राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई सोधे, 'जोशीको रिहाइका लागि सरकारले के प्रयत्न गरिरहेको छ ?'
काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा फेरि एकपटक प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको विषय उठेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रतिनिधिसभाको बैठकमा यो विषय उठाएका हुन् । उनले जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग पनि गरेका छन् ।
बाहिर जोशी जीवितै रहेको सुनिने गरे पनि सरकारले औपचारिक जानकारी नदिएको बताउँदै उनले प्रश्न गरे, 'जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ?'
अध्यक्ष केसीले इजरायल-हमास द्वन्द्वमा पचासौँ हजार मान्छेको मृत्यु भएको र दुईपक्षबीच शान्ति सम्झौता भएपछि कयौं देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भएको पृष्ठभूमि बताउँदै कञ्चनपुरका विपिन जोशीको अत्तोपत्तो नभएको बताए । उनले भने, 'यसबारे सरकारले संसद्लाई जानकारी गराउनु पर्दैन ?' उनले विपिन जिउँदै छन् भनेर मात्र सरकारको जिम्मेवारी पूरा नहुने बताउँदै उनको रिहाइमा सरकारले के प्रयत्न र कस्तो संघर्ष गरिरहेको छ भनेर संसद्लाई जानकारी दिनुपर्ने पनि बताए ।
२५ माघमा सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेखेका थिए । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले समेत सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विपिनको रिहाइको विषयलाई भैंसेपाटी (ललितपुर)स्थित कतारी दूतावासदेखि दोहास्थित अमिरी दिवानसम्म पटक–पटक पुर्याइएको छ ।
गत अप्रिलमा नेपाल आइपुगेका अमिर अलथानीसँग राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले निकै महत्त्व दिई विपिनको यथाशीघ्र रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । यही माघ १ मा इजरायल र हमासबीच दोस्रो युद्धविराम हुने निश्चित भएपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले फोन गरेर कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुल अजिज बिन सालेह अल खुलाइफीसँग विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।
हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्यासित आक्रमण गरेर नेपाली विद्यार्थी विपिन जोशीसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । ७ अक्टोबर २०२३ मा इजरायल गाजा सीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी चार जना घाइते भएका थिए भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।
