्कर्ष निकाल्दै उनले नयाँ राजनीतिक शक्ति अभियान सुरु गरेका थिए । तर उनको वैकल्पिक राजनीतिले उचाइ लिन नसकेपछि उनका निकट नेता देवेन्द्र पौडेल माओवादीमा फर्के भने महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठले गत वर्ष नेपाल समाजवादी पार्टी गठन गरिसकेका छन् ।

कांग्रेस, एमाले र माओवादी सत्ताको खिचातानीमा लागेका बेला भट्टराईले नयाँ राजनीतिक शक्ति अभियान चलाए पनि आम मानिसलाई बुझाउन नसक्दा गति लिन सकेन । २०७९ को आम निर्वाचनपछि अरु वैकल्पिक शक्ति आएकाले भट्टराईले सोचजस्तो नयाँ शक्ति निर्माण हुने कठिन भएको विश्लेषकले बताएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले वैकल्पिक राजनीतिक शक्तिको गाडी धेरै अघि बढिसकेको उल्लेख गर्दै त्यसलाई भट्टराईले भेट्न कठिन भएको बताए । ‘अहिले अवस्था हेर्दा नयाँ शक्तिको बस छुटिसकेको जस्तो देखिन्छ । नयाँ पुस्ता राजनीतिमा आइसकेको छ । उनले भनेको ठाउँ ओगटिसकेको छ,’ उनले भने, ‘नयाँ शक्तिको सुरु गर्दा नै उचाइ लिइसक्नुपर्थ्यो । बाबुरामजी कहिले मधेशकेन्द्रित दलमा लाग्नु भयो, फेरि माओवादीमा फर्केर केही गर्न सकिन्छ भनेर लाग्नु भयो । अहिले युवा शक्तिले वैकल्पिक राजनीतिक शक्तिको ठाउँ कब्जा गरिसक्यो ।’ उनले वैकल्पिक शक्तिको खाँचो देखेपछि ‘जनताको नाडी छामेर आफ्नो विचार पस्कन नसकेकाले किनारामा गएको’ बताए ।

२०७२ माघ १० गते राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, सुरक्षा, कलाकारिता लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरू भेला गरी उनले ‘नयाँ शक्ति अभियान’ सुरु गरेका थिए । २०७३ जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा भेला गरी ‘नयाँ शक्ति नेपाल’ पार्टीको स्थापना गरेका थिए । तर वैकल्पिक राजनीतिक शक्ति अपेक्षित रुपमा अघि बढ्न सकेन । कहिले माओवादी र कहिले मधेशकेन्द्रित दलसँग सहकार्य र एकता गर्दा उनको नयाँ शक्ति निर्माणले खास आकार लिन सकेन ।

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने हुटहुटी अझै मरेको छैन । प्रथम महाधिवशेनले पारित गरेको भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदनमा वैकल्पिक राजनीति अपरिहार्य भएको दाबी गरेका छन् । ‘वैकल्पिक राजनीति वर्तमान युगको अपरिहार्य आवश्यकता हो । हामी आकस्मिकताले त्यसका वाहक हौं । हामीले वैकल्पिक राजनीतिक शक्ति निर्माण नगरे वा गर्न नसके युगले अर्को पात्र जन्माउनेछ,’ उनले भनाइ छ, ‘तर संसार र नेपालको यो ऐतिहासिक घडीमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको विकल्प छैन । वैकल्पिक राजनीतिक शक्तिको विकल्प अझै उन्नत वैकल्पिक शक्ति मात्र हुनसक्छ ।’

उनले कांग्रेस, एमाले, माओवादी ‘नोकरशाही, केन्द्रीकृत, नेतामुखी र भ्रष्टीकृत गएको पुँजीवादको विकल्पमा अघि आएका साम्यवादी पार्टीको सुरुको ‘अग्रदस्ता’ र ‘जनवादी केन्द्रीयता’को सिद्धान्त अन्ततः भयंकर नोकरशाही केन्द्रीयतावादी संरचना र प्रमुख नेताको निरंकुशतन्त्रमा परिणत’ भएकाले नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यक भएको दाबी गरेका छन् । उनले विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी वैकल्पिक राजनीतिक शक्तिको रुपमा लिएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच लामो समय शक्तिसंघर्ष चलेको थियो । दुई नेताबीच संघर्ष र एकता २०७४ को निर्वाचनसम्म चलेको थियो । २०७४ को निर्वाचनमा उनले गोरखा–२ मा दाहाललाई उम्मेदवार बनाएका थिए । त्यसपछि पार्टी एकता गर्ने प्रयास भए पनि दाहालका अरुचीका कारण संभव हुन सकेन । उनले दाहाललाई गोरखा ल्याउनु गम्भीर भुल भएको आफ्नो राजनीतिक प्रतिवेदनमा स्विकार गरेका छन् ।

‘साझा चुनाव चिह्न लिनु र निर्वाचन क्षेत्र गोरखा–२ प्रचण्डलाई छोड्नु गम्भीर गल्ती थियो । एमालेबाट अलग्गिएपछि अप्ठ्यारोमा परेको माके र भर्खर नेसपाको रुपमा पुनर्गठित भएको बेला अलमलमा परेका हामी बीचको हतारो निर्णयको दुष्परिणाम थियो त्यो चुनावी तालमेल’उनले लेखेका छन्, ‘प्रचण्डलाई गोरखा–२ छोड्नु हाम्रो नेतृत्वको सदासयतापूर्ण उदारवादी कमजोरी थियो ।’

संविधान जारी भएपछि २०७२ असोज ९ मा भट्टराईले माओवादी त्याग गरी नयाँ बाटो लिएका थिए । उनले २०७६ वैशाखमा एउटा मधेस केन्द्रित दलसँग एकता गरेर ‘समाजवादी पार्टी’, त्यसको ठीक एक वर्षपछि ०७७ वैशाखमा अर्को मधेसकेन्द्रित दलसँग एकता गरेर ‘जनता समाजवादी पार्टी’ बनाए । एक वर्षपछि ०७८ जेठमा जसपा विभाजन भयो । ०७९ असारमा जसपा पनि विभाजन भयो । भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरे । महाधिवेशन गर्नुअघि उनले पार्टीको नाम परिमार्जन गरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखेका थिए ।

माओवादीमा दोस्रो नेताको रुपमा रहेका भट्टराई दाहालसँग लामो संघर्षपछि ०६८ असोजमा प्रधानमन्त्री बने । उनी १२ देखि ०६९ फागुन ३० सम्म प्रधानमन्त्री रहँदा दाहाल पार्टी अध्यक्ष थिए । एउटै पार्टीमा रहँदा दाहालले भट्टराईलाई भारतप्रति नरम रहेको आरोप लगाउँथे । भट्टराईले दाहाललाई ठोस विचार नभएको नेताका रुपमा चित्रण गर्थे । राजनीतिशास्त्रमा विधावारिधी गरेका उनले वैकल्पिक शक्ति निर्माणमा ‘ठोस परिस्थितिमा निर्णय लिए पनि जनताको मन जित्न नसकेको’ विश्लेषकको भनाइ छ ।

गंगा

Link copied successfully