'हामीसँग झन्डै दुई तिहाईको सरकार छ । किन फुटाउने पार्टी बेकार ? फेरि कत्रा चट्टान फोर्ने हो र ! यत्रायत्रा गिटी ढुंगा फुटाएर को बस्छ ?'
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी ऐन बनाउन संसद्मै विधेयक ल्याउने बताएका छन् । बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताएका हुन् ।
कुनै पार्टी फुटाउने उद्देश्यले विधेयक नल्याउने पनि प्रधानमन्त्री ओलीको भनाइ छ । ‘जथाभावी अध्यादेश ल्याएर, मैले ४० प्रतिशत पार्टीको वा संसद्को ४० प्रतिशत पुयायो भने पार्टी अलग हुन पाउँछ भनेर फुटेको मानिने छैन । अलग हुन पाउँछ भन्नेछ । नयाँ पार्टी खोल्न पाउँछ भन्ने अध्यादेश ल्याउँदा ल पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरूको नाम पनि म लिइरहन्नँ । तपाईंहरु चिनिहाल्नुहुन्छ । तिनीहरु त पछि हाम्रो पार्टी फुटाउन २५ प्रतिशत भए फुटाउन हुन्छ भनेर २० वा २० भए हुन्छ भनेर अध्यादेश २० वा २० भनेर अध्यादेश ल्याएर नेकपा एमाले फुटाउने तत्वहरू होइनन्,' प्रधानमन्त्री ओलीले भने ।
आफूहरूलाई कुनै पार्टी फुटाउने रहर नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ । 'हामीलाई पार्टी फुटाउने कुनै सौख छैन तर कानुन त चाहियो नि । कानुनको अभाव छ अहिले । अब संसद्मा हामी विधेयक ल्याउँछौँ । संसद्बाट विधेयक ल्याउँछौँ, अध्यादेशबाट होइन । त्यसैकारण हामीले अध्यादेश नल्याएको । अध्यादेश चाहिँदैन,' उनले भने ।
दुई तिहाईको सरकार रहेकाले कुनै पार्टी फुटाउन आवश्यक नरहेको उनको भनाइ छ । ' हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन । हामीसँग झन्डै दुई तिहाईको सरकार छ । किन फुटाउने पार्टी बेकार । फेरि फुटाउने पनि कत्रा कुनै चट्टान फोर्ने हो र यत्रायत्रा गिटी ढुंगा फुटाएर को बस्छ ? त्यो आवश्यकता पनि छैन, सोख पनि छैन,' उनले भने ।
पछिल्लो समय ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा १० सिट रहेको नेकपा (एकीकृत समाजवादी) फुटाउन खोजेको आरोप लाग्दै आएको छ । एमाले र कांग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
