तनहुँ — कक्षा कोठामा हल्ला गरेको भन्दै भिमाद नगरपालिकास्थित एक निजी विद्यालयकी शिक्षकले चार कक्षामा अध्ययनरत चार विद्यार्थीको गालामा तातो पन्युले डामीदिएकी छिन् । यो बर्बर घटना भएकाे हो, भिमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा ।
विद्यार्थीले हल्ला गर्न थालेपछि शिक्षक सुष्मा श्रेष्ठले सुरुमा विधार्थीहरुलाई पिटेकी थिइन् । सोही क्रममा एक विद्यार्थीले आफूलाई जिस्क्याएको भन्दै शिक्षकले चार विद्यार्थीको गालामा तातो पन्युले डामीदिएकी हुन् । ४ विद्यार्थीमध्ये दुई विद्यार्थीको गालामा पन्युले डामेको निलडाम प्रस्टै देखिन्छ ।
पीडित विद्यार्थीकी एक अभिभावकले कान्तिपुरसँग मंगलबार करिब १२ बजेतिर पीडक मिसले नै फोन गरेर हजुरको बच्चा हल्ला गरेकाले मैले तातो पन्युले हिर्काएको थिएँ, धेरै त केही भएको छैन कालो टाटा बसेको छ भनेपछि आफू विद्यालय पुगेको बताइन् । उनले भनिन्, ‘यो भन्दा अघि पनि मेरो छोराले हल्ला गर्यो भन्दै तातो पानीमा हात हाल्दिएँ भन्दै आफै ती मेडमले फोन गर्नुभएको थियो ।’
घटनाबारे अरुलाई केही नभन्नु भनेर शिक्षकले भने पनि उनले आफू चुप नबसेको ती अभिभावकले बतायन् । उनले भनिन्, ‘डामदिएको सुनेपछि म तुरुन्तै विद्यालय पुगेर सोधखोज गर्न लागे, त्यसपछि हामी नै उपचार गर्दिन्छौं, यो घटनालाई विद्यालयमै मिलाउ भन्न थाले ।’
अर्का पीडित विद्यार्थीका अभिभावकले राम्रो शिक्षा हासिल होस् भनि महँगो शुल्क तिरेर बोर्डिङमा पढ्न पठाएको छोरोमाथि यस्तो कुटपिट भएको बताइन् । उनले भनिन्, ‘बच्चाहरु हल्ला गर्छन्, चकचक पनि गर्छन् । उनीहरुलाई सम्झाउनुपर्छ, बुझाउनुपर्छ यसरी कुटपिट गर्न भने हुँदैन ।’
शिक्षकले पीडित विद्यार्थीसामु माफी माग्नुपर्ने र विद्यालयबाट निकाल्नुपर्ने पीडित विद्यार्थीका अभिभावकहरुको माग छ । एक अभिभावकले भनिन्, ‘हामीलाई मिलाउन खोजिरहेका छन् । के गर्ने हामीलाई त्यति थाहा पनि छैन तर पीडकलाई कानुनबमोजिम सजय हुनुपर्छ भन्ने हाम्रो माग छ ।’
विद्यार्थीलाई कुटपिट गर्ने ३२ वर्षीया शिक्षक विद्यालयको लेखा शाखामा कार्यरत छिन् । उनी विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् । शिक्षकलाई बुधबार बिहानै इलाका प्रहरी कार्यालय भिमादले पक्राउ गरेको छ । प्रधानाध्यापक श्रेष्ठले बच्चालाई सचेत गराउँछु भन्दा हुनु नपर्ने घटना भएको बताए ।
उनले भने, ‘ठूलो घाउचोट केही नदेखिएकाले नजिकैको आयुर्वेदिक औषधालयमा ती विद्यार्थीको प्राथमिक उपचार गरिएको छ । उपचारको सबै खर्च विद्यालयले नै बेहोरेको छ ।’ शिक्षकले आफूले गल्ती गरेको र आवेशमा आएर गर्न नहुने काम गरेको कुरा विद्यालयमा बताएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताए ।
विद्यार्थीलाई सुधार गर्छु भन्दै नयाँ टेक्निक ल्याउँदा, बिग्रिएको बताउँदै प्रधानाध्यापकले भने, ‘यो हाम्रै कमजोरी हो । पीडकलाई जागिरबाट निकाल्ने छौं । यो पहिलो घटना हो, अब दोहोरिन दिने छैनौं ।’
