परासी — जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेसकेन्द्रित ८ दलको सहकार्य आगामी चुनावसम्मै कायम रहने बताएका छ्न् । वर्तमान राजनैतिक अवस्थाका कारण मधेसकेन्द्रित दल एक ठाउँमा उभिएको उनले बताए ।
गृहजिल्ला पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पत्रकारसँग छलफल गर्दै त्रिपाठीले सत्ताप्राप्तिका लागि नभएकाले जनताको पक्षमा उभिन सहकार्य गरेको बताए । कसैप्रति लक्षित, सरकारमा जाने/नजाने विषयको एजेन्डा नभएकाले मधेसवादी दल मिल्दा कसैले पनि टाउको दुखाउन आवश्यक नरहेको उनले जिकिर गरे ।
पत्रकारहरुको जिज्ञासामा पूर्वमन्त्री त्रिपाठीले भूमिसम्बन्धी अध्यादेशले सार्वजनिक जग्गा नै बाँकी नरहने अवस्था आउने तर्क गरे । जग्गामा हदबन्दी छुटले कारोबारीका लागि सहज हुने भएकाले अध्यादेश संसद्मा पेस नहुँदै चलखेल सुरु भइसकेको उनले बताए ।
