लाओसले चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिकलाई तालिम लिन नेपाल पठाउने
काठमाडौँ — नेपालको तिलगंगा आँखा प्रतिष्ठानको उपचार अवधारणा र पद्धति लाओसले पनि लागू गर्न चाहेको छ । यही माघ २३ देखि २५ सम्म लाओसमा भएको निःशुल्क आँखा शिविरमा तिलगंगा टोलीको नेतृत्व गर्दै पुगेका वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतसँग भेटवार्ता गर्दै त्यहाँका स्वास्थ्यमन्त्री डा. बाउन्फेङ फुम्मलयसिथले यस्तो प्रस्ताव गरेका हुन् ।
डा. रुइतका अनुसार लाओसका स्वास्थ्यमन्त्री फुम्मलयसिथले नेपालमा कम स्रोतमा राम्रो सफलता हासिल गरेको तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रमलाई त्यहाँ पनि लागू गर्न कार्ययोजना बनाएर अगाडि बढ्ने जानकारी दिएका छन् । त्यसका लागि पहिला लाओसले आफ्ना चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिकलाई आवश्यक तालिम लिन नेपाल पठाउनेछ ।
तिलगंगाबाट पनि तालिम दिन विज्ञ टोली लाओस जानेछन् । ‘उनीहरूको देशमा मोतियाबिन्दु मात्र नभई आँखाका अन्य समस्या नेपालमा भन्दा ४ गुणा बढी रहेछ, त्यसलाई सम्बोधन गर्न उनीहरूले तिलगंगाको मोडल अपनाउने भएका हुन्,’ उनले भने, ‘त्यसका लागि हामी उनीहरूको जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने छौं, त्यसपछि उनीहरूले यहाँको व्यवस्थाको सिको गर्नेछन् ।’ उनका अनुसार लाओसले लागू गर्न खोजेको आँखा कार्यक्रमलाई अस्ट्रेलियाको फ्रेड हलोज फाउन्डेसन र अमेरिकाको क्योर ब्लाइन्डनेस परियोजनाले आर्थिक सहयोग गर्नेछ ।

लाओसको स्वास्थ्यमन्त्री (बीचमा) सँग डा. रुइत ।
लाओस र तिलगंगा आँखा अस्पतालबीचको यो सहकार्यले त्यहाँको आँखा उपचारमा नभई अन्य क्षेत्रको सहयोग आदानप्रदानका लागि पनि ढोका खोल्न सक्ने डा. रुइतले बताए । ‘लाओस र नेपालमा धेरै समानता छ, लाओस पनि एसियाको भूपरिवेष्टित राष्ट्र हो र त्यहाँ जलविद्युत्को ठूलो सम्भावना छ । भगवान् बुद्धलाई मान्ने जनसंख्या ठूलो छ । नेपालको लुम्बिनीप्रति उनीहरूको ठूलो आस्था रहेको छ,’ उनले भने, ‘यस्तोमा हामीले केही कुरा लाओससँग सिक्न सक्छौं भने केही विषयमा उसलाई सिकाउन सक्छौं । लाओसले जलविद्युत् उत्पादन गरेर छिमेकी थाइल्यान्ड, भियतनाम र कम्बोडियालगायतका मुलुकमा बिक्री गरिरहेको छ, त्यो विषयमा हामी उनीहरूको अनुभवबाट सिक्न सक्छौं ।’
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतको नेतृत्वमा चिकित्सक डा. बन्दना खनालसहित प्राविधिक तथा स्वास्थ्यकर्मी सम्मिलित टोलीले लाओसमा दुई दिनमा २६५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो । शिविरमा दुवै आँखामा मोतियाबिन्दु भएर अन्धोपनको सिकार भएका १५ जनाको शल्यक्रिया गरिएको थियो । डा. रुइतका अनुसार खास गरेर दुवै आँखामा मोतियाबिन्दु भएकाहरू शल्यक्रियापछि निकै खुसी भएका थिए ।
लाओसको आँखा शिविरमा दुवै आँखाको शल्यक्रिया गरिएका मध्ये ६१ वर्षका फाउडथलम केमेस्ट्री विषयका शिक्षक थिए । तिलगंगा आँखा प्रतिष्ठानका नेत्र अधिकृत नामखेन लामाका अनुसार दुई वर्षयता दृष्टि गुमाएका उनमा उपचारपछि पुनः देख्न सकिने हो या होइन भन्ने दोधार थियो । ‘शल्यक्रिया गरेको भोलिपल्ट नै देख्न सकेपछि निकै खुसी भएका थिए,’ लामाले भने, ‘दुई वर्षपछि फेरि पढाउन पाउने भएकामा उनी निकै सन्तुष्ट थिए ।’
आँखा शिविर नेपालको तिलगंगा आँखा प्रतिष्ठान, सिंगापुरको ‘अ न्यु भिजन’ र लाओसको ‘फोङ्साभान फाउन्डेसन’ र माहोत्सो अस्पतालको संयुक्त सहकार्यमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमका लागि लाओसस्थित अवैतनिक महावाणिज्य दूत राजु श्रेष्ठको सहयोग रहेको थियो ।
