३० हजार धरौटी बुझाउन नसक्दा ८ महिनादेखि कारागार, घर बन्यो खण्डहर 

कमाउने व्यक्ति नै थुनामा परेपछि आमा आफन्तकहाँ, ४ सन्तान बोकेर श्रीमती माइत

माघ २९, २०८१

कान्तिपुर टिम

For 8 months, the prison and the house became ruins because they could not pay the 30,000 bail

काठमाडौँ — ठूला अनियमितता, संगठित अपराध, फौजदारी मुद्दामा ‘शक्तिमा पहुँच’ र आर्थिक हैसियत भएका व्यक्ति लाखौं–करोडौं धरौटी तिरेर सहजै थुनामुक्त हुने गरे पनि कैयौं सर्वसाधारण ५–१० हजार रुपैयाँ धरौटीसमेत राख्न नसक्दा महिनौंदेखि जेलमा छन् । अभद्र व्यवहार, साथीभाइ झगडा, घरायसी विवाद, २०–३० हजार चोरीजस्ता मुद्दामा परेका उनीहरू आर्थिक हैसियत कमजोर भएकै कारण पाँच, दस, बीस वा तीस हजार तिर्न नसकेर विभिन्न जिल्लाका कारागारमा थुनिएका छन् । 

रौतहट मौलापुर नगरपालिका–१ मर्यादापुरका ३५ वर्षीय सन्तोष पाण्डे ८ महिनादेखि गौर कारागारमा बन्दी जीवन बिताइरहेका छन् । छिमेकीको पैसा चोरेको आरोपमा पक्राउ परेका पाण्डे ३० हजार धरौटी बुझाउन नसकेपछि जेलमै छन् । 

गत जेठ २९ को राति छिमेकी हवल्दार साह सोनारको मोबाइल र १० हजार नगद चोरी गरेको आरोपमा सन्तोष पक्राउ परेका थिए । प्रहरी अनुसन्धानपछि असार २० मा जिल्ला सरकारी वकिल कार्यालयले अदालत पेस गर्दा उनलाई चोरी कसुरमा ३० हजार धरौटी माग गरिएको थियो । तर, धरौटीे तिर्न नसकेपछि पाण्डेलाई जेल चलान गरिएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए । 

कमजोर आर्थिक अवस्था रहेका उनको धरौटी रकम जोहो गर्ने कोही नभएको आफन्त बताउँछन् । बुबाको मृत्युपछि सन्तोष गाउँकै नातेदारसित ४ लाख ऋण गरेर काठमाडौंका एजेन्टमार्फत २०६४ भदौमा मलेसिया गएका थिए । उक्त रकममध्ये एक लाख घरमा छाडेर बाँकी एजेन्टलाई दिएर रोजगारीका लागि गएका उनी भने जस्तो काम नपाएर ३ महिनामै फर्किए । ऋण तिर्न १२ कट्ठा जग्गा बेचे । 

For 8 months, the prison and the house became ruins because they could not pay the 30,000 bailअब जग्गाका नाममा ५ धुर घडेरीबाहेक नभएको आमा बबुनीदेवीले सुनाइन् । ‘भएको जग्गा ऋण तिरेर सकियो, अब छोरालाई जेलबाट निकाल्न पैसासमेत छैन,’ उनले भनिन्, ‘समयले निकै कष्ट दियो, अब सजाय काटेर निस्कनुको विकल्प छैन ।’

सन्तोषका ३ छोरा र एक छोरी छन् । छोरा जेल परेपछि आमा बबुनी गाउँ छाडेर चन्द्रनिगाहपुरस्थित आफन्तकहाँ शरण लिएर बसेकी छन् । सन्तोषकी श्रीमती चञ्चलदेवी सर्लाहीस्थित माइतीमा छिन् । सामान्य धरौटी बुझाउन नसक्दा पाण्डे परिवार विखण्डित भएको छ ।

यमुनाईमा गाउँपालिका–४ सरुअठाका ४५ वर्षीय लालबाबु राय यादव पनि धरौटी रकमबुझाउन नसक्दा दुई महिनादेखि गौर कारागारमा छन् । अवैध गोलिया काठ चोरीनिकासी र ओसारपसार आरोपमा २०८१ मंसिर २२ मा पक्राउ परेका यादव डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले तोकेको ४० हजार ८ सय ७५ रुपैयाँ धरौटी तिर्न नसक्दा जेल बस्न बाध्य छन् । कारागारमा रहेका उनले भने, ‘म गरिबको छोरा परिबन्दमा परें । कमजोर आर्थिक अवस्थाले गर्दा धरौटी तिर्नसमेत सकिनँ, अब जेल सजाय काटेर निस्कन्छु ।’ 

राजपुर नगरपालिका–९ बरियारपुरका सुवास साह गाउँमा झगडा परेपछि अभद्र व्यवहार मुद्दामा १० हजार धरौटी तिर्न नसक्दा २०८१ मंसिर २२ देखि गौर जेलमा छन् । उनका बुबा रामकुमार साह छोराबारे बोल्न चाहेनन् । ‘छोराको कुरै नगर्नुस्, अब धरौटीबापतको रकम जेल सजाय काटेर बाहिर निस्कन्छ,’ उनले भने । रौतहट कारागारमा अहिले सामान्य धरौटी तिर्न नसकेर जेल बसेका ६ जना छन् । माधवनारायण नगरपालिका–८ राजवडाका पंकज साह तरहा चोरी मुद्दामा अदालतले तोकेको ३० हजार धरौटी तिर्न नसक्दा २०८१ भदौ १८ देखि कारागारमा छन् । लागूऔषध मुद्दामा २० हजार धरौटी तिर्न नसक्दा गरुडा नगरपालिका–६ का धीरेन्द्र यादव गत असोज ८ देखि कारागारमा छन् । 

***

५ हजार धरौटी बुझाउन नसक्दा ७ महिनादेखि कारागारमा

अभद्र व्यवहार मुद्दामा ५ हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा सप्तरीको सप्तकोशी नगरपालिका–१ का सुशील राई सात महिनादेखि राजविराज कारागारमा छन् । जिल्ला प्रशासनको २०८१ साउन २३ को आदेशअनुसार धरौटी बुझाउन नसक्दा उनलाई सोही दिन कारागार पठाइएको हो । रमणबाबु कर्णको जाहेरीले नेपाल सरकार वादी भई चलेको मुद्दामा राई ५ हजार धरौटी तिर्न नसकेर २०८१ साउन २३ देखि कारागारमा बन्दी जीवन बिताइरहेका छन् । यही मुद्दामा राईसँगै जीवन तामाङ चार दिनपछि ५ हजार धरौटी बुझाएर छुटेको सप्तरी कारागारले जनाएको छ । 

सप्तरीको महदेवा गाउँपालिका–२ का शिवकुमार दास भनिने शिवनारायण दास १० हजार धरौटी बुझाउन नसक्दा गत माघ १४ देखि कारागारमा छन् । अभद्र व्यवहार मुद्दामा २०८१ माघ १४ मा जिल्ला प्रशासनले उनलाई १० हजार धरौटी तोकेको थियो । ‘कि मुद्दाको फैसला भएर रिहाको आदेश हुनुपर्‍यो वा धरौटी बुझाउनुपर्‍यो,’ सप्तरी कारागारका निमित्त प्रमुख प्रवीण अधिकारीले भने । उनका अनुसार ४ हजार धरौटी बुझाउन नसकेर कारागारमा रहेका एक जना केही दिनअघि रकम बुझाएर छुटेका छन् । सप्तरी कारागारमा १६ जना धरौटी बुझाउन नसकेर बसिरहेको उनले बताए । 

***

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन तनहुँले तोकेको ५ हजार र ८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा ३९ वर्षीय र ५५ वर्षीय दुई पुरुष एक महिनादेखि दमौली कारागारमा छन् । दमौली कारागारमै २५ वर्षीय एक युवा २० हजार धरौटी बुझाउन नसकेर झन्डै ४ महिनादेखि थुनामा छन् । दमौली कारागार कार्यालय प्रमुख नारायण अधिकारीका अनुसार उनलाई चोरी मुद्दामा तनहुँ अदालतले २० हजार रुपैयाँ धरौटी बुझाउन आदेश गरेको थियो । 

यसैगरी २८ वर्षीय र १८ वर्षीय युवा अदालतले तोकेको धरौटी रकम तिर्न नसकेर क्रमशः २ र ४ महिनादेखि थुनामा छन् । अभद्र व्यवहार मुद्दा चलाएका उनीहरूको धरौटी रकम क्रमशः १५ हजार र २० हजार रुपैयाँ रहेको अधिकारीले बताए । कारागारमा ११ जना धरौटी रकम बुझाउन नसक्दा थुनामा छन् । उनका अनुसार ५ हजार, ८ हजार, १५ हजार, २० हजार, २५ हजार र ३० हजार रुपैयाँ धरौटी रकम बुझाउन नसक्दा थुनामा परेकाहरू यहाँ छन् । ४ जनाको धरौटी रकम ५० हजार रुपैयाँभन्दा माथि रहेको उनले बताए । आर्थिक अवस्था कमजोर भएकाले ५/१० हजार रुपैयाँको धरौटी तिर्न नसक्दा कारागारमा बस्नुपरेको कार्यालय प्रमुख अधिकारीले बताए ।

***

काभ्रे कारागारमा अभद्र व्यवहार अभियोगमा परेका एक युवक यही माघ २० देखि जेल सजाय भोगिरहेका छन् । अदालतले तोकेको ५ हजार ९ सय ५ रुपैयाँ धरौटी दाखिला गर्न नसक्दा उनी थुनामुक्त हुन नसकेका हुन् । त्यस्तै, २०८१ मंसिर २८ देखि चोरी मुद्दामा १० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा अर्का युवक थुनामुक्त हुन पाएका छैनन् । आपराधिक उपद्रव मुद्दामा अदालतको १० हजार धरौटी तिर्न नसक्दा अर्का एक युवक पनि २०८१ मंसिर ६ देखि कारागारमा छन् ।

अभद्र व्यवहार मुद्दामा अदालतले २० हजार जरिवाना तोकेका अर्का एक युवक पनि २०८१ असोज १० देखि बन्दी जीवन बिताइरहेका छन् । विभिन्न मुद्दामा कारागारमा रहेका कैदीबन्दी अदालतले तोकेको रकम बुझाउन नसक्नेमध्ये ५० हजारभन्दा कम रकमका ६ जना रहेको कारागार कार्यालय काभ्रेका प्रमुख जीवन निरौलाले बताए । 

***

दाजुसितको झगडा, धरौटी तिर्न नसकेर दुई महिनादेखि जेलमा 

सल्यान बाग्चौर नगरपालिका–७ स्यानोपोखराका ३६ वर्षीय बालाराम वलीको गत मंसिर २१ मा ४३ वर्षीय दाइ भागीराम वलीसँग घरायसी विवादमा झगडा भयो । भागीरामले सोही दिन ज्यान मार्ने उद्योगमा भाइविरुद्ध मुद्दा दर्ता गरे । राति ७ बजेतिर सुतिरहेका बेला बालारामलाई प्रहरीले हिरासतमा लिएर गयो । गत पुस ९ मा अदालतनले ४० हजार धरौटीमा छाड्ने फैसला गरे पनि रकम तिर्न नसक्दा बालाराम झन्डै दुई महिनादेखि जेलमा छन् ।

आर्थिक अवस्था कमजोर भएका र आफन्तले आर्थिक सहयोग नगर्दा उनी अहिलेसम्म जेल सजाय भोग्दै आएका हुन् । ४० हजार धरौटी तिरेको भए उनले बाहिर बसेर मुद्दा लड्न पाउने थिए । घरायसी कुरालाई ठूलो बनाई दाजुले जेल हाल्ने योजना बनाएको बालारामको गुनासो छ । उनका बुबा लोकबहादुर भारतमा बस्दै आएका छन् । ‘मजदुरी गरेर श्रीमती र दुई छोराछोरीको गुजारा गर्दै आएको थिएँ, मेरो न छुट्टै घर छ न जग्गाजमिन । भएको सबै बाबु लोकबहादुर वलीको नाममा छ,’ बालारामले भने, ‘अंश पाएको भए जग्गा बिक्री गरेर भए पनि धरौटी तिर्ने थिएँ । दाइले नै मुद्दा हालेपछि आफन्तले पनि सहयोग गर्न मानेनन् ।’

घरकाले सहयोग नगर्ने, कारागारमा सजाय भोगेबापत आउने दैनिक ८० रुपैयाँले खानालगायत खर्च धान्नुपर्ने भएकाले वकिललाई समेत शुल्क तिर्न नसकेको उनको भनाइ छ । मंसिर २१ मा दाइसँग झगडा परेपछि मदिरा सेवन गरी घरमै सुतेका बेला प्रहरी आएर सिधै हिरासतमा लगेकाले कसैलाई फोनसमेत गर्न नपाएको उनले सुनाए । ‘सम्पर्कमा भएका कोही आएनन्, घर खर्च चलाउने पैसा छैन, कसरी तिर्नु ४० हजार ?,’ उनले भने, ‘जता पनि टाठाबाठाकै दिन त रैछ, हामीजस्ता सोझा, गरिबलाई कसले सहयोग गर्ने र ?’ सबै भाइ मिलेर श्रीमान्लाई एक्लै बनाएको र पैसा आउने बाटो केही नभएपछि धरौटी तिर्न नसकेको बालारामकी पत्नी बेलमतीले बताइन् । छिमेकी, आफन्त सबैलाई आग्रह गर्दा कसैले ब्याजमा समेत पैसा दिन नमानेको उनले बताइन् । 

***

साथी धरौटी तिरेर छुटे, २० हजार नभएर जेलमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सञ्जु दमाई साथीसँगै साँझको समयमा महेन्द्रनगर बजारमा खानपिन गरिरहेका बेला वादविवाद भयो । केही दिनपछि उनीसहित तीन जनाका नाममा अभद्र व्यवहारमा मुद्दा चल्यो । गत माघ १० मा जिल्ला अदालतले तीनै जनालाई धरौटीमा छाड्न आदेश दियो । अन्यले धरौटी तिरेर घर गए, २० हजार रुपैयाँ धरौटी तोकिएका दमाईं अहिले कारागारमै छन् । ‘रकम जुटाउन सकिनँ,’ उनले भने, ‘अरू साथीले धरौटी रकम बुझाएर घर गए ।’

दमाईंका बुबा छैनन् । आमा घरकै काम गर्छिन् । अहिले दमाईंकी आमाले धरौटी रकम बुझाउन पैसाको जोहो गरिरहेकी छन् । केही दिनमा धरौटी बुझाएर कारागारबाट बाहिर आउने उनको योजना छ । २० हजार रकम जुटाउन नसकेर उनी १८ दिनदेखि कारागारमा छन् । कञ्चनपुर कारागारमा अहिले २० हजारभन्दा कम धरौटी तोकिएका ४ जना छन् । उनीहरूमध्ये ३ जना अभद्र व्यवहार र एक चोरी मुद्दाका भएको कञ्चनपुर कारागारका निमित्त प्रशासक रामदत्त जोशीले बताए । 

***

चोरी मुद्दामा हेटौंडा–८ कमानेका राजेश भनिने सुशन श्रेष्ठ २० हजार धरौटी बुझाउन नसक्दा गत कात्तिक ८ देखि कारागारमा छन् । ओखलढुंगाका रन्जी भन्ने मंगले विक १० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा अभद्र व्यवहारमा मंसिर ४ बाट भीमफेदीमा रहेको कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार मनीष लामा र सोहिट भन्ने सोहित थिङ चोरी मुद्दामा २० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा पुस १ देखि बन्दी जीवन बिताइरहेका छन् । 

भीमफेदी कारागारमा विभिन्न मुद्दाका २१ जना अदालतले तोकेको धरौटी बुझाउन नसक्दा थुनामुक्त हुन सकेका छैनन् । कानुनमा तीन वर्षभन्दा कम सजाय हुने गरी तोकिएका कसुरमा पुर्पक्षका लागि थुनामा राख्नै नपाइने र त्यस्ता कसुरमा धरौटी राखेर छुट्न पाउनुलाई कानुनले नै अभियुक्तको अधिकार मानेको अधिवक्ता दिलीप कोइराला बताउँछन् । 

-शिव पुरी (रौतहट), अवधेशकुमार झा (राजविराज), सम्झना रसाइली (तनहुँ), ज्योति श्रेष्ठ (काभ्रे), विप्लव महर्जन (सल्यान), भवानी भट्ट (कञ्चनपुर) र सुवास बिडारी (मकवानपुर)

कान्तिपुर

Link copied successfully