कपिलवस्तु — दुई वर्षअघि सरकारले मुलककै उत्कृष्ट घोषणा गरेको तौलिहवास्थित कपिलवस्तु अस्पताल लथालिङ र अस्तव्यस्त बनेको छ । दलहरुको खिचातानीले मेडिकल सुपरिटेन्डेन्ट (मेसु) महिने पिच्छे सरुवा हुँदा अस्पताल आफै ‘विरामी’ बनेको हो । कर्मचारी पनि सरुवा भएर आउने मेसुको पक्षविपक्षमा लाग्दा अस्पतालको सेवा कमजोर बनेको छ ।
तीन वर्षअघि लुम्बिनी प्रदेशकै उत्कृष्ट बनेको ५० शैय्याको यो अस्पतालको सेवा स्वास्थ्य चौकी जस्तै बनेको छ । यहाँबाट सामान्यबाहेक ९० प्रतिशत विरामी रिफर भइरहेका छन् । दैनिक ३/४ सय विरामी आउने यो अस्पतालमा उपचार प्रभावकारी नहुँदा एक डेढ सय जनामा मात्रै आउने गरेका छन् । नवौं/दशौं तहको मेसुको दरबन्दी रहेको अस्पतालमा अहिले छैटौं तहका प्रयोगशाला निरीक्षक राकेशकुमार शाहलाई निमित्त मेसु बनाइएको छ ।
मेसु डा. किशोर बन्जाडेको सरुवा भएपछि २०८० जेठअन्तिमतिर आठौं तहका डा. विपिन जैसवाल मेसु भएर काजमा आएका थिए । ०८१ असारमा जयसवालको काज फिर्ता भएर बन्जाडे फेरि मेसु पदमा आए । डा. बन्जाडेको ०८१ असोजमा कोशी अञ्चल अस्पताल विराटनगरमा पदस्थापन भयो । बन्जाडेलाई एमाले र जयसवाललाई कांग्रेसले यहाँ ल्याउन चाहेका हुन् । यी दुई जना बीचको ‘राजनीति’ले सेवाग्राहीलाई समस्या भइरहेको अस्पतालकै स्वास्थ्यकर्मीहरु बताउँछन् ।
कांग्रेस र एमाले नेताले मेसु राख्ने र सरुवा गर्ने कार्यलाई प्रतिष्ठाको विषय बनाउँदा अस्पतालको सेवा दयनीय अवस्थामा पुगेको हो । मेसु बन्जाडेको एक महिनामै दुईपटक थमौती र दुईपटक सरुवा भएको थियो । बन्जाडे विराटनगर सरुवा भएयता अस्पताल मेसुविहीन अवस्थामा छ । नवौं/दशौं तहको मेसुको दरबन्दी भएको ठाउँमा अहिले छैटौं तहका अधिकृत मेसु हुँदा त्यहा कार्यरत सातौंदेखि नवौं तहका चिकित्सकले काम गर्न असहज भएको बताएका छन् ।
‘तल्लो तहको कर्मचारीको नेतृत्वमा उपल्लो तहका काम गर्दा असहज महसुश गर्छन्,’ अस्पतालमा कार्यरत एक चिकित्सकले भने, ‘तल्लो तहकाले माथिल्लो तहकालाई पनि काम लगाउन गाहृौं । सक्नेहरु त अन्यत्र अस्पताल जान्छन् । यसको मार विपन्न विरामीलाई परिरहेको छ ।’
उपल्लो स्तरको मेसु नहुँदा नीतिगत र महत्वपूर्ण निर्णय लिन समस्या भइरहेको छ । निमित्त मेसु शाहले पुस पहिलो साताबाटै आर्थिक अधिकारसहितको जिम्मेबारी नपाउँदा ८ महिनादेखि डाक्टर, मेडिकल अधिकृतले भत्ता र सुविधा वापतको रकम पाउन सकेका छैनन् । यसले डाक्टर, मेडिकल अधिकृत र नर्सले जागिर छाड्दै अन्यत्र गइरहेका छन् ।
कति जनाले जागिर छाडे ? ११ मेडिकल अधिकृतको दरबन्दी रहेकामा ५ जनामात्र छन् । बालरोग, छाला, ईएनटी, एनेस्थेसिया, स्त्रीरोग, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट र साईकेट्रिक्स विशेषज्ञ डाक्टरको दरबन्दी खाली छ । यहाँ अर्थो र ईन्टरनल मेडिसिनका विशेषज्ञमात्रै कार्यरत छन् । सर्जन डा. सहजाद खाँले सेवा अवधि नवीकरणका लागि आवेदन दिएका छैनन् ।
जनशक्ति नहुँदा दुई सय जनासम्मलाई दैनिक सेवा दिइएको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) २५ वटामा झारिएको अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले बताए । ‘रेडियोलोजिस्ट कोही छैनन् । तालिम लिएर आएका दुई मेडिकल अधिकृतले विरामी पनि जाँच्नु पर्छ, समय मिलाएर काम गर्दा समस्या भएको हो,’ उनले भने ।
अस्पतालमा दुई अल्ट्रासाउण्ड मेसिन बिग्रेर थन्केको छ । १८ दरबन्दी रहेको स्टाफ नर्स र अनमि पदमा १० जनामात्र छन् । ‘अरुले छाडेर गइसके । डाक्टर अभावमा आमा सुरक्षा कार्यक्रम पनि प्रभावित बनेको छ,’ उनले भने । फार्मेसी र एमसीएच क्लिनिकमा पनि कर्मचारी नहुँदा सेवा दिन समस्या भइरहेको क्लिनिक प्रमुख खेमकुमारी पौडेलले बताइन् ।
रेबिजबिरुद्धको दोस्रो खोप लगाउन आएका यशोधरा गाउँपालिका सुल्तनावापुरका दिलिप कुर्मीलाई शुक्रबार खोप सकिएको भन्दै रित्तो फर्काइयो । अस्पतालमा अहिले रेबिजबिरुद्धको खोप पनि सकिएको छ । महिनामै ३ सय आवश्यक हुने भए पनि प्रदेश आपूर्ति महाशाखाले पठाउने डेढ/दुई सय भाईल दुई सातामै सकिने अस्पतालले जनाएको छ ।
फार्मेसीमा औषधि पनि पर्याप्त छैन् । लामो समयसम्म रोकिएको औषधि खरिद समिति भर्खर गठन भएको छ । ‘औषधि सहज आर्पूतिका लागि एक महिना लाग्छ । अहिले अस्पतालमा दैनिक सामान्य अवस्थाका एक/दुई वटामात्र सुत्केरी हुने गर्छन् । सुत्करी गराउने दक्ष एमजिडीपि डाक्टर छैनन् । अध्ययनको सिलसिलामा आएका पाटन अस्पतालका दुई रेजिडेन्ट डाक्टरले काम चलाएका छन् । आईसीयू वार्डका उपकरण बिग्रिएका छन् । तालिम लिएर आएका ४ मध्ये ३ जनाले जागिर छाड्दा डाइलायसिस सेवा संचालनमै आउन सकेको छैन । कपिलवस्तु नगरपालिकाको पिपरहवाबाट सुत्केरी गराउन अस्पताल आएकी अलिमुन निशाले सामान्य जाँच गरेर बुटवल रिफर गरेको बताइन् ।
जनशक्ति अभावले सेवा संचालनमा समस्या भइरहेको निमित्त मेसु शाहले बताए । ‘विरामीले पाउने सेवासुविधा प्रति गुनासो आएको सुनेको छौं । जनशक्ति भर्ती गरेर फागुनसम्म अस्पताललाई पुरानै अवस्थामा ल्याउँछौं ।’ सेवा प्रभावित हुँदा अस्पतालप्रति बिरामीको विश्वास घट्दै गएको अस्पताल विकास समिति अध्यक्ष शिवलाल यादवले बताए । सेवा सुधारका लागि प्रदेश मन्त्रालयमा धाउँदै थाकिसकेको उनले बताए ।
‘अब धर्ना बस्न मात्रै बाँकी छ । कांग्रेस–एमालेको लडाईमा जनताले दुख पाउँदैछन् । यहाँको परिबेश हेरेर नयाँ डाक्टरै आउन मान्दैनन्,’ उनले भने । अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीति गरेर दलहरुले गम्भीर लापरवाही गरिहेको अधिकारकर्मी पशुपतिमणि त्रिपाठीले बताए । अस्पतालमा सेवा बढाउनुभन्दा राजनीतिक दलले अखाडा बनाउन खोज्नु दुःखद भएको उनले बताए ।
२०२९ मा १५ बेडबाट सुरु भएको कपिलवस्तु अस्पताल ०७६ मा ५० बेडमा स्तरोन्नति भएको थियो । अहिले प्रदेश सरकारले एक सय बेडमा स्तरोन्नति गरे पनि त्यस अनुसार बजेट दिएको छैन् । ०७७/७८ मा यो अस्पताल लुम्बिनी प्रदेशको र ०७८/७९ मा मुलुककै उत्कृष्ट बनेको थियो । ०७९/८० मा प्रदेशको दोस्रो उत्कृष्ट बनेको थियो भने ०८०/८१ मा भने प्रदेशको १० औं स्थानमा रहेको छ ।
अस्पतालको मेसु ल्याउने विषयमा कांग्रेस–एमाले बीच विवाद नरहेको कांग्रेस जिल्ला सभापति अब्दुल कलामले बताए । ‘दुबै पार्टी सरकारमा छन् । त्यसकारण खिचातानीको कुरै भएन् । बरु हामीले छिट्टै विशेषज्ञ मेसु ल्याउने साझा धारणा बनाएर पहल थालेका छौं,’ उनले भने । कांग्रेस–एमाले प्रदेश स्तरीय संयन्त्रको बैठकमा पनि यो विषयले प्रवेश पाएकाले छिट्टै मेसुको समस्या समाधान हुने एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले बताए । ‘विगतमा त्यस्तो देखिए जस्तो लागे पनि कांग्रेस–एमाले बीच मेसुको जिम्मेवारीबारे विवाद छैन,’ उनले भने, ‘आइतबार म आफै अस्पताल जाँदा त्यहाँको वातावरण देखेर दुःख लागेको छ ।’
